१६ श्रावण २०७७, शुक्रबार
  • बसन्त खतिवडा,

बारा, १६ साउन । छिमेकी जिल्ला बीरगञ्जमा समुदायस्तरमै कोभिड–१९ देखिएपछि बीरगञ्जले हाल एक घर एक पीसीआर अभियान चलाइरहेको छ ।

छिमेकी जिल्ला र बीरगञ्ज भन्सारबाट आवात जावत गर्ने राजमार्गको रुपमा रहेको जीतपुरसिमरा उपमहानगर अहिले सम्भावित जोखिममा रहेको छ ।

केही दिन अघि मात्र जीतपुरसिमरा उपमहानगरको जीतपुरमा रहेको स्वास्थ्य चौकीका एक कर्मचारी र सोही स्थानमा रहेको एक उद्योगका प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना पोजिटिभ देखिएपछि हाल जीतपुर सिमरा क्षेत्र उच्च जोखिममा रहेको पाइन्छ ।

पोजिटिभ देखिएका दुवै जनालाई बीरगञ्ज स्थित गण्डक अस्पतालमा उपचार गराउने क्रममा उद्योगका प्रशासकीय अधिकृतको आज विहान मृत्यु भएको छ भने अर्का व्यक्तिको उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ ।

स्वास्थ्य चौकीकै कर्मचारीलाई कोरोना पोजिटिभ देखिएपछि आज जीतपुरसिमरा उपमहानगरका ८५ जना कर्मचारीहरुको स्वाव संकलनको कार्य भइरहेको छ । नगरपालिका अन्तर्गत रहेर वडामा काम गर्ने वडा सचिवदेखि अधिकृत सम्मका व्यक्तिको स्वाव संकलन भइरहेको कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादले जानकारी दिनुभयो ।

जनतासँग प्रत्यक्ष सम्पर्कमा आउने कर्मचारी भएको हुँदा पहिलो चरणमा नगर मातहतका ८५ जना कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाव संकलन भइरहेको शिवजी प्रसादले बताउनु भयो ।

सम्भावित जोखिम न्यूनीकरण गर्न स्थानीय तह एवं कोभिड–१९ नियन्त्रण कार्यदलले समेत हालसम्म ठोस कार्यक्रम ल्याउन सकेको छैन ।

जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख डा. कृष्ण पौडेलले पीसीआर मेसिन खरिद गर्ने बारे छलफल भईरहेको र अहिलेको जोखिमबाट बच्न सर्वसाधारणलाई सावधानी अपनाउन समेत पौडेलले आग्रह गर्नुभयो ।

बन्दाबन्दी मात्रै समाधान नभएको भन्दै डा। पौडेलले बन्दाबन्दी पश्चात राहत लगायतका कार्य चुनौतीका रुपमा रहेको बताउनु भयो ।

खुल्ला सिमाना, औद्योगिक क्षेत्रमा काम गर्ने भारतीय कामदार, पेट्रोलियम पदार्थ एवं भन्सारबाट नेपाल भित्रिने भारतीय सवारीका कारणले पनि यस क्षेत्र उच्च जोखिममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV