कोरोनाको नाममा सरकारले लकडाउन गर्ने र खोल्ने मात्र काम गर्यो : डा.सुन्दरमणि दीक्षित



प्रकाशित मिति : Aug 01, 2020

काठमाडौं, १७ साउन । चिकित्सक डा. सुन्दरमणि दीक्षितले आफूहरुले सरकारलाई बारम्बार सावधानी अपनाउन र कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक कदम चाल्न सुझाव दिएको भएपनि सरकारले भारतसँगको सीमा नाका बन्द नगरेको गुनासो गर्नु भएको छ ।शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा डा.दीक्षितले भन्नुभयो,‘अहिले स्वास्थ्यकर्मीहरु काम छोडेर भागेको भन्ने कुरा आएको छ। तराईमा कोरोना संक्रमण ठूलो मात्रामा देखिएको छ । भारतसँगको सीमा नाका पूर्ण रुपमा बन्द गर्नुपर्छ भनेर हामी धेरैपटक चिच्याऔं । तर, सरकारले हाम्रो कुरै सुनेन ।’

साक्षात्कारमा उहाँले काठमाडौं उपत्यकापनि अहिले कोरोना संक्रमणको भयंकर जोखिममा परेको खतरा औंल्याउँदै भन्नुभयो ‘काठमाडौं खाल्डो कोरोना संक्रमणको जोखिममा परिसकेको छ । अब हामीले परीणाम देख्दै जान्छौं ।’ उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आवश्यक कदम चाल्न नसकेको गुनासो पनि उहाँको थियो ।

उहाँले कोरोना संक्रमण रोगमा परीणत हुँदै गएपछि मात्रै कदम चाल्दा ढिलाई हुने भन्दै नेपालमा कोरोनाको जोखिम निम्त्याउने कामपनि सरकारले नै गरेको गम्भीर आरोप लगाउनुभयो । उहाँले अगाडि भन्नुभयो ,‘सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक कदम चाल्न सकेन् । पीसीआर टेष्ट जब बढाउनुपर्ने थियो, त्यतिबेला सरकारले परीक्षणको दायरा नै घटायो । हामीले त बारम्बार परीक्षणको दायरा बढाउ भनेर सरकारलाई भनेकै थियौं । तर, सरकार गम्भीर भएन् ।’ उहाँले पीसीआर परीक्षण गर्नको लागि सरकारलाई केले रोकेको थियो रु भनेर प्रश्नसमेत गर्नुभयो ।

पछिल्लो समय विभिन्न ठाउँबाट काठमाडौं उपत्यका भित्रिनेको संख्या बढेको र उनीहरुले आवश्यक सतर्कता र नियम नअपनाएको पनि उहाँको गुनासो गर्दै भन्नुभयो ,‘काठमाडौं उपत्यका भित्रिने नाकाहरु व्यवस्थित् गर्नुपर्छ । काठमाडौं खतरामा छ ।’ डा। दीक्षितले कोरोना परीक्षण गर्दापनि रिपोर्ट दिन ढिलाई गरिरहेकोमा पनि गुनासो पोख्नुभयो ।

सरकारले कोरोनाबारे दिने गरेको तथ्यांकलाई उनले बेकारको तथ्यांकको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो,‘रियालिटी अर्कैछ । सरकारको काम भनेको त दुई वटा मात्रै हो, एउटा लकडाउन लगाउने र अर्को लकडाउन खोल्ने । त्योबाहेक सरकारले केही पनि जानेन । सरकारले दुई जिब्रे नीति अख्तियारी गर्यो ।’ उहाँले दुई तिहाई बहुमतको सरकार देखेर आफूलाई धिक्कार लागेको पनि बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com