१६ श्रावण २०७७, शुक्रबार
  • रिदम सिंह

बझाङ, १६ साउन । जिल्लास्थित संयुक्त अनुगमन टोलीले ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाबाट संचालन गरिएका योजना कार्यक्रमहरुको अनुगमन गरेको छ । साउन दोस्रो साता स्थलगत अनुगमनमा हिँडेको टोलीले थलारा गाउँपालिका, छबीस–पाथीभेरा गाउँपालिका र तल्कोट गाउँपालिका अन्तरगत ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाबाट संचालन गरिएका योजना कार्यक्रमको अनुगमन गरेको हो ।

संयुक्त अनुगमन टोलीले थलारा गाउँपालिका– ६ पिखेतमा आनन्द रोकायाको व्यावसायिक तरकारी खेती, सोही गाउँमा निर्माण हुन थालेको खानेपानी योजना र सडिल तथा तराटी गाउँको खानेपानी योजनाको पनि अनुगमन गरेको थियो ।साथै सोही गाउँपालिका– ४ मोयलमा निर्माण भएका सिचाइँ पोखरीको पनि अनुगमन गरेको थियो ।

अनुगमन टोलीमा जिल्ला समन्वय समितिका संयोजक खड्क बहादुर खड्कासहित जिल्लास्थित नेकपा र काँग्रेसका पार्टी प्रतिनिधि, कोष तथा नियन्त्रण कार्यालय प्रमुख र पत्रकार महासंघका प्रतिनिधि रहेक थिए । साथै सम्बन्धित पालिकाका स्थानीय सरकारका प्रमुख र जनप्रतिनिधिसहित साँझेदार संस्थाका प्रतिनिधि र परियोजनाका कर्मचारी पनि अनुमनमा रहेका थिए ।

टोलीले समुदाय स्तरमा योजनाबाट भएको फाइदा, समस्या, चुनौती, सिकाइ, उपलब्धिका बारेमा बुझ–विस्तार गरेको टोलीका सदस्य नेकपाका नेता दमन भण्डारीले बताए । उनले भने, ‘थलाराका साथै हाम्रो टोलीले छबीसपाथीभेरा गाउँपालिकाको पाटागाउँमा एकघर एक धारा खानेपानी योजना, बहुउपयोगी सिचाइँ योजनासहित व्यावसायिक तरकारी खेती र सुधारिएको घट्टमा गरिएको सहयोग र यसबाट भएको फाइदाका बारेमा पनि समुदायमा बुझविस्तार गरेका थियौँ ।’

उता, तल्कोट गाउँपालीमा पनि अनुगमनमा गएको टोलीले त्यहाँको पनाल्त गाउँमा गएर सिचाइ कुलो र सुधारिएको घट्ट सहित सुधारिएको चुलो योजनाको बुझविस्तार गरेको थियो ।

पनाल्तमा स्थलगत अनुगमन गरी समुदायका माान्छेहरु भेला गरेर टोलीले जलस्रोतबाट भए-गरेका काम र यसबाट समुदायमा भएको फाइदा र गाउँका अन्य समस्या र सम्भावनाका बारेमा छलफल समेत गरेको थियो । तिनै पालिकामा जलस्रोतबाट संचालन भएका योजनाहरुको अनुगमनमा हिँडेका जिल्ला समन्वय समितिका संयोजक खड्कबहादुर खड्काले जलस्रोतबाट निर्माण भएका योजनाहरु समुदायको हित र काम हेर्दा सन्तोषजनक रहेको बताए ।

उनले भने, ‘जिल्लामा अरु परियोजनाभन्दा जलस्रोतको काम गर्ने तौरतरिका ठिक छ । योजनामा पारदर्शिता छ सबैको सहभागिता देखिन्छ। कामको गुणस्तर र योजनाको दिगोपनका लागी पनि व्यवस्थापन गरिएको देख्दा समग्रमा परियोजनको काम ठिक लाग्यो ।’

अनुगमनमा समुदायका मान्छेहरुसँग कुराकानी गर्दा जलस्रोतले एक घर एक धारासहित बहुउपयोगी सिचाइँ योजना बनाइदिँदा गाउँलेहरुलाइ धेरै फाइदा भएको बताउँदै पत्रकार शैलेन्द्र रोकायाले भने, ‘जलस्रोत परियोजनाको जिविको पार्जन साथै पुर्वाधार तर्फका योजनाहरु सवै राम्रै देखिए । कँडेलमा बेमौसमी तरकारी खेतीमा टमाटर थुर्पौ फलेको देख्दा अनुगमन टोली प्रभावित भएका थिए । तल्कोटको पनाल्तमा सुधारिएको धुवा रहित चुलो निर्माणले त्यहाँका समुदाको खुशी देख्दा जलस्रोतको काम देखेर अनुगमन टोलीमा पनि हौसला मिलेको छ।’

बर्षेनी यसरी संयुक्त अनुगमन टोलीबाट योजना कार्यक्रमहरुको अनुगमन, सरोकारावालाहरुको अवलोकन भ्रमण गराउँदै आएको जलस्रोत परियोजनाले सबैको सुझाव लिँदै काम अझ प्रभावकारी बनाउँदै आएको छ । विगत एक दशकअगाडी देखी जिल्लामा लागु भएको यो परियोजना बझाङका गाउँठाँउको विकासमा सहयोगी हात भएको थलारा गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्ययाले बताए ।

यो परियोजनाले फिलल्याड सरकार युरोपियन युनियन, नेपाल सरकार स्थानिय सरकारको आर्थिक सहयोगमा थलारा, छविसपाथीभेरा, तल्कोट गाउँपालिका सहित अन्य पालिकामा काम गर्दै आएको छ । परियोजनाको साँझेदार सस्थाका रुपमा सामाजिक विकास केन्द्र र जिएसटिडिएस रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV