१९ श्रावण २०७७, सोमबार
  • तारा आचार्य

विराटनगर, १९ साउन । कोरोन संक्रमितको संख्या थपिरहेको बेला मोरङमा संचालित मध्ये ४४ विद्यालयका क्वारेन्टाइन खाली भएका छन् ।
मोरङमा क्वारेन्टाइनमा बस्नेको संख्या ४ सय ५२ छ भने विद्यालयका क्वारेन्टाइनमा ३ सय ७४ बसेका छन । ७८ जना विद्यालय बाहिरका क्वारेन्टाइनमा छन् । मोरङका ७५ विद्यालयमा राखिएका क्वारेन्टाइन मध्ये ४४ वटा खाली भएका छन् । ३१ वटा विद्यालयका क्वारेन्टाइन प्रयोगमा छन् ।

सरकारले विद्यालयमा रहेका क्वारेन्टाइन र आइसोलेसन कक्ष हटाउने निर्णय गरेपनि मोरङका स्थानीय तहले तत्काल हटाउन सक्ने अवस्था नभएको बताएका छन् । सरकारले शैक्षिक सत्र २०७७÷७८ को विद्यार्थी भर्ना भदौ १ देखि सुरु गर्ने र ०७६÷७७ को नतिजा प्रकाशन बाँकी भए तत्काल गर्ने, भदौ १ देखि विद्यार्थी भर्ना गर्ने, कक्षागत रुपमा विद्यार्थीको संख्या यकीन गर्ने, पाठ्यपुस्तक उपलब्ध गराउने र शिक्षकहरु अबिलम्ब विद्यालय पुग्ने व्यवस्था गर्ने निर्णय गरे पनि मोरंगका स्थानीय तहका प्रमुखहरुले विद्यालयमा रहेका क्वारेन्टाइनहरु तत्काल हटाउन सक्ने बताएका छन् ।

मोरङका १७ वटा स्थानीय तहहरु मध्ये सुनवर्षी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाले धेरै क्वारेन्टाइन विद्यालयमा बनाएको छ । विद्यालयमा भएका क्वारेन्टाइन अन्यत्र सार्न तत्काल सम्भव नभएको सुनबर्षी नगरपालिकाका प्रमुख कालीप्रसाद दासले बताउनुभयो । संघीय सरकारले विद्यालयबाट क्वारेन्टाइन हटाउन भने पनि तत्काल सुनबर्षीमा सम्भव नभएको दासको भनाइ छ ।

विकल्पको खोजी गरेका छौं उहाँले भन्नुभयो,‘ सुनबर्षीमा विद्यालय बाहेक क्वारेन्टाइन बनाउने भवन नै छैन ।’ सुनबर्षी नगरपालिकाले मदर्शा सहित १७ वटा विद्यालयलाई क्वारेन्टाइन बनाएको थियो । अहिले धेरै क्वारेन्टाइन खाली भएको प्रमुख दासले बताउनुभयो । उहाँका अनुसार अहिले २ वटा क्वारेन्टाइन मात्र प्रयोग गरिएको छ ।

मिक्लाजुङ गाउँपालिकाका प्रमुख देवीप्रसाद आचार्यले संघीय सरकारले भने अनुसार गर्नका लागि विकल्पको खोजी भईरहेको बताउनुभयो । गाउँपालिकाले विकल्पको खोजी गरेपनि तत्काल विद्यालयबाट क्वारेन्टाइन भने हटाउन नसकिने प्रमुख आचार्यको भनाइ छ । मिक्लाजुङ गाउँपालिकाले १३ वटा क्वारेन्टाइन विद्यालयमा बनाएको थियो । गाउँपालिका प्रमुख आचार्यले २ वटा क्वारेन्टाइन मात्र प्रयोगमा रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV