१८ श्रावण २०७७, आईतवार
  • ज्योति कुमार पन्थी,

राजापुर (बर्दिया) साउन १८ । कैलाली र बर्दिया जोड्ने सत्ती घाट (कर्णाली) पुल जोखिममा परेको छ । बर्दियातर्फ पानीको बहाव बढेपछि पुलको छेउमा २ वटा प्वाल परेको हो ।

बर्दिया तर्फको पुलको अन्तिम पिल्लर थप गर्नुपर्ने आवश्यक भएपनि पिल्लर नथप्दा जोखिममा परेको हो । पिल्लर थप्नका लागि स्थानीय स्तरबाट आवाज उठेपनि सुनुवाई नभएपछि ठूलो दुर्घटना ल्याउन सक्ने सम्भावना देखिएको छ ।

हुलाकी राजमार्ग अन्तर्गत पर्ने सत्तीघाट पुलमा प्वाल परेपछि आवतजावत समेत बन्द हुने सम्भावना देखिएको स्थानीय बताउँछन् । पुलमा थप पिल्लर थप गर्नका लागि आफूले पहल गरिरहेको प्रदेश ५ का सांसद दिपेश थारुले बताएका छन् ।

उनले यसै वर्ष सम्पन्न हुने गरी टेण्डर हुने र जोखिम कम गर्न सबै सरोकारवालाहरुसँग आफूले पहल गर्ने बताए । विगतमा मन्त्री तथा सरोकारवालाहरुले अनुगमन गरेको भएपनि काम नभएको स्थानीयहरुको आरोप छ ।

गत बुधबार मात्र पनि प्रदेश ५ का सांसद दीपेश थारु, बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, जिल्ला समन्वय समिति प्रमुख शंकर प्रसाद थारु, राजापुर नगरपालिका प्रमुख शिवप्रसाद चौधरी, जिल्ला प्रहरी कार्यालय प्रमुख लगायतकाले उक्त पुलको निरीक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV