१५ श्रावण २०७७, बिहीबार
  • रिया भण्डारी,

काठमाडौं, १५ साउन । रोजगारीको नाममा लाखौं नेपालीको नियति नै बन्यो ‘कि गन बोक्न कि घन बोक्न’ विदेशीनै पर्ने । विदेशी भूमिमा लाखौ नेपाली पसिना र आँशु वगाउँदै मातृभूमिलाई रेमिट्यान्समा रमाउन लागिपरेका छन् । तर, त्यही विदेशबाट बेलाबेलामा आउने खबरले भने आम नेपालीलाई आँशुको आहालमा डुबाउन बाध्य बनाउदै आएको छ ।

रोजगारीको सिलसिलामा साउदी अरेबियामा मृत्यु भएका एक नेपालीको शव परिवारले हेर्न समेत पाएनन् । कि लास कि सासको आश गर्ने नेपाली समाजका एक युवा उतै कता विलिन बनाइए । कोरोनाले नभइ अन्य विमारले मृत्युवरण गरेका ती युवकको परिवारजन यतिखेर उनको यादहरु स्मरण गर्दै यतिखेर न्यायका भिख मागिरहेका छन् ।

धादिङ गाल्छी गाउपालिका वडा नम्बर ४ का २७ बर्षीय मनोज खड्का २०७६ भदौमा साउदी अरेबियाको एउटा रेस्टुरेन्टमा रोजगारीको सिलसिलामा पुगे । तर काम थालेको ७ महिनापछि चैत ३ गते सुतेकै अवस्थामा मृत्यु भएको खबर आयो ।

लकडाउनले गर्दा शब उतै रोकियो ५ महिनासम्म मनोजको शब कुरेका आफन्तले पटकपटक मेनपावरमा लगायत सरकारी निकायमा सम्पर्क गर्यो तर शब आएन । शव ल्याउन बिभिन्न निकाय धाइरहेको परिवारको पीडामाथि झन् पीडा त त्यतिबेला थपियो जब मनोजको शब् परिवारको अनुमति बिनै उतै अन्त्येष्टि गरियो ।

उनलाई साउदी पठाउने मेनपावरले भने साउदी सरकारले नै नेपाली दूताबासलाई जानकारी नै नदिइ मनोजको शब् अन्त्येष्टि गरेकोले आफुहरुलाई पनि केही जानकारी नभएको लाचारी व्यक्त गरेको छ । मृतकका आफन्तले शब ल्याउन पहल गरिदिन मेनपावरमा पटकपटक सम्पर्क गर्दा समेत मेनपावरले बेवास्ता गरेको गुनासो गरेका छन ।

लकडाउनको अवधिमा सबैभन्दा धेरै साउदीमा ५८ जना नेपालीले ज्यान गुमाएका छन् । जसमध्ये ४ जनाको कोरोनाको कारण ज्यान गएको हो भने बाँकीको अन्य कारणले मृत्यु भएको सरकारी तथ्यांक छ । कोरोनाले नै मृत्यु भएका नेपालीको शब् अन्त्येष्टि गर्न त परिवारको अनुमति चाहिन्छ भने मनोजको मृत्यु कोरोनाले नभएको पुष्टि भइसकेको छ ।

एउटा नेपाली युवामाथिको यो हृदयविदारक घटनाले वैदेशिक रोजगारीमा नेपालीले भोग्दै आएको कष्टको परकाष्टा चित्रित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV