कोरोनाको उच्च जोखिममा बझाङ, ४ दिनमा ९५ जनामा कोरोना संक्रमण पुष्टि
- रिदम सिंह,
बझाङ, १७ साउन । पीसीआर परीक्षणको दायरा बढेसँगै बझाङमा कोरोना भाइरस संक्रमितको संख्या पनि बढ्दै गएको छ । शनिबार एकै दिन ६६ जनामा कोरोना संक्रमण देखिएको छ ।
क्वारेन्टाइनबाट घर पठाइएकामध्ये धेरै जनामा संक्रमण पुष्टि भएसँगै समुदायमा संक्रमण फैलिएको आशंका व्यक्त हुन थालेका छन् । केदारस्युँ गाउँपालिकामा मात्रै शुक्रबार २५ जना र शनिबार ४१ जना गरी ६६ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरू वडा नम्बर ६ र ७ का बासिन्दा भएका र उनीहरू सबै भारतको बैंग्लोरबाट नेपाल फर्किएका गाउँपालिकाले जनाएको छ ।
गाँउ फर्किएका उनीहरुलाई पुनः क्वारेन्टाइन र आइसोलेसनमा राख्न तयारी भइरहेको गाउँपालिका अध्यक्ष इन्द्र बहादुर भण्डारीले बताए । संक्रमितहरू थापागाउँ, भाटसैन, भामचौर, काँडाचौर र जसुडालगायत गाउँका स्थानीय रहेका केदारस्युँ गाउँपालिका–८ का वडाध्यक्ष गणेश बोहराले बताए ।
उनीहरूलाई ८ देखि १२ दिन गाउँपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा राखिएपछि होम क्वारेन्टाइनमा बस्न भनेर गाउँपालिकाले नै घर पठाएको थियो । यद्यपि, घर गएका उनीहरू होम–क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने नियमहरूलाई बेवास्ता गर्दै सामान्य मानिस झैँ समुदायमा घुलमिल भइसकेका स्थानीयले बताएका छन् ।
शनिबार केदारस्युँ गाउँपालिका–६ र ७ कै ४१ जना, मष्टा गाउँपालिकाका ३ जना, जयपृथ्वी नगरपालिकाका ६ जना, थलारा गाँउपालिकाका १० जना, दुर्गाथलीका ३ जना, र छबिसपाथिभेरा गाँउपालिकाका ३ जना गरी ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा २३ जना र जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ४३ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार मात्रै बझाङका २७ जनामा संक्रमण पुष्टि भएको थियो ।
हालसम्म जिल्लामा संक्रमितको संख्या १९१ जना पुरुष र ७४ जना महिला गरी कुल २६५ पुगेको छ । जसमध्ये १ सय ६६ जना भने डिस्चार्ज भएर घर फर्किसकेका छन् ।
दुई वटा वडा सिल,
केदारस्यूँ गाउँपालिकाका २ वडामा २ दिनको अवधिमा ६६ जनामा संक्रमण देखिएपछि उक्त वडाहरू सिल गरिएको छ । गाउँपालिकाभर लकडाउन जारी गरिएको छ । केदारस्युँ गाउँपालिकाको ६ र ७ नम्बर वडाका ६६ जना संक्रमितहरु १ साता अगाडि मात्रै घर पठाइएको थियो ।
आइतबारदेखि लागू हुने गरी गाउँपालिकाको ६ र ७ का थापागाउँ, भाटसैन, भामचौर, काँडाचौर र जसुडा लगायतका गाउँलाई सिल गरिएको हो ।