१८ श्रावण २०७७, आईतवार

काठमाडौं, १८ साउन । नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिका पदाधिकारीहरूले आज नेरेसो केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन् ।

मुलुक बाढी पहिरोले आक्रान्त भइरहेको समयमा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघको विपद् प्रतिकार्य आपत्कालीन कोषबाट सहयोग लिने तयारीका सन्दर्भमा नवनियुक्त कोषाध्यक्ष, महामन्त्री र अध्यक्षले क्रमशः टिप्पणीमा दस्तखत गरी पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणपश्चात् अध्यक्ष डाक्टर नेत्र तिम्सिनाले जनता, सरकार र साझेदारहरूलाई रेडक्रसको अहिलेको स्थितिको बारेमा स्पष्ट जानकारी गराउन आगामी हप्ता श्वेतपत्र जारी गर्ने बताउनुभयो ।

साउन १२ गते बसेको मन्त्रीपरिषद् बैठकले नेपाल रेडक्रस सोसाइटीको तत्कालीन कार्यसमिति विघटन गरी संस्थाको साधारण सदस्य मध्येबाट डाक्टर नेत्र तिम्सिनाको अध्यक्षतामा ३३ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो ।

आगामी सातासम्ममा नयाँ समितिले आफ्नो विस्तृत कार्ययोजना बनाउने बताउँदै अध्यक्ष डा. तिम्सिनाले भने, “नेपाल रेडक्रसको लागि नयाँ ऐन ल्याउन हाम्रो प्रयास हुनेछ र देशको संरचनाअनुसार रेडक्रसको संरचना मिलाउनेतर्फ पनि क्रियाशिल हुनेछौं । आचारसंहिता उल्लंघनमा सून्य शहनशीलता हुनेछ र संस्थालाई सुद्धिकरण गरिने छ ।”

सोही अवसरमा तदर्थ समितिका महामन्त्री पिताम्बर अर्यालले नेपाल रेडक्रसलाई थप उचाईमा लैजाने, निर्वाचन जतिसक्दो छिटो गर्ने र कानूनी अवस्था सुधार गर्ने नै समितिको प्राथमिकता रहेको बताए । पदभार ग्रहण कार्यक्रममा उपाध्यक्षद्धय डा. विश्वकेशर मास्के, शर्मिला कार्की र उपकोषाध्यक्ष होमप्रसाद पाठकको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV