१६ श्रावण २०७७, शुक्रबार
  • रबिना बोहरा

बागलुङ, १६ साउन । कालिगण्डकी नदी माथि निर्माण गरिएको विश्वकै लामो दाबी गरिएको ५६७ मिटर लामो झोलुङगे पुल खुल्ला गरिएपछि सर्वसाधारणको भीड लागेको छ । बागलुङ र पर्वत जिल्ला जोड्ने उक्त पुलको निर्माण कार्य सम्पन्न भएपछि शुक्रबारबाट खुल्ला गरिएको हो ।

पुल सञ्चालन भएसंगै पुल अवलोकन तथा घुम्न जानेहरुको लर्को लागेको छ । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको त्रास अझै बाँकी रहेपनि बागलुङ—पर्वत जोड्ने पुल खुलेसंगै मानिसहरुको भिडभाड बढेको छ ।

शुक्रबार मात्रै सयौँको संख्यामा मानिसहरु पुल वारीपारी गरिरहेका थिए । पुल निर्माणको काम गत बैशाख महिनामा सकिएको भएपनि कोरोना भाइरस रोकथामका लागि सरकारले गत चैत ११ गतेबाट गरेको लकडाउनका कारण भने पुल सञ्चालनमा ल्याइएको थिएन । शुक्रबारबाट सर्वसाधारणका लागि पुल खुला गरिएको भएपनि हस्तान्तरण भने अझै भएको छैन ।

पुल सञ्चालन भएसंगै स्थानीय पर्यटकहरुको आगामन भएको छ भने घण्टौँ लगाएर बागलुङ आउनुपर्ने र पर्वत जानुपर्ने समस्या हटेको स्थानीयबासी बताउछन् । कुश्मा नगरपालिका—१ का धुर्वराज हमाल शुक्रबार नै नास्पती तथा तरकारीहरु बिक्रि गर्न पाङ देखि बागलुङ आएका थिए ।

पुल खुलेपछि मानिसहरु पनि घुम्न आउछन् भनेर फलफुल बिक्रिका लागि आएको बताए । उनले बषौँ पहिले देखि तरकारी तथा फलफुल खेती गर्दै आएका छन् । यसअघि बजारिकरणका लागि समस्या भएको भएपनि पुल खुलेपछि अब बजार पाउन सहज हुने विश्वास लिएको बताउछन् ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर सडकको ठिक माथि पुल निर्माण भएपछि बागलुङ, पर्वत, म्याग्दी संगै मुस्ताङ जाने पर्यटकहरु एवं अन्य क्षेत्रका पर्यटकहरुलाई पनि आकर्षित गर्न सकिने पर्यटन व्यवसायीहरु बताउछन् ।

कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा असर गरेको भएपनि विस्तारै व्यवसायलाई उठाउदैँ लैजाने योजना बनाएको व्यवसायीहरुको भनाई छ । यस पुलले पनि पर्यटन क्षेत्रको विकासमा थप मद्धत पुग्ने उनीहरुको भनाई छ । सस्पेन्सन ब्रिज डिभिजन कार्यालय, काठमाण्डौका अनुसार प्राविधिक अध्ययन र परीक्षण गरिएकाले अब हस्तान्तरण गर्ने अन्तिम तयारीमा रहेको भन्दै पुल सञ्चालन गर्न लगाइएको बताएको छ ।

ठेक्का सम्झौता भन्दा तीन महिना अघि नै निर्माणको काम सकिएको पुल सञ्चालनमा आएपछि पुल अवलोकन गर्न गएका व्यक्तिहरुले भने केही टिकाटिप्पणी गरेका छन् । पुलमा हिड्दा धेरै हल्लिएकाले दुर्घटना समेत हुन सक्ने भन्दै यसको सही प्राविधिक मुल्याङकन गर्नुपर्ने स्थानीयबासीको माग छ । बागलुङ नगरपालिका—५ मालिकाका जयभद्र रेग्मीले पुल तर्दा धेरै हल्लिएपछि डर लागेको बताए । उनले राज्यका सम्बन्धित निकायबाट यसको समयमा नै अनुगमन गर्नुपर्ने बताउछन् ।

बि.स २०७५ चैतदेखि शुरु भएको पुल निर्माण कार्य आगामी २०७७ साल असार मसान्तमा सक्ने सम्झौता भए पनि गत बैशाखमा निर्माण सकिएको थियो । थानी/बिएलटी/हिमशिखर कन्ट्रक्सनले निर्माणको जिम्मा पाएको पुलको एक साथ ६१२ जना अर्थात ८५ मेट्रिक टन क्षमता रहेको बताइएको छ। शुरुमा १२ करोड २२ लाख लागत अनुमान गरिए पनि लठ्ठा र लठ्ठा तान्ने मेसिन मन्त्रालयले उपलब्ध गराउने भएपछि रु.६ करोड ९१ लाखमा सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV