१६ श्रावण २०७७, शुक्रबार
  • रबिना बोहरा

बागलुङ, १६ साउन । धौलागिरि अस्पताल बागलुङको बि बल्क भवनमा लिफ्ट सेवा सुरु गरिएको छ । शारीरिक अपाङगता भएका, गर्भवती, जेष्ठ नागरिक लगायतका व्यक्तिलाई लक्षित गरी पहिलो पटक लिफ्ट सेवा सुरु गरिएको अस्पतालले जनाएको छ ।

शुक्रबार एक कार्यक्रमका बिच प्रदेश सभा सांसद इन्द्रलाल सापकोटाले लिफ्ट सेवाको उद्घाटन गर्नुभएको थियो । गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको ५० लाख रुपैँया सहयोगमा लिफ्ट निर्माण गरिएको अस्पताल स्रोतले जनाएको छ ।

सार्वजनिक खरिदमा इण्डियन कम्पनी सयपत्री शोलुसन प्रालिले ४१ लाख २४ हजार ५ सय रुपैयाँमा निर्माण सम्पन्न गरेको धौलागिरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले जानकारी दिनुभयो । डा.पोखरेलका अनुसार, लिप्mटमा एक पटकमा १०८८ किलोग्राम अर्थात १६ जना सम्म आवत जावत गर्न सकिने क्षमता छ ।

अस्पतालको ‘बी’ ब्लक भवनमा निर्माण गरिएको लिफ्ट सञ्चालनमा आए पछि सिढी चढेर माथिल्लो तला सम्म सेवा लिन हिँड्नुपर्ने सेवाग्राहीको बाध्यता अन्त्य भएको धौलागिरी अस्पताल विकास समितिका अध्यक्ष केबी राना मगरले बताउनुभयो ।

भवनको निर्माण गर्दा लिफ्ट राख्ने गरि डिजाइन नभए पनि सबैको सुझाव, समय सापेक्ष माग र आवश्यकतालाई बोध गरेर लिफ्ट राखिएको अध्यक्ष रानाको भनाई छ । लिफ्ट भएपछि सिडी चढेर जान नसक्नेलाई सहज हुन्छ रानाले भन्नुभयो ।

कोरोना संकटको तीव्र भयावहका बीच मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बागलुङ आउँदा धौलागिरी अस्पताललाई उपप्रादेशिक अस्पतालको रुपमा विकास गर्ने उद्घोष गरेका थिए । सोही अनुसार अहिले बजेट, कार्यक्रम सहित अस्पतालको सेवामा गुणस्तर र भौतिक संरचनाको विकास गर्ने काम धमाधम भइरहेको छ ।

गत वर्ष नै लिफ्ट निर्माण गरि सक्ने भनिए पनि कोरोना संकटका कारण देशमा लकडाउन भए पछि समयमै निर्माण हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV