१९ श्रावण २०७७, सोमबार
  • भगतराम थारु

नेपालगन्ज, १८ साउन । सरकारले लकडाउन खुल्ला गरेपनि मठ–मन्दिर खोल्ने निर्णय गरेको छैन् । नेपालगञ्जमा अवस्थित बागेश्वरी मन्दिर नखुलेको ४ महिना भयो ।

पुजापाठ गर्न आउने श्रद्धालुहरु बाहिर गेटबाटै ढोगेर पुजापाठ गर्छन र फर्किन्छन् । रक्षाबन्धन र जनैपुर्णिमाका दिन पनि रक्षाबन्धन बाँध्न आएका र जनै लगाउन आएका मानिसहरुको पनि गेट बाहिरबाटै जनै लगाउने र पठाउने गरेका छन् । हरेक बर्ष तामझाम हुने बागेश्वरी मन्दिर यस बर्ष भने लकडाउनले गर्दा २५ प्रतिशत मात्र मानिस जनै र रक्षाबन्धन बाँध्न आएको बागेश्वरी मन्दिरका पुजारी मिनप्रसाद सुवेदीले बताउनुभयो । यसबर्ष खासै मानिसको उपस्थिति रहेन उहाँले भन्नुभयो ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहेको उहाँले बताउनुहुन्छ ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । यसै दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख रहेको उहाँले बताउनुहुन्छ । आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता रहेको नेपालगन्ज उपमहानगरपालिका २० का प्रकाश न्यौपानेले बताउनुहुन्छ ।

कोरोनाका कारण बागेश्वरी मन्दिरमा स्थानिय पनि पुजापाठ कमै आउन थालेको उहाँले बताउनुभयो । यो रोगको डरले पनि पुजापाठ गर्न नआएको उहाँको भनाई छ । यो रोगको क्रान्ति हो, बायु क्रान्ति हो यसलाई सहज तरिकाले लिनुपर्ने उहाँले धारणा राख्नुभयो ।

गेटमै जनै र रक्षाबन्धन बाँधेर जनै धारणा गरिरहेको समेत उहाँले बताउनुभयो । क्षेत्री बाहुनको यज्ञ पवित्र रहेको हुनाले हिन्दु समुदायले मन्त्र दान गर्ने र गायत्री जप्ने गरेको उहाँले बताउनुभयो । गत सालभन्दा यसबर्ष बागेश्वरी मन्दिरमा खासै चहलपहल नरहेको समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV