१५ श्रावण २०७७, बिहीबार
  • घनश्याम मिश्र

जनकपुरधाम, १५ साउन । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले भारतको उत्तर प्रदेशस्थित आयोध्यामा शिलान्यास हुने राम मन्दिरमा माता सीताको पनि प्रतिमा राख्न आग्रह गर्नुभएको छ । राम र सीता एकअर्काको परिपूरक रहेको भन्दै उपसभापति निधिले अयोध्यामा निर्माण हुन गइरहेको राम मन्दिरमा सीताको समेत प्रतिमा राख्नुपर्ने बताउनुभएको हो ।

बिहीबार जनकपुरका सञ्चारकर्मीहरुसँग टेलिफोनमा कुरा गर्दै निधिले भन्नुभयो ,‘पछिल्लो विवाह पञ्चमीको अवसरमा अयोध्याबाट आएका विशिष्ट व्यक्तिहरुलाई राम मन्दिर स्थापना हुँदा सीताको समेत प्रतिमा स्थापना हुनुपर्ने हामीले भनेका थियौं । उहाँहरुले पनि यसलाई स्वीकार गर्नु भएको थियो अब, अयोध्यामा रामको मुर्तिको निर्माण हुन गइरहेको छ । रामका साथै सीताको पनि प्रतिमा स्थापना हुनुपर्दछ ।’

सीताबिनाको राम अधुरो रहने भएकोले अयोध्यामा रामका साथै सीताको पनि प्रतिमा निर्माण हुनुपर्ने आफूहरुको चाहना रहेको उहाँले बताउनुभयो । अयोध्यामा राम मन्दिर निर्माणको क्रममा जानकी महन्तसहित आफ्नो समेत सहभागी हुने चाहना रहेपनि कोरोना महामारीका कारण सहभागी हुन कठिन रहेपनि जनकपुरको तर्फबाट प्रतिनिधित्व हुनु जरुरी रहेको उहाँले बताउनुभयो ।

‘विवाह पञ्चमीमा अयोध्याबाट जनकपुर आउने जन्तीलाई हामीले स्वागत गर्ने गरेका छौं, सीताबिना रामको भूमिका अधुरो हुन्छ, अयोध्याबाट आएका श्रीराम न्यासका प्रतिनिधिलाई हामीले भनेका थियौं,’ उनले भने,‘उहाँहरु पनि सकारात्मक हुनुहुन्थ्यो, ५ अगस्तमा राम मन्दिर शिलान्यासको कार्यक्रममा सम्भव भए त्यहाँ पुगेर जानकी मन्दिरले जनकपुरको प्रतिनिधित्व गर्नु प¥यो । सम्भव नभए राम मन्दिर शिलान्यासको अवसरमा जानकी मन्दिरले जनकपुरमै धार्मिक कार्यक्रम अयोजना गर्नु पर्दछ ।’

कोरोना संकटको अवस्था रहेकोले त्यहाँ पुग्नसक्ने वातावरण नबने जनकपुरबाट अयोध्यासम्म सन्देश पु¥याउन उनले जानकी मन्दिरलाई आग्रह गर्नुभएको छ । उपसभापति निधिले क्षमताअनुसार राम मन्दिर निर्माणमा सहयोग गर्न महन्त राम तपेश्वर दासलाई आग्रह गर्नुभएको हो । ‘भगवान रामको ससुराली जनकपुर छ, हामीलाई खुशी लागेको छ, अदालतको निर्णयपश्चात अयोध्यामा राम मन्दिर बन्दै छ,’ निधिले भन्नुभयो ,‘राम मन्दिर निर्माणमा जनकपुरको भूमिका आवश्यक छ ।’

नेपाल र भारतबीचको सम्बन्ध पौराणिक रहेको भन्दै उनले कसैले चाहँदैमा सम्बन्ध नबिग्रिने दाबी समेत गर्नुभयो । अयोध्या रामको जन्मभूमि र मिथिला जानकीको जन्म भूमिरहेको पौराणिक मान्यतालाई कसैले अन्त्य गर्न नसक्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV