१५ श्रावण २०७७, बिहीबार

काठमाडौं, १५ साउन । काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमित थपिदै गएपछि सरकारले नाकामा पुनः कडाई गर्नेभएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको निर्णय सुनाउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारले काठमाण्डौमा संक्रमित थपिँदै गएको र घना बस्तीमा थप जोखिम रहेकाले नाकामा थप कडाइ गर्नेभएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाका अनुसार नाकामा कडाई गर्न सुरक्षा निकायले योजना बनाउने छ । यस्तै देशैभरि कोरोनाको जोखिम बढ्दै गएकाले नागरिकले थप सतर्कता अपनाउनुपर्ने उहाँको भनाइ छ ।

यस्तै, सरकारले वर्षात सुरु भएसँगै बाढी, पहिरोजस्ता विपत्मा परी मृत्यु भएमा मृतकका परिवारलाई प्रतिव्यक्ति दुई लाख उपलब्ध गराउने निर्णय गरेको छ । विपदमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ र एक परिवारका एकजनाभन्दा बढीको मृत्यु भएमा प्रतिव्यक्ति एक लाख थप गरी रकम एकद्वार प्रणालीमार्फत उपलब्ध गराइने छ ।

यस्तै, अब विद्यालयहरुमा क्वारेन्टाइन र आइसोलेशन वार्ड नबनाउने निर्णय पनि सरकारले गरेको छ भने बनाइएका संरचना हटाउने र संक्रमित बसेका भए निर्मलीकरण गर्ने तयारी गरेको छ ।

बैठकले चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालय अन्तर्गतका समितिका लागि ६४ वटा राजपत्राङ्कित अस्थायी पदहरु खोल्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले भदौ १ देखि विद्यालय भर्ना सुरु गर्ने निर्णय गरेको छ भने पठन पाठन सञ्चालन कार्ययोजना बनाउन शिक्षा मन्त्रालयलाई जिम्मेवारी समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV