१८ श्रावण २०७७, आईतवार

काठमाडौं, १८ साउन । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले परीक्षणको मापदण्ड फराकिलो बनाएको छ । कोरोना भाइरसको संक्रमण भए/नभएको थाहा पाउनका लागि गरिने परीक्षणको मापदण्ड परिवर्तन गरेर दायरा बढाइएको छ ।

झाडापखाला लागेका तथा स्वाद र गन्ध थाहा पाउन कठिनाइ भएका व्यक्तिको कोरोना परीक्षण गरिने गरि मन्त्रालयले पीसीआर परीक्षणको मापदण्ड परिवर्तन गरेको छ । पछिल्लो समय देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा निरन्तर बृद्धि भइरहेको छ ।

प्रदेश दुईका कतिपय स्थानमा समूदायमा नै कोरोना फैलिएसागै निषेधाज्ञा जारी छ । तर, यसबीचमा परीक्षण कसलाई गर्ने भन्ने असमन्जस हुँदै गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणको मापदण्ड परिवर्तन गरेको छ ।

ज्वरो, कफ, श्वासप्रश्वास र झाडापखालाजस्ता समस्या भोगिरहेका तथा संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबै व्यक्तिमा कोरोना परीक्षण गरिने जनाएको छ । साथै, बाहिरबाट आएर ५ देखि ७ दिनसम्म क्वारेन्टाइनमा बसिसकेका व्यक्तिहरूमा पनि परीक्षण गरिनेछ ।

नयाँ मापदण्ड अनुसार कस्ता व्यक्तिको पीसीआर विधिबाट परीक्षण हुन्छ त ?

–ज्वरो, खोकी, सास फेर्न कठिनाइ, स्वाद तथा गन्ध थाहा पाउन नसकेको अवस्था, झाडापखालासहितको लक्षण देखिएका सबै बिरामी

–सङ्क्रमण पुष्टि भएकाहरूको सम्पर्कमा रहेका मानिसको,

– गम्भीर श्वासप्रश्वासजन्य समस्या (एसएआरआई)का बिरामीको,

–विदेशबाट आएका सबै मानिस (स्थल तथा हवाई मार्गबाट आउने सबैलाई क्वारेन्टिनको पाँच–सात दिनभित्र)को,

–फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको,

–विगत १४ दिनमा कोरोनाको संक्रमण देखिएको क्षेत्रमा भ्रमण गरेकाको,

–आइसीयुमा रहेका सबै बिरामीको,

–दीर्घरोगीहरू, रोग प्रतिरोधी क्षमता कमजोर भइसकेकाको,

–चिकित्सकीय मूल्यांकनका आधारमा शल्यक्रिया गर्नुपर्ने बिरामीको,

–चिकित्सकीय मूल्यांकनका आधारमा मध्यम, गम्भीर तथा अत्यन्त गम्भीर अवस्थाका कोरोनाका बिरामीलाई डिस्चार्ज गर्दा पुनःपीसीआर परीक्षण गर्नुपर्ने,

तर,लक्षण नभएका तथा हल्का समस्या भएकालाई १४ दिनपछि डिस्चार्ज गर्न सकिनेछ । तर कम्तीमा तीन दिन लक्षणहीन भएको हुनुपर्नेछ । मन्त्रालयले कोरोना परीक्षणका लागि परिवर्तन गरेको मापदण्ड तेश्रो पटक हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV