लक्षण भएका संक्रमित बढ्दै जाँदा कोरोनाले रुप परिवर्तन गरेको विज्ञहरुको निष्कर्ष (भिडियो)



प्रकाशित मिति : Aug 01, 2020
  • रिया भण्डारी,

काठमाडौं, १७ साउन । लकडाउनको अन्त्यसँगै कोरोना संक्रमणको दर बढेको छ । सरकारले पनि स्वीकार ग-यो, अहिले कोरोना संक्रमित शून्य दशमलव ८ प्रतिशतले बढेका छन् ।

साउन पहिलो साता अघिसम्म नेपालमा भेटिएका अधिकांश संक्रमित लक्षणविहीन हुन्थे तर, अहिले लक्षण भएका संक्रमित बढ्दै जाँदा कोरोनाले रुप परिवर्तन गरेको अनुमान विज्ञको छ ।

लकडाउन खोल्नु अघि ११ दिनको ४७ हजार ८ सय ७७ जनाको पीसीआर परीक्षण गरिएको थियो । जसमा १ हजार ३ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जुन परीक्षण गरिएकोमा संक्रमण दर २ दशमलव ८ प्रतिशत भएको मन्त्रालयले जनाएको छ ।

लकडाउन खुकुलो भएको ११ दिनपछि ५८ हजार १ सय ७४ पीसीआर परीक्षणमा २ हजार ९२ जनामा संक्रमण पुष्टि भएको छ । जुन संक्रमण दर ३.६ प्रतिशत हो यसबाट लकडाउन हटेपछि ०.८ प्रतिशतले संक्रमण बढेको पुष्टि हुने सरकारले बताएको छ ।

संक्रमण बढेको मात्र छैन, पछिल्लो समय संक्रमितमा लक्षण पनि देखिन थालेको छ । बिगतमा कोरोना संक्रमितलाई कोरोनाको लक्षण त्यति देखिंदैन थियो । अहिले संक्रमितहरुमा ज्वरो आउने, रुघाखोकी लाग्ने श्वासप्रश्वासमा समस्या, स्वाद थाहा नपाउने जस्ता लक्षण देखिन थालेको छ ।

बिज्ञहरुका अनुसार लक्षण भएका संक्रमितबाट अन्य व्यक्तिमा कोरोना सर्ने जोखिम पनि बढी हुनेगर्छ । कोरोना संक्रमितमा लक्षण देखिनुले कोरोना भाइरसले रुप परिवर्तन गरेको हुन सक्ने विज्ञहरुको आशंका छ ।

कोरोना संक्रमणका ‘केस’ कम हुँदा मानिसमा डर बढी थियो । तर, जति संक्रमण फैलिएको त्यति नै मानिसहरु सचेत हुन छाडेका छन् । बिज्ञहरुले मास्क लगाउने साबुन पानीले हात धुने लगायत संक्रमणबाट बच्ने उपाय अनिवार्य अपनाउन सुझाब दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com