१८ श्रावण २०७७, आईतवार
  • बाल बिक्रम कार्की,

रौतहट, १८ साउन । कुनै समय कोरोनाको केन्द्रविन्दुकोरुपमा रहेको रौतहट जिल्ला अहिले कोरोना नियन्त्रण तर्फ उन्मुख भइरहेको छ । रौतहट जिल्लामा आइतबार दिउँसोसम्म १ हजार ३ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

जसमध्ये १ हजार ३ सय २१ जना संक्रमण मुक्त भएर आइसोलेसनबाट घर फर्केका घर फर्केका छन् भने एकजनाको मृत्यु भएको छ । यदि समुदाय स्तरमा कोरोना संक्रमण फैलिएन भने अबको केही दिनमा रौतहटमा कोरोना संक्रमण शून्य हुनेछ र यहाँका आइसोलेसनहरु खाली हुनेछन् ।

कुनै समयमा १२ हजार भन्दा रहेका क्वारेन्टाइनमा आइतबारसम्म ६ महिला सहित ५३ जना मात्र रहेका छन् । संक्रमणको हिसाबले रौतहट जिल्ला देशभरिकै पहिलो स्थानमा आउँछ तर यतिधेरै संक्रमित हुँदाहुँदै पनि रौतहट जिल्ला संक्रमण उन्मुख भइरहेको छ ।

स्थानीय प्रशासन स्वास्थ्यकर्मी जनप्रतिनिधि र सम्पूर्ण रौतहटवासीको अथक प्रयासले यो सम्भव भएको हो । तर पछिल्लो समयमा प्रदेश नम्बर २ का बिभिन्न शहरहरुमा समुदायस्तरमा कोरोना संक्रमण फैलिरहेको अवस्थामा रौतहट जिल्ला पनि यसपटक अछूतो रहनसक्छ भनेर भन्न सकिन्न ।

विशेषगरी छिमेकी जिल्ला पर्साको वीरगञ्जमा समुदायस्तरमा फैलिरहेको कोरना रौतहट जिल्लामा पनि फैलिने हो कि भन्ने शंका र चिन्ता यहाँका स्थानीयमा रहेको छ । पछिल्लो समयमा पर्साको बीरगञ्जमा समुदायमा फैलिरहेको कोरोना भाइरस रौतहटमा फैलिन नदिन स्थानीय सर्वसाधारण आफै सचेत भएर लाग्नुपर्ने स्थानीय वृज किशोर चौरसिया बताउनुहुन्छ ।

सर्वसाधरण आफैले बुझेर अनिवार्य माक्स प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने र अत्यावश्यक काममा बाहेक भीडभाड नगर्ने हो भने रौतहटमा समुदायमा फैलन नसक्ने उहाँको तर्क छ । पछिल्लो समय नेपाल सरकारले लगाउ खुकुलो पार्नसँगै रौतहट जिल्लामा पनि मानिसहरूको चहलपहल बढिरहेको छ ।

यहाँका चोकहरू मुख्य बजारहरु सार्वजनिक संस्थाहरु सरकारी कार्यलयहरु खुलेका छन् । ती स्थानहरुमा मानिसहरूको जमघट र भीड हुने गरेको छ । यही जमघट र भीड संक्रमणको कारण बन्यो कि भनेर स्थानीय त्रासमा रहेका छन् ।

सामाजिक दूरी कायम गर्नुपर्ने र सार्वजनिक स्थानमा भेला हुँदा अनिवार्यरुपमा मास्क लगाउनुपर्ने गौर अस्पतालका डाक्टर राजकुमार साहको भनाइ छ । यही स्थानीयहरु समुदायस्तरमा कोरोना संक्रमण फैलिन नदिनका लागि भारतीय सीमानाका कडाइ गर्नुका साथै समुदायस्तरमा व्यापक जनचेतना जगाउनुपर्ने साह बताउनु हुन्छ ।

विशेषगरी सीमावर्ती क्षेत्रमा रहेका स्थानीयहरु लकडाउन खुकुलो भएसँगै भारतीय सीमा बजारहरुमा किनमेल गर्न जाने क्रम बढेको स्थानीयहरूको गुनासो रहेको छ ।

त्यसैगरी भारतबाट पनि नेपालमा आउने र दिनभर नेपालमा काम गरेर भारतनै फर्कने क्रम देखिएकाले यसलाई रोक्नुपर्ने स्थानीयको भनाइ छ । यसरी भारत बढोस् दोहोर गर्नेक्रम बढेकाले यसकै कारण समुदायमा संक्रमण फैलिने हो कि भन्ने चिन्ता स्थानीय युवा जितेन्द्र रैनियारको छ ।

रौतहटमा समुदाय स्तरमा कोरोना फैलन नदिन व्यापक परीक्षण गर्नुपर्ने, सीमानाकामा कडाइ गर्नुपर्ने एवम् स्थानीय महिला स्वयम सेविका तथा शिक्षकहरु परिचालन गरेर कोरोना भाइरसबाट बच्ने उपायको बारेमा सचेतना जगाउनुपर्ने रौनियार बताउँनु हुन्छ ।

समुदायमा कोरोना संक्रमण भुषको आगोसरी फैलिएको हुनसक्ने भन्दै नेपाल सरकार र प्रदेश सरकारको पहलमा प्रत्येक स्थानीय तहमा पीसीआर विधिबाट सर्वसाधरणहरुको परीक्षण तुरुन्त हुनुपर्ने रौतहट क्षेत्र नम्बर ४ प्रदेश क का सासंद धनलाल ठोकरको भनाइ छ ।

रौतहटमा समुदायस्तरमा कोरोना संक्रमण फैलिन नदिन आफूहरु विशेष सचेत रहेको र भारतीय सिमानाकाहरु अझ कडाइ गर्ने प्रतिबद्धता प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको छ ।

उहाँले संक्रमण फैलिन स्थानीय प्रशासनले अनिवार्य माक्सको लगाउनुपर्ने नियम लगाएको बताउँदै रौतहटवासी सबै एकजुट र सचेत भएमा समुदायमा कोरोना संक्रमण फैलिन बाट जोगाउन सकिने धारणा राख्नुभयो ।

पछिल्लो समयमा रौतहटमा पनि जनप्रतिनिधि, सुरक्षाकर्मी लगायत केही सर्वसाधरणहरुमा संक्रमण देखिन थालेपछि समुदाय स्तरमै कोरोना संक्रमण फैलिसकेको हुनसक्ने भन्दै स्थानीयले परीक्षण गरेर संक्रमित पत्ता लगाएर समुदायमा फैलिनबाट रोक्न सक्नुपर्नेमा जोड दिएका छन् ।

जति छिटो समुदायबाट संक्रमित पत्ता लगाएर छुट्टै राख्न सकियो त्यत्तिनै समुदायमा संक्रमण फैलने डर तथा सम्भावना कम हुने स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV