१९ श्रावण २०७७, सोमबार
  • अमर काफ्ले

इनरुवा, १९ साउन । जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण देखा परेको छ । कार्यालय परिषर भित्र चमेना गृह सञ्चालन गर्दै आएका पुरुष संक्रमित पाइएका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले समेत कोरोना संक्रमणको पुष्टि गरेको छ ।

प्रहरी प्रमुख कमल थापाका अनुसार क्यान्टिन सञ्चालन गर्दै आएका जवान कोरोना संक्रमित भेटिए सँगै उनीसँगको सम्पर्कका आधारमा कन्ट्याक ट्रेसिङको काम थालिएको छ ।

संक्रमित प्रहरी जवान परिवारसहित बस्दै आएका व्यक्ति हुन् । महिला सेलसँगै जोडिएको क्यान्टिनमा अधिकांशजसो प्रहरीहरु चिया नास्ता खाने गर्छन् ।
संक्रमित भेटिएको भनिएका व्यक्ति चिया र नास्ता बोकेर कार्यालयका फाँट सम्मै पुग्ने गरेको र सागसब्जी सहित क्यान्टिनमा आवश्यक सामान किन्न बजार पसल सम्म पुग्ने गरेको पाइएको छ ।

कार्यालय भित्र कोरोना देखिएपछि थप सावधानी अपनाइएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरी प्रमुख थापाका अनुसार संक्रमितसंगको प्रत्यक्ष सम्पर्कको आधारमा कम्तिमा ४० जनाको तत्काल स्वाब संकलन गरी परीक्षण गरिने छ । कार्यालयमा रहेको जनशक्ति मध्ये संक्रमितसँग सम्पर्कमा नआएकाहरुलाई आलोपालो ड्युटीमा खटाइने गरी तयारी थालिएको थापाले बताए ।

कार्यालय तत्काल सिल गर्नु भन्दा पहिलो चरणमा स्वाब संकलन गरिएकाहरुको नतिजा पश्चात आवश्यक निर्णय गरिने सुनसरी प्रहरीले जनाएको छ ।
स्वास्थ्य कार्यालय सुनसरीका अनुसार दुई दिन अघि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सहित ३० जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये एकजना कोरोना पोजिटिभ पाइएका हुन् ।

स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार कार्यालय भित्रको कर्मचारीमा संक्रमण देखिएकाले तत्कालका लागि प्रहरीहरुको मुभमेन्ट बाहिर गराइनु हुँदैन् ।

संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कम्तिमा पनि पहिलो चरणको स्वाब संकलनको रिपोर्ट नआएसम्म प्रहरी कर्मचारीहरुलाई कार्यालय परिसरमै सुरक्षित राखिनु पर्ने प्रसाई बताउँछन् । जसका लागि प्रहरीसँग स्वास्थ्य कार्यालयले समन्वय गरिरहेको प्रसाईले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV