विराटनगरको शहीद रंगशालामा ‘फ्लड लाइट’ निर्माणका लागि ४ महिना म्याद थप
- तारा आचार्य,
विराटनगर, १८ साउन । विराटनगरस्थित शहीद रंगशालामा ‘डे नाइट गेम’ सञ्चालन गर्न प्रदेश सरकारको सहयोगमा निर्माण गर्न लागिएको फ्लड लाईट चालू आर्थिक वर्षमा निर्माण हुन नसके पछि चार महिनाको लागि म्याद थप गरिएको छ ।
२०७७ बैशाख २५ गते भित्र नै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ गत असोज महिनामा निर्माण सम्झौता भएको भएपनि कोरोना महामारीका कारण आव्हान गरिएको लकडाउनका कारण निर्माणमा ढिलाई हुने भएको हो ।
डिजाईन एण्ड बिल्डको अवधारणा अनुसार करिब ४ करोड २९ लाख रुपैयाँमा फ्लड लाईट निर्माणको ठेक्का लागेको थियो । ३० मिटर अग्लो फ्लड लाईट निर्माणका लागि अहिलेसम्म १६ वटा पाइलिंग गर्ने कार्य मात्र भएको सामाजिक विकास मन्त्रालयका प्राविधिक शाखाका इञ्जिनियर ऐहरार बसिर अंसारीले जानकारी दिनुभयो ।
उहाँले कामगर्ने विज्ञहरु भारतबाट आउनु पर्ने भएकाले पनि काम रोकिएको जानकारी दिनु भयो । प्रदेश १ सरकारको सहयोगमा रातको समयमा पनि फुटबल खेलाउन सकिने गरी फ्लड लाईट लगाउन लागिएको हो ।
३० मिटर अग्लो टावर ठड्याउन १० मिटर गहिरो पाइलिंग गर्ने कार्य भईसकेको भएपनि टावरका लागि अन्य सामग्रीहरु ल्याउन ढिलो हुने बताइएको छ । सम्झौता अनुसार ठेक्काको म्याद समाप्त भएर पुनः चार महिनाको म्याद थप गरिएको हो ।