१५ श्रावण २०७७, बिहीबार
  • रिया भण्डारी,

काठमाडौ, १५ साउन । गत चैत ११ गते लकडाउन घोषणा गरेपछि पहिलो पटक काठमाडौंको कालीमाटीमा दुई प्रहरीलाई सङ्क्रमण देखिएको थियो ।

त्यसपछि विभिन्न जिल्लामा फ्रन्टलाइनमा कार्यरत प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो भने केही निको हुँदै आएका थिए । तर, पछिल्लो केही दिनमा प्रहरी प्रधान कार्यालयमा ४४ जना प्रहरीलाई कोरोना संक्रमण भएसँगै देशभर २ सय २५ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत बिहीबार प्रहरी प्रधान कार्यालय, नक्सालमा चार जना प्रहरीलाई कोरोना संक्रमण देखियो । त्यसपछि प्रहरी प्रधान कार्यालय सिल गरेर संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएकाको परीक्षण गर्दा हालसम्म संक्रमित प्रहरीको संख्या ४४ पुगेको छ । संक्रमित देखिएसँगै अहिले उपत्यकाका प्रहरीको पीसीआर परीक्षण बढाइएको छ ।

परीक्षण बढाएसँगै केही दिन यता प्रहरी अस्पताल महाराजगञ्जमा पीसीआर गर्न आउने प्रहरीको भीड लागेको थियो । ठूलो संख्यामा प्रहरी परिक्षणको लागि आउन थालेपछि प्रहरी अस्पताललाई प्रहरीको पीसीआर परीक्षण गर्न अहिले भ्याइ न भ्याइ छ ।

हालसम्म देशभर २२५ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार थप १५ र बिहिबार प्रहरी प्रधान कार्यालयका थप ४ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित प्रहरीमा प्रहरी प्रधान कार्यालयका ४४, काठमाडौं उपत्यकाका ९, प्रदेश १ का २८, प्रदेश २ का ३९, गण्डकी प्रदेशका ४७, प्रदेश ५ का १५, कर्णाली प्रदेशका २७ र सुदूरपश्चिमका १२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ ।

संक्रमित हुनेमा प्रहरी जवानको संख्या उच्च छ । यता, फ्रन्टलाइनमा खटिने प्रहरीले आवश्यक स्वास्थ्य सामग्री प्रयाप्त नपाउँदा नै संक्रमण फैलिएको चिकित्सकहरुले दावी गरेका छन् । केही दिन अघि पूर्वी नाका काँकरभिट्टाका २० जना सशस्त्र प्रहरीलाई सङ्क्रमण देखिएको थियो ।

तर, प्रहरी प्रधान कार्यालयमा कसरी संक्रमण फैलियो भन्ने अहिले अनुसन्धानको विषय बनेको छ । धेरैले यसलाई समूदायमा कोरोना फैलिएको हो कि भन्ने आशंका गरेपनि सरकारले भने अहिलेसम्म पुष्टि गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV