१५ श्रावण २०७७, बिहीबार
  • दान बहादुर बुढा,

मुगु, १५ साउन । कोरोना भाइरस महामारीका कारण गत वर्षको चैत ११ गतेबाट सबै विद्यालयहरु बन्द छन् । लामो समयसम्म विद्यालय बन्द हुँदा बालबालिकाहरुको पढाई प्रभावित बनेको छ ।

यसैबीच मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाले टोल–टोलमा पढाई सुरु गरेको छ । लकडाउनका कारण गाई–भैंसी गोठालामा ब्यस्त बालबालिकाहरु नेपाली, अंग्रेजी, गणितलगायत विषयहरु घरमै बसेर पढ्न पाएपछि निकै खुसी भएका छन् ।

छायाँनाथ रारा नगरपालिका–३ का कक्षा ३ मा अध्ययनरत धलपुर तिरुवाले भने, ‘विद्यालय बन्द भएपछि हामी गाई भैंसी चराउन जान्थ्यौं । कापी कलम किन्न पनि समस्या भएको थियो । तर, अहिले आमा–बुबाले तरकारी बेचेर कापी कलम किनिदिनुभएको छ ।’

नगरपालिका र साहास नेपालले टोल टोलमै बालबालिकाहरुलाई पढाउने व्यवस्था गरिदिएपछि अभिभावक पनि निकै खुसी भएका छन । तर, विद्यालय कहिलेबाट सन्चालनमा आउने हो ? भन्ने चिन्ता पनि अभिभावकमा छ ।

छायानाथ रारा नगरपालिकाले ७ सय ५२ जना बालबालिकाहरुलाई ३५ स्थानमा फरक–फरक समूह बनाई पठनपाठन सञ्चालन गर्दै आएको छ । नगरपालिकाले एउटा समूहमा २० जना बालबालिकाहरुलाई समावेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV