१७ श्रावण २०७७, शनिबार
  • घनश्याम मिश्र,

जनकपुरधाम, १७ साउन । कोरोना संक्रमणको जोखिम बढिरहेको बेला प्रदेश नं २ सरकार र नेतृत्व तहमा रहेका राजनीतिज्ञहरूले कोरोनाबाट जोगिन आमनागरिकबीच सचेतना दिनुपर्ने ठाउमा झन कानूनलाई नै धज्जी उडाउदै सभा सम्मेलनमा सहभगिता जनाउन थालेका छन ।

कोरोनाको कहालीको समय जनजागरण र उदाहरण भएर प्रस्तुत हुनुपर्ने बेला स्वयं उनीहरू नै खबर बन्न थालेका छन् । कतै पार्टी प्रवेश त कतै सभा गोष्ठीको नाममा भीड जम्मा गरेर सामाजिक दूरीको मजाक उडाउँदै कोरोना संक्रमणको जोखिमलाई झन् बढाउने काम रक्षकहरुद्वारा नै भइरहेको छ ।

संघीय र प्रदेश सरकार स्वयंले सभा सम्मेलन, भेला, सामूहिक एवं सार्वजनिक कार्यक्रम नगर्न नगराउन पटक–पटक निर्देशन जारी गरिसकेको छ । बिभिन्न मञ्चमा ठूला ठूला भाषण गर्दै कोरोना बाट जोगिनुस भन्दै भाषण गर्नेहरु यतिबेला आफैले बोलेको कुरा आफैले मजाक बनाउँदै सभामा सहभागी हुंदै छन ।

शुक्रवार प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री र आर्थिक मामिला तथा योजनामन्त्रीसहित प्रदेश सांसदहरूको उपस्थितिमा जनता समाजवादी पार्टीले पार्टी प्रवेश कार्यक्रम गरेको थियो ।

आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादव र आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवको उपस्थितिमा शुक्रबार धनुषाधाममा पार्टी प्रवेश कार्यक्रम भएको थियो । तर, पार्टी प्रवेश कार्यक्रममा न सामाजिक दुरी कायम गरिएको थियो न त संक्रमणबाट जोगिने कुनै मापदण्ड बनाइएको थियो ।

समुदायस्तरमा कोरोना फैलिइसकेको अवस्थामा प्रदेशका जिम्मेवार मन्त्री र सांसदहरूबाटै भीड जुटाएर तोकिएको मापदण्डको खिल्ली उडाइएको भन्दै चर्को आलोचनासमेत भइरहेको छ ।

कोरोना संक्रमणको जोखिम बढिरहेका बेला यस्ता कार्यक्रमको आयोजना गर्नु थप जोखिम निम्त्याउनुबाहेक अरु केही नरहेको मासका संयोजक युवा अगुवा सरोज मिश्र बताउँछन् । सामाजिक सञ्जालमा कटाक्ष गर्दै मिश्रले प्रदेश २ सरकारको चर्को आलोचना समेत गरेका छन ।

मन्त्री र सांसदहरूले कोरोनाबाट जोगिन सामाजिक दूरीलगायतका मापदण्ड पूरा नगरेर स्वयं जोखिम निम्त्याउने काम गरिरहेको भन्दै सर्वसाधारणले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् ।

मास्क नलगाउँदा सर्वसाधारण नागरिकलाई कारबाही गर्ने स्थानीय प्रशासन र प्रहरी पनि ठूलो भीडभाड गरी पार्टीका कार्यक्रम भइरहँदासमेत रोक्न सकेको छैन।

सरकारको नेतृत्व गरिरहेको दल, मन्त्री र सांसदबाट स्वयं सरकारले नै तोकेको मापदण्ड पालना नहुनु दुःखद रहेको जनकपुर नागरिक समाजका अगुवा मुरली मनोहरले न्यूज २४ लाई बताए ।

सभा, सम्मेलन र पार्टी प्रवेशजस्ता कार्यक्रममा भीड एकत्रित गरेर कोरोना संक्रमणको जोखिम बढाउने कार्य भइरहेको उनको तर्क छ । वरिष्ठ संचारकर्मी राजेश कर्ण भन्छन, ‘आमनागरिकले नेतृत्वले गरेको कामको अनुशरण गर्ने हो, उहाँहरू आफैं सचेत देखिनुभएको छैन, भीडभाड जम्मा गरेर कार्यक्रम गरिरहनुभएको छ ।’

पत्रकार कर्णका अनुसार मन्त्री र नेताहरू आफैंले मापदण्ड उल्लंघन गर्न थालेपछि आमनागरिकले पनि त्यसै गर्ने हो। पार्टी प्रवेशजस्ता कार्यक्रम पछि पनि गर्न सकिन्छ, अहिले कोरोना संक्रमणलाई परास्त गर्नेतर्फ ध्यान दिनु जरुरी छ।’

प्रदेशस्थित जिल्लाका प्रशासकहरू स्वयं स्वागत र सम्मानजसता कार्यक्रममा सहभागी भएर सामाजिक दूरीको मजाक बनाउने काम गरिरहेको पत्रकार कर्णले आक्रोश ब्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV