प्रचण्डले मन्त्री भट्टलाई भने- ओलीतिर लाग्ने भए स्थायी कमिटी सदस्य र मन्त्री छाड्नु



प्रकाशित मिति : Jul 27, 2020

काठमाडाैं, १२ साउन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी सदस्य एवम् उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई चेतावनी दिनुभएको छ ।

शुक्रबार अध्यक्ष दाहालले सुदूरपश्चिम प्रदेशका नेता-कार्यकर्ताहरूसँग पार्टीभित्रको सङ्कटबारे छलफल गर्नुभएकाे थियाे । छलफलमा सुदूरपश्चिम प्रदेश कमिटीका सहइन्चार्ज खगराज भट्ट, मुख्यमन्त्री त्रिलोचल भट्ट, आपूर्तिमन्त्री लेखराज भट्ट, केन्द्रीय सदस्य तथा खानेपानीमन्त्री विना मगर, शरदसिंह भण्डारी, रेणु चन्दसहित ३० जना नेता-कार्यकर्ता  प्रचण्डनिवास खुमलटार पुगेका थिए ।

छलफलका क्रममा दाहालले आपूर्तिमन्त्री भट्टलाई स्थायी कमिटी सदस्य, मन्त्री पद छाडेर खुलेआम प्रचार गर्न चेतावनी दिनुभएकाे हाे । ‘भट्टमा गम्भीर प्रकारको विचलन देखियो । प्रचण्ड अर्थात् पूर्वमाओवादी केन्द्रको कोटाबाट स्थायी कमिटी सदस्य बन्ने, मन्त्री पनि बन्ने तर ओलीजीको वकालत गरिराख्नुभएको छ । ओलीजीतिरै लाग्नु छ भने स्थायी कमिटी सदस्य, मन्त्री पद छाडेर खुलेआम प्रचार गरे भइहाल्यो नि !’ प्रचण्डको भनाइ उद्धृत गर्दै भट्टले भन्नुभयाे ।

अध्यक्ष दाहालले लेखराज भट्टलाई मन्त्रीको भूमिका थमाउँदा पनि विरूद्धमा लागेको भन्दै दुःखमनाउ गर्नुभयाे । “सुदूरपश्चिममा लेखराज नै केन्द्रित भएर काम गरेको हो । उहाँले जे भन्नुभयो । जे गर्न चाहनुभयो त्यसैमा साथ, सहयोग दिएँ । अहिले मसँग एकशब्द नबोली, सल्लाह नगरी उहाँ आफैं टाढिनुभयो । उहाँका गुनासा, प्रश्न, जिज्ञासा, आलोचना आक्रोश जे भए पनि एकपटक छलफल गरेको भए त के बिग्रन्थ्यो । तर संवाद नै गर्नुभएन,’ प्रचण्ड दुखेसाे पाेख्नुभयाे ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीमा सर्वेसर्वा मैं हुँ भन्ने मनोवृत्ति देखिएकाे उहाँले बताउनुभयाे ।  “ओलीजीमा  सर्वेसर्वा मैं हुँ भन्ने मनोवृत्ति पनि देखियो, कसैलाई मान्छे नगन्ने, कसैलाई मान्छे हुन् पनि नभन्ठान्ने, अरूका कुरा नसुन्ने, सरुवा, बढुवा, नियुक्ति, नीतिगत निर्णय हुन् या प्राविधिक निर्णय सबैमा स्वेच्छाचारी ढङ्गले चल्न खोज्ने, सहयोद्धाहरूको मानमर्दन गर्ने, सहयोद्धाहरू तलकै हुन्, रैती हुन्, ममात्रै विशिष्ट हुँ भन्ने चिन्नत हावी भयो ।” प्रचण्डको भनाइ उद्धृत गर्दै भट्टले भन्नुभयाे ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com