१६ श्रावण २०७७, शुक्रबार
  • तारा आचार्य,

काठमाडौं, १६ साउन । विराटनगर महानगरपालिका भित्र स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र स्थानीयहरुमा कोरोना संक्रमण देखिन थालेपछि महानगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले दुई साताका लागि लकडाउन घोषणा गरेको छ ।

शुक्रवार राति १२ बजे देखि लागू हुने गरी महानगरलपालिकाले पत्रकार सम्मेलन गरी लकडाउन गरेको घोषणा गरेको हो । लकडाउनमा अत्यावश्यक बाहेकका सबै प्रकारका सेवा बन्द गरिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिनु भयो । उहाँले धेरै भीडभाड हुने स्थान महानगरपालिका भित्रका पुरानो गुद्री र नयाँ गुद्री पनि बन्द गरिने र अन्य तरकारीका पसलहरु खुल्ला रहने मेयर पराजुलीले जानकारी दिनुभयो ।

उहाँले लकडाउनका बारेमा प्रदेश नं। १ को सामाजिक विकास मन्त्रालयमा छलफल पछि सामाजिक विकास मन्त्रालयको बैठकले स्थानीय तहलाई कोरोना रोकथाम र नियन्त्रणका लागि अधिकार दिएपछि विराटनगर महानगरस्तरीय सीसीएमसीले लकडाउनको निर्णय गरेको जानकारी दिनु भयो । उहाँले लकडाउनलाई कडाईका साथ पालना गराउन स्थानीय प्रशासन र प्रहरीले सक्दो सहयोग गर्ने बताउनुभयो ।

विराटनगरमा शुक्रवार पनि १० जनामा कोरोना पोजिटिभ पाइएको थियो । विराटनगर महानगरपालिका क्षेत्र भित्र अहिले सम्म १ सय १७ जनामा कोरोना पोजिटिभ पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV