१६ श्रावण २०७७, शुक्रबार
  • राजु पौडेल,

झापा, १६ साउन । भारतीय दूतावासको सहयोगमा झापामा निर्माणाधीन दुई वटा विद्यालयको भवन वर्षौंदेखि अलपत्र परेका छन् । नियमनकारी निकायको समन्वय अभाव र निर्माण व्यवसायीको चरम लापरवाहीका कारण निर्माण कार्य विगत सात वर्षदेखि अलपत्र परेको हो ।

झापाको गौरादह, भद्रपुर र मेचीनगरका तीन वटा विद्यालयको भवन निर्माणका लागि २०७० साल अघि नै भारतीय दूतावासको आर्थिक सहयोगमा तत्कालीन जिल्ला विकास समितिमार्फत् ठेक्का प्रक्रिया अघि बढेको थियो ।

गौरादहस्थित महारानीझोडा माविको भवनको निर्माण कार्य सम्पन्न भएपनि भद्रपुर–३ स्थित अरनिको मावि र मेचीनगर–११ स्थित बलभद्र जनता माविको भवन निर्माण कार्य अझैँ सम्पन्न हुन सकेको छैन ।

अरनिकोकोे भवन निर्माणका लागि २०७१ सालमा ठेक्का सम्झौता भएर चारपटकसम्म म्याद थप हुँदा समेत निर्माण कम्पनी राजधानी कष्ट्रक्सनले काम सम्पन्न गर्न सकेको छैन ।

‘हामीले पटकपटक सम्बन्धित निकायहरुको ध्यानार्कषण गराएका छौँ’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शमशेर तामाङले भने, ‘तर ठेकेदार पनि आउँदैनन्, हालसम्म काम सूचारु हुन सकेको छैन ।’

त्यस्तै, २ करोड ६४ लाख रुपैयाँमा २०६९ सालमै ठेक्का सम्झौता भएको बलभद्र जनताको भवन समेत तीनपटकसम्म म्याद थप हुदा पनि सम्पन्न भएन । काठमाडौंको तुलसी भक्त निर्माण सेवाले १५ महिनामा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएपनि हालसम्म निर्माण सकिएको छैन ।

सुरुवातमा राम्रै काम गरेको तुलसी भक्त निर्माण सेवा एक वर्षपछि एकाएक गायव भएपछि अहिले भवनको निर्माण कार्य ठप्प बनेको हो । निमार्णको जिम्मा लिएको कम्पनी बेपत्ता भएसँगै निर्माणस्थलमा थुपारिएका लाखौँ मूल्यका निर्माण सामग्री चोरी हुन थालेका छन् ।

निर्माण जिम्मा लिएको कम्पनी नै बेपत्ता भएको भन्दै अभिभावकसहित स्थानीय धेरै पटक तत्कालीन जिल्ला विकास समिति लगायत सम्बन्धित निकायहरुमा गएको भएपनि आश्वासन मात्रै पाएको स्थानीय तथा विद्यालय व्यवस्थापन समितिका पूर्वसदस्य नरेश महरा बताउछन् ।

लामो समयदेखि विद्यालयको निर्माणाधीन भवन अलपत्र हुँदा पठनपाठनमा समेत समस्या उत्पन्न भएको छ । विद्यालयको भौतिक संरचना राम्रो नहुँदा बिद्यार्थीको संख्यासमेत वर्षेनी घट्दै गएको विद्यालयका शिक्षकहरु बताउछन् ।

‘विद्यालयबाट सुरक्षित पठनपाठन गराउन साह्रै समस्या छ’ अरनिको माविका प्रधानाध्यापक पुरुषोत्तम खरेलले भने, ‘अभिभावकहरु पनि गुनासो गर्दै विद्यार्थी निकालेर लानुहुन्छ, त्यसैले विद्यार्थीको संख्या पनि आधा घटिसक्यो ।’

विशेषगरी तत्कालीन जिविसले ठेक्का लगाएको तर जिविस भंग भएर जिल्ला समन्वय समिति बनेपछि निर्माणको रकम भुक्तानी दिने विषयमा अन्योल हुँदा भवन अलपत्र परेको देखिन्छ । तत्कालीन जिविसमार्फत् निर्माण व्यवसायीलाई भुक्तानी हुँदै आएको रकम स्वामित्व र क्षेत्राधिकारका आधारमा अब भने जिल्ला समन्वय समितिले समन्वय गर्नुपर्ने हुन्छ ।

जसका कारण स्वामित्व लिनै लामो समय लागेको र अब भने भवनको निर्माण कार्य सम्पन्न गराउने प्रक्रियामा आफूहरु लागेको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल बताउछन् ।
‘निर्माण कार्यमा ढिलासुस्ती भएकै हो, हामीले पनि भवनको अनुगमन गरेर माथि मन्त्रालयसम्म विभिन्न समयमा जानकारी गराइसकेका छौँ’ पोर्तेलले भने, ‘निर्माण कम्पनीले पनि काम गर्ने आश्वासन दिएको छ, यो वर्ष भित्र सम्पन्न होस् भन्ने हाम्रो पनि चाहाना हो ।’

यसरी लामो समयदेखि विद्यालय भवन अलपत्र परेको भएपनि जिससका अनुसार हालसम्म अरनिकोको बाट १ करोड ७७ लाख र बलभद्रबाट १ करोड ३ लाख रकम निर्माण व्यवसायीलाई भुक्तानी भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV