बसन्तपुर पुगेर सभापति देउवाले ‘इनफ इज इनफ’का सत्याग्रहीलाई भेटे



प्रकाशित मिति : Aug 01, 2020

काठमाडौं, १७ साउन । ‘इनफ इज इनफ’ अभियानका सत्याग्रही ईःलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेट्नुभएको छ । शनिबार बसन्तपुर पुगेरै सभापति देउवाले ‘इनफ इज इनफ’ अभियानका सत्याग्रही ईःलाई भेट्नुभएको हो ।

सभापति देउवाले अभियानले राखेको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण पनि गराउनुभएको छ । साथै, उहाँले सत्याग्रही युवाहरुको अभियानमा कांग्रेसको तर्फबाट ऐक्यबद्धता समेत जनाउनुभएको छ ।

युवाहरुले अघिल्लो पटक गरेका अनशनका बेला सरकारले गरेको सम्झौतालाई पूरा गरी सम्पूर्ण नेपाली नागरिकको जीवन रक्षा गर्नुपर्ने सभापति देउवाको भनाइ छ । त्यस्तै, उहाँले ओली सरकारले तुरुन्तै मान्छे पठाएर कुरा गरेर अनसनमा बसेका युवाहरुलाई बचाउनुपर्ने बताउनुभएको छ ।

त्यस्तै, कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि विगत १५ दिनदेखि अनसनमा रहेका युवाहरुले उठाउँदै आएका मागहरु देश जनताको हितमा रहेको बताउनुभएको छ । सरकारले आफ्ना प्रतिनिधि पठाएर युवाहरुले उठाएका मागहरु पुरा गर्नुपर्ने उहाँको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com