१६ श्रावण २०७७, शुक्रबार
  • अभिमन्यू लामिछाने

उदयपुर, १६ साउन । कार्यालय प्रमुखले आफूखुसी खरिद गरेको समान स्टोर दाखिला नगर्दा यातायात व्यवस्था कार्यालय उदयपुरका एक कर्मचारी सरुवा परेका छन् ।

यातायात ब्यबस्था सेवा कार्यालयको लागि आवश्यक पर्ने जेनेरेटर खरिद प्रकृयामा असहमति राख्दा स्टोर हेर्ने जिम्मेवारी पाएका खरिदार लेखराज कटुवालको सरुवा परेका हुन् ।

स्टोर किपरको सहभागिता विना खरिद गरिएको जेनेरेटर दाखिला गर्न नमान्दा कार्यालय प्रमुखले कटुवालको सरुवा गरिदिएका छन् । लकडाउनको बेला कायालय प्रमुख शुभाष कार्की र सहलेखापाल प्रिया दर्शनी थपलियाको मिलेमतोमा पाँच लाखमा जेनेरेटर खरिद गरिएको स्टोरकीपर कटुवालको आरोप छ । आफुलाई खरिद गरिएको समानको बारेमा थाहा नभएको र असार ३० गते कार्यालय प्रमुखले स्टोर दाखिला गर्न दवाव दिएको स्टोर किपर कटुवाल बताउछन ।

खरिद प्रकृयामा आफू संलग्न नभएकाले कागजात हेरेर मात्र दाखिला गर्ने बताउदा कार्यालय प्रमुख कार्कीले मुख्यमन्त्रीको कार्यालयमा भनेर अन्यत्र सरुवा गराईदिएको कटुवालको आरोप छ । ‘समानको भुक्तानी भई सकेपछि दाखिला गर्न भनेपछि मैले दाखिला नगरेको हो ।’ स्टोर किपर कटुवालले भने ‘माग फारम खरीद आदेश र दाखिला प्रतिवेदन भएपछि मात्र भुक्तानी गर्न मिल्छ, हाम्रो हाकिम सापले त भुक्तानी दिई सकेपछि खरिद आदेश र दाखिला प्रतिवेदन बनाउनु लगाउनु भयो ।’

स्टोर किपर कटुवालले आफुलाई जेनेटर किनेको थाहा नभएको र आफु स्टोर किपर हुदा हुदै पनि आफुलाई थाहा नदिई जेनेटर खरिद गरिएको कारण आफुले जेनेटर दाखिला नगरेको बताएका छन् । चैत्र ६ गते जेनेटरको भुक्तानी गरिएको भएपनि प्रमुख कार्कीले असार अन्तिममा कटुवाललाई खरिद कागजात तयार गर्न दबाव दिएका थिए ।

यातायात कार्यालयका स्टोर किपर कटुवालको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय प्रदेश १ को मिति २०७७ साउन १२ गते निर्णयानुसार सरूवा भएको पत्र कार्यालयमा आएको छ । यसबाट जेनेरेटरको कमिसन मुख्य मन्त्रीको कार्यालय सम्म पुगेकोले हतारमा स्टोर किपर कटुवालको सरुवा गरिएको हुन सक्ने यातायात कार्यालयकै एक कर्मचारी बताउछन् ।

कार्यलय प्रमुख कार्कीले यातायात निर्देशनालयका प्रमुख भिम गौतमको पहलमा मुख्यमन्त्री कार्यालयमा दवाव दिई स्टोर किपर कटुवालको सरूवा गरेको कार्यालयकै एक कर्मचारीले ठोकुवा गरे ।

बिचौलियाहरु उदयपुरमा सवारी अनुमति पत्र (लाईसेन्स) चाडै आउने भन्दै उदयपुरमा आफैले ट्रायल सेन्टर समेत निर्माणमा लगानी गरेका छन । सवारी अनुमति पत्र आए पश्चात राम्रो कमाईहुने भन्दै यातायात निर्देशनालय मार्फत आफू अनुकुलको कर्मचारीहरू समेत सरूवा गर्ने गरेका छन् ।

प्रदेश १ का सवै यातायात कार्यालयमा आफ्नो पहुच भएको दावी गर्ने बिचौलिया उदयपुर सहित धनकुटा, ईलाम, बिराटनगरमा समेत आफैले ट्रायल सेन्टर निर्माण गर्दै आएको स्रोतले बताएको छ ।

यस अघि पनि कार्यलय प्रमुख कार्कीको कार्यालय सञ्चालन क्षमता नभएको भन्दै पटक पटक सेवाग्राहीहरूसँग बिवाद हुँदै आएको छ । लाईसेन्स नविकरण लगायतको काम गर्न आएका सेवाग्राहीहरूको समेत कार्यालयमा काम भएको छैन । कार्यालयका अन्य कर्मचारीहरूलाई अपिसको कोड नदिएका कारण बिगत एक हप्ता यता लाईसन्स नविकरण समेत ठप्प हुदा सेवा ग्राहीहरू मार्कामा परेका छन् ।

यता कार्यालय प्रमुख कार्किले भने जेनेटर खरिद प्रकृयामा आफ्नो कुनै कमजोरी नभएको दावि गरेका छन । स्टोरकिपर कटुवाल संग पहिले पनि सामान्य विवाद भएको कारण मैले अन्यत्र सरुवा मागेको तर मुख्यमन्त्री कार्यालयले कटुवालको सरुवा गरिदिएको बताएका छन् । सगरमाथा यातायात व्यवस्था कार्यालय लाहानको बिकल्पमा स्थापना भएको यातायात ब्यबस्था सेवा कार्यालय हाल प्रदेश न १ मातहतमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV