१६ श्रावण २०७७, शुक्रबार

जनकपुरधाम, १६ साउन । प्रदेश–२ का ९८ प्रतिशत जनतामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पुगेको छ । नेपाल विद्युत प्राधिकरणले प्रदेशका ८ जिल्लामा प्रसारण तथा वितरण लाइनका संरचना विस्तार गरी विद्युतीकरण गरेको हो ।

अहिलेसम्म प्रदेश सरकार र स्थानीय तहसँग सहकार्य गरी ५ जिल्लामा पूर्ण विद्युतीकर गरिसकेको प्राधिकरणको जनकपुर प्रादेशिक कार्यालयका प्रमुख मनोजकुमार सिंहले बताए । उनका अनुसार ३ महिनाभित्र बाँकी रहेका ३ जिल्लामाा पनि पूर्ण विद्युतीकरण गरिसक्ने योजना छ ।

‘गत आर्थिक वर्षभित्रै प्रदेशमा पूर्ण विद्युतीकरण भइसक्ने थियो, ’उनले न्यूज २५ संग भने, ‘कोरोना महामारी रोक्न गरिएको लकडाउनले योजना प्रभावित भयो । कात्तिकसम्ममा बाँकी जिल्लाका स्थानीय तहका वडा र गाउँसम्म विद्युतीकरण भइसक्छ ।’ उनले सप्तरीमा करिब १२ वटा पोल ठड्याएर वितरण लाइन विस्तार गरेपछि पूर्ण विद्युतीकरण हुने बताए ।

पूर्ण विद्युतीकरण गर्ने योजनाअन्तर्गत गत आवमा ७८ करोड रुपैयाँ लगानी भइसकेको छ । प्रादेशिक कार्यालयले पूर्ण विद्युतीकरणको योजनालाई मुख्य लक्ष्य बनाएर वर्षभरी काम गरेको सिंहले बताए । पूर्ण विद्युतीकरणको योजना सम्पन्न हुँदा १ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ ।

भौगोलिकरूपमा सुगम भए पनि प्रदेशमा पूर्ण विद्युतीकरण हुन सकेको छैन । विद्युतीकरण बढ्दै गएकाले प्रादेशिक कार्यालय मातहत विद्युत सेवा लिने ग्राहकको संख्या १० लाख नाघेको सिंहले बताए । ‘विद्युतीकरण विस्तार हुँदा ग्राहकको संख्या पनि बढेको छ । पूर्ण विद्युतीकरण भइसक्दा ग्राहकको संख्या अझै बढ्छ’ उनले भने ।

अहिले प्रदेशमा हिउँदमा मासिक ११ करोड युनिट र बर्खामा मासिक १८ करोड युनिट विद्युत खपत हुन्छ । प्रणालीमा उपलब्ध कूल ऊर्जाको २५ प्रतिशत यो प्रदेशमा बिक्री वितरण हुने गरेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV