१७ श्रावण २०७७, शनिबार
  • घनश्याम मिश्र

जनकपुरधाम, १७ साउन । प्रदेश २ कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छ । संक्रमणकै कारण प्रदेश २ मा शनिबारसम्म १७ जनाको मृत्यु भइसकेको छ । अधिकांश समय सावधानी अपनाएर बस्ने प्रदेशका विशिष्ट व्यक्तिहरूमा समेत कोरोना संक्रमणको पुष्टि भइसकेको छ ।उच्च अदालत जनकपुरका न्यायाधीश, राजविराजस्थित उच्च अदालत जनकपुरको इजलासका एक न्यायाधीश, राजविराजकै सरकारी वकिल कार्यालयका एकजना सरकारी वकिल, पर्साबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादव, वीरगञ्ज महानगरका मेयर विजयकुमार सरावगीलगायतका विशिष्ट व्यक्तिहरू कोरोना संक्रमणको चपेटामा परिसकेका छन् ।

यहाँसम्म कि कोरोना रोकथाम र नियन्त्रणको अभिभारा बोकेको प्रदेशस्थित सामाजिक विकास मन्त्रालयकै तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जमै जगदम्बा इन्डस्ट्रिजका सिइओले संक्रमणपछि ज्यान गुमाउनुपरेको छ ।

कोरोना संक्रमणको उच्च जोखिम मध्यनजर गरी प्रदेशको राजविराज, वीरगन्ज र जलेश्वरमा निषेधाज्ञा जारी गरिएको छ भने बारामा आइतबार बिहान ५ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा लगाइँदै छ। यसअघि नै विज्ञहरूले भने अनुसार साउन–भदौतिर कोरोना संक्रमण उच्च तहमा पुग्दै छ, प्रदेश २ भित्र यसअघि लक्षणबिनाको संक्रमण देखिए पनि अहिले लक्षणसहितको संक्रमण देखिन थालेको छ।

लक्षणसहित देखिने कोरोना संक्रमण जोखिमपूर्ण रहेको विज्ञहरू बताउँछन्। लक्षण नदेखिएको अवस्थाभन्दा अहिले थप सजगता र सावधानी अपनाउनु जरुरी रहेको उनीहरूको भनाइ छ। कोरोना संक्रमणको दर बढिरहेको तुलनामा प्रदेश २ मा जाँचको दायरा बढ्न सकेको छैन। वीरगञ्ज महानगरपालिकाले प्रतिघर एक÷एकजनाको पीसीआर परीक्षण सुरु गरे पनि प्रदेशकै अन्य ठाउँहरूमा यस्तो हुन सकेको छैन । परीक्षणको दायरा बढ्न नसकेपछि कोरोना संक्रमितबारे अझै यकिन हुनसक्ने अवस्था बनिसकेको छैन ।

सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार शुक्रबारसम्म प्रदेश २ मा ४ हजार ६ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भइसेको छ भने २ हजार ९ सय ४० जनाको पीसीआर नतिजा आउन बाँकी छ। यसैगरी एक हजार ३ सय ९० जना क्वारेन्टाइनमा छन् भने दुई हजार १ सय ५२ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV