१६ श्रावण २०७७, शुक्रबार
  • देवराज पन्त

मकवानपुर, १६ साउन । वैज्ञानिकहरु वा धार्मिक आस्थाको आधारमा हेर्ने हो भने मानव शरीर शाकाहारी नै हो भन्ने गरिन्छ । तर पनि विश्वमा शाकाहारी र मांशाहारी दुबैथरी मानिसहरु छन् ।

आज हामी मांशाहारीहरुका लागि ओसारप्रसार गरिने राँगा-भैसी, चौपाया देशका विभिन्न स्थानबाट मासुका लागि काठमाडौं, पोखरा, नारायघाट लगायतका स्थानमा राँगा-भैसी चौपाया पुर्याउने गरिँदै आएको तपाई हामी सबैले देखेका छौँ ।

तर ती चौपाया लैजाँदा गरिने कार्य भने ज्यादै दुःखदायी वा चौपायालाई अधिक पीडा दिएर लगिने गरिएको छ । यस्तै एउटा पीडादायी उदाहरण मकवानपुरको हेटौंडामा भेटिएको छ ।

पशु चौपायाको पुच्छर, खुट्टा लगायतमा यसरी बाधिएको हुन्छ कि, सो चौपाया पुर्याउने ठाउँसम्म पुग्दा साधारणतया त्यो हेर्नै नसकिने गरी घाऊ बनिसकेको हुन्छ । ट्रकमा रहेको चौपाया अलिकति पनि दायाँबायाँ गर्नै नसक्ने गरी पीडा दिएको हुन्छ ।

ट्रकमा पानीसमेत खान नदिई लगातार कयौं घण्टाको यात्रापछि सो चौपाया व्यापारीको हातमा पुग्छ र मानिसका लागि स्वादिष्ट व्यञ्जन बनिदिन्छ । तर उसलाई पीडामा राखेर गरिएको ओसारपसार हेर्दा लाग्दा हामीमा मानवता नभएकै हो त ?

पशुलाई यसरी बाध्दा वा पीडा दिँदा आफूलाई पनि पीडा हुने गरेको स्वयम् पशु गोठाला पनि बताउँछन् । उनी भन्छन्, ‘दुख लाग्छ, तर के गर्नु ?

सरकारले पशु ढुवानी मापदण्ड पनि लागू गरेको छ । मापदण्ड को १५ को (क) अनुसार पुच्छर, खुट्टा केही बाँध्न पाइँदैन । चौपाया राख्दा उसलाई पर्याप्त स्थान हुनु पर्ने, प्राथमि उपचारको साधन सवारीमै हुनु पर्ने, गोठालो व्यवस्था गर्नुपर्ने, लामो समयको यात्रा भए ओरालेर चराउनु पर्ने जस्ता व्यवस्था निर्दिष्ट गरेको छ ।

तर चौपायाको ढुवानी गरेको देख्दा हामीमा मान सम्वेदनशीलता नै छैन । मकवानपुर प्रहरीले यसरी पीडादायी रुपमा मापदण्ड पूरा नगरी ल्याईएका राँगाभैसी, चौपायालाई फिर्ता पठाउने अभियान शुरु गरेको छ ।

यस सम्बन्धमा इलाका प्रहरी कार्यालय पशुपतिनगर हेटौंडाका प्रमुख प्रहरी निरीक्षक देवराज काफ्लेले नियम विपरीत र सम्वेदनहीन तरीकाले ल्याईएका पशु चौपाया हेटौंडाबाट फिर्ता पठाईने बताएका छन् ।

संसार हामी मानिसको मात्रै होईन, सबै प्राणीहरुको साझा घर हो । इच्छा अनुसार माछामासु खान हुन्छ । तर त्यसो भन्दैमा पीडा दिएर, पीडा व्यक्त गर्न नसक्ने पशुलाई घण्टौंको यातना पक्कैपनि हामी विवेकशील प्राणी मानिसका लागि शोभा दिँदैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV