कोरोनाको कहरमा अल्झिएको पर्यटन क्षेत्र



प्रकाशित मिति : Jul 23, 2020
  • गोपाल श्रेष्ठ

कोरोना भाइरस (covid 19_ गत डिसेम्बर  अन्त्यतिर चीनको वुहान शहरबाट आगोको झिल्काझैँ सुरू भएको थियाे । यसले आज डढेलोको रूप लिँदै विश्व मानव जगत नै तहसनहस हुनेगरी महामारीको रूप लिएको छ । करिब १ करोड़ ४३ लाख ४८ हज़ार ८०० मानिस संक्रमित छन् भने करिब ६ लाख ३ हजार ६ सय मानिसले ज्यान गुमाइसकेको स्थिति छ । विश्वका २ सयबढी देशमा भाइरस फैलिएको छ । त्यसबाट नेपाल पनि अछुतो रहने त कुरै भएन ।

नेपालमा कोरोना भाइरस : विश्वका कैयौं शक्तिशाली राष्ट्रहरूमा कोरोना भाइरसको मुस्लो फैलिसक्दासम्म नेपाल धेरै सुरक्षित देखिन्थो तर त्यो स्थिति २४ जनवरी २०२० सम्म मात्र टिक्न सक्यो र नेपालमा पहिलो संक्रमितको रूपमा चीनको वुहान शहरबाट फर्केको एक जना ३२ वर्षीय विद्यार्थीमा कोरोना पहिचान भयो । त्यो स्थिति २० मार्चसम्म कायम रह्यो र २० मार्चपछि निरन्तर बढ्दै गएको संख्या आजको मिति सम्म १८,०९४ संक्रमित पुष्टि भइसकेका छन् । ४२ जनाको ज्यानसमेत गैसकेको छ । र, दैनिक नयाँ संक्रमित थपिने रेसियोलाई हेर्दा अन्य प्रभावित देशहरू भन्दा कम भयावह स्थिति देखिँदैन।

पर्यटन क्षेत्रमा परेको असर:

कोरोना भाइरस महामारीका कारण सबैभन्दा बढ़ी प्रभावित भएको क्षेत्र हो पर्यटन । गत वर्ष करिब ८४ अर्ब कमाएको पर्यटन क्षेत्रले २०२० मा १ खर्ब आम्दानी गर्ने व्यवसायीको प्रक्षेपण थियो । यस्ले व्यवसायमा दिर्गकालिन रूपमा असर पुर्याउने त छँदै छ भने राज्यले समेत ठूलो राजस्व गुमाउन पुगेको छ । हिमाल आरोहणमा रोक लगाउदा करिब ४५ करोडभन्दा बढी राजस्व गुमेको छ ।

यता पर्यटन क्षेत्रमा आबद्ध लाखौं मजदुरहरूलाई कसरी व्यवस्थापन गर्ने र पलाएन हुनबाट कसरी रोक्ने भन्ने चुनौती त छदै छ अर्कोतिर व्यवसायीहरू आफै पनि कसरी सस्टेन (sustain) हुने भन्ने चिन्ता बढ्दो छ ।

व्यवसायमा आबद्ध मजदुरहरूलाई व्यवसायीले दिन सकिने सुविधा र राहत त छदै छ तर व्यवसायीहरू आफै पनि समस्यामा भएकाले राज्य स्तरबाट अविभाबकक्त्व भूमिका भईदियोस भन्ने सबैको महसुस हो ।

अन्तराष्ट्रीय मजदुर संगठनका अनुसार बिश्वभरीमा क़रीब १ अर्ब भन्दा बढी पर्यटन क्षेत्रका मानिसले रोजगारी गुमाऊने भएको छ भने करिब २५ खर्ब क्षति पर्यटन व्यवसायले गुमाऊनु परेको छ । यो स्थितिमा नेपालजस्तो देश, जो ८० देखि ९०% सम्म अन्तर्राष्ट्रिय पर्यटन बजारले धानिदिएको देश प्रभावित नहुने भन्ने त कुरै भएन ।

भ्रमण वर्ष २०२०

नेपाललाई आकर्षक, सुरक्षित, मनोरम र साहसिक पर्यटकीय गन्तव्यको रुपमा विश्व बजारमा स्थापित गर्ने उद्देश्यसहित सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने र २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य आज सपना जस्तै बनेको छ ।

०७२काे भूकम्पपछि बिस्तारै तंग्रिएको नेपालको पर्यटन क्षेत्रलाई भ्रमण वर्षले निकै उत्साहित गरेको थियो । साथै भ्रमण वर्षलाई सफल बनाउन निजी क्षेत्रले यस क्षेत्रमा निकै ठूलो लगानी समेत बढाएका थिए । त्यति मात्र नभई भ्रमण वर्ष २०२० लाई महामारी भुकम्पले दिएको नकारात्मक सन्देशलाई चिर्ने राम्रो माध्यामको रूपमा पनि हेरिएको थियो ।

सरकारलाई सुझाव

विश्वभरि महामारीको रूपमा फैलिएको कोभिड-१९ का कारण तहसनहस बनेको नेपालको पर्यटन क्षेत्र ऊकास्न सरकारले कुनै कन्जुस्याइँ र हिचकिचाहट गर्न हुँदैन । किनकि यो क्षेत्र भनेको राष्ट्रको गहना, राष्ट्रको सुन्दरता हो । थोरै लगानीमा धेरै र छिट्टो रोजगारी दिलाउन सकिने क्षेत्र हो पर्यटन । अहिलेसम्म अधिकतम निजी क्षेत्रले धानिदिएको भनेको पर्यटन क्षेत्र विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण तहसनहस भएपछि सबै व्यवसायीहरू यो क्षेत्रलाई बचाउन र काँध थापिदिन सरकार/राज्य समक्ष हाहारगुहार गरिरहेको अवस्था छ । राज्य र सरकारले अविभाकीय भुमिका खेल्नै पर्छ यो एऊटा सरकारको लागि अवसर पनि हो यो क्षेत्रलाई डुब्नु दिनु हुन्न भन्ने मेरो बुझाइ छ।

बजेट

सरकारले बजेट मार्फत पर्यटन क्षेत्रलाई थोरै भए पनि सम्बोधन गरेको देख्न सकिन्छ । ५० अर्बको राहत व्यवस्थापन र सहुलियत ऋण तथा कर्जामा पुनर्तालिकाजस्ता योजनाहरू अगाडि बढाएको छ । नेपालमा जतिसुकै राम्रो बजेट विनियाेजन भए पनि कार्यान्वयन र कार्यविधि निक्कै फितलो एवं झन्झटिलो हुने गर्दछ । यदि त्यो पाटोलाई राम्रोसँग ध्यान दिने हो भने यसपटक पर्यटन क्षेत्रमा भएको सम्बोधन त्यति नराम्रो भने होइन ।

अन्तर्राष्ट्रिय अनुभव

भर्खरै मात्र जापान सरकारले आफ्ना नागरिकलाई मात्र नभई विधिवत रूपमा बसेका विदेशी नागरिकलाई समेत लक्षित गरी प्रतिव्यक्ति रू. १ देखि ३ लाख सम्म अर्को वर्ष (२०२१) देखि तिर्ने सर्तमा विनाब्याज राहत प्याकेजको व्यवस्था गरेको छ । यसले के बुझाउछ भने त्यहाँका व्यवसायीलाई हेर्ने नजर जापान सरकारको उत्कृष्ट छ ।

त्यस्तै न्यूज़ील्यान्डका प्रधानमन्त्रीले त्यहाँको व्यवसायलाई उकास्न र पुनर्स्थापना गर्न निकै लोकप्रिय प्याकेजहरू दैनकजसो घाेषणा गरेको देख्न र सुन्न सकिन्छ । उता क्यानडाका प्रधानमन्त्रीले पनि आफ्ना नागरिक र व्यवसायीहरूलाई लक्षित गरी विभिन्न लोकप्रिय कार्यक्रमहरू ल्याई पुनर्स्थापना गर्न जोड़ दिएको देख्न सकिन्छ ।

त्यसैगरी जर्मन सरकारले कोरोना पीडितलाई २०२२ मा पे ब्याक गर्ने गरी कोठाभाडा निःशुल्क गरेको छ । त्यति मात्र नभई प्रभावित व्यवसायमा कार्यरत कर्मचारीको ७० प्रतिशतसम्म तलब दिने व्यवस्था गरेको छ त्यहाँका व्यवसायीलाई हेर्ने नजर र व्यवसायीलाई उपलब्ध गराउने ऋण सुविधा निकै उत्कृष्ट मात्र नभई समयमै पनि छ । त्यसैले त विश्वका उत्कृष्ट राष्ट्रहरूमा गनिन्छ ।

यी त उदाहरण मात्रै भए । यस्ता अन्य कैयौं राष्ट्रहरू छन्, जस्ले COVID-19 लाई अवसरमा बदलेका छन् हामीले त्यी राष्ट्रहरूले जस्तै गर्न नसके पनि जति सक्छौं, प्रभावकारी र समयमै गर्न सक्ने हो भने पनि थप समस्याबाट सुरक्षित हुनेछौं ।

निजी क्षेत्रको दायित्व :

पर्यटन क्षेत्रमा विभिन्न व्यावसायिक संस्थाहरू कार्यरत छन् । जस्तैः टान (TAAN ), नाट्टा (NATTA), पाटा-नेपाल (PATA-Nepal, हान(HAN), सोट्टाे (SOTTO), एनएमए (NMA), भिटोफ (VITOF), नारा (NARA) जस्ता थुप्रै संघ-संगठनहरू एक्लै उभिएको र आफू आबद्ध व्यवसायहरूको पक्षमा मात्र उभिएको देखिन्छ । अबको समय त्यसो नगरी सबै संघ-संस्थाहरू एकै ठाउँमा उभिई सामुहिक बल लगाउनु जरूरी छ  । र, मात्र नेपालको पर्यटन भन्ने सब्दलाई आत्मसात गरेर अगाडि बढ्नुपर्दछ । किनकि यी सबै व्यवसाय एक-अर्काका परिपूरक छन् ।

सामुहिक बल नै आजको आवश्यकता हो । कुनै मिडियामा चर्चा-परिचर्चा भन्दा पनि परिणाममुखी (रिज़ल्ट ओरिएन्टेड) काम गर्न जरूरी छ । साथै आफू आबद्ध व्यवसायीहरूलाई पलायन हुन नदिन देखाउनुपर्ने क्षमता र गर्नुपर्ने पहलको परीक्षा हुने समय पनि यही हो । त्यसैले बरू एउटा काम गर्नुहोस् तर परिणाम देखिने गरी काम गर्नुहाेस् । म सबै संघ-संस्थालाई सुझाव दिन चाहन्छु ।

अहिले व्यवसायीहरूले आफ्ना एसोसिएशनहरूसँग ठूलो आशा गरेको भनेको सरकारबाट दिने भनिएको ऋण सुविधाको लागि सहजीकरण, सरलीकरण र सामान्य व्यवसायीहरूको समेत सहभागिता हुनेगरी समन्वयकारी भूमिका खेलियाेस् भन्ने हो । त्यस्तैगरी क्राईसेस म्यानेजमेन्ट ट्रेनिंग, व्यवसायमुखी तालिम । COVID-19 सुरक्षाविधि तालिमजस्ता कुराहरूमा यस क्षेत्रमा आबद्ध संघ-संस्थाहरू चुक्नु भनेको अवसर गुमाउनु हो ।

मौद्रिक नीति

कोरोना भाइरस (COVID-19) का कारण थलिएको पर्यटन क्षेत्र र निराश भएका व्यवसायी मौद्रिक नीतिले केही उत्साहित बनेका छन् । चालु पुँजी कर्जा, ५% ब्याजदरमा सहुलियतपूर्ण कर्जा, पुनर्कर्जा प्रवाहमा प्राथमिकता र कर्जामा पुनर्तालिकीकरणजस्ता योजना मौद्रिक नीतिले व्यवस्था गरेको छ । यो व्यवस्था ठूला र पहुँचवालाले मात्र नभई सामान्य व्यवसायीको समेत सहभागिता हुनेगरी प्रभावकारी कार्यान्वययन र सरल कार्यविधिमा ध्यान दिने हो भने के गर्ने, कसो गर्ने र कहाँबाट सुरू गर्ने भन्ने कन्फ़्यूजनमा रहेका व्यवसायीलाई पक्कै पनि केही राहत पुग्नेछ र पुनर्स्थापनामा सहयोग पुग्ने पक्का छ । तर यो नै प्रयाप्त भने होइन ।

निष्कर्ष

कुल ग्राहस्थ उत्पादनमा यो क्षेत्रको थोरै प्रतिशतकाे मात्रै योगदान छ भनेर अवमूल्यन गर्नु मुर्खता हो । यस क्षेत्रले सृजना गरेको प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारीको पाटोलाई गम्भीरतापूर्वक लिइनुपर्दछ । पर्यटन क्षेत्र बन्द हुँदा हरेक क्षेत्रमा पार्ने प्रभावलाई नजरअन्दाज गरियो भने मुलुकमा आर्थिक मन्दीका साथै ठूलो मात्रामा बेरोजगारी समस्या सृजना हुने र यसको व्यवस्थापन गर्न नसक्दा मुलुक समस्यामा फस्न नसक्ला भन्न सकिन्न । वैदेशिक मुद्राको अभाव हुने कुरा त कहालीलाग्दो नै छ ।

COVID-19 का केही सकारात्मक पाटा पनि छन् । आज सम्पूर्ण विश्व नै एकै ठाउँमा उभिएको अवसर छ । हामी एक्लै छैनौँ । यो चुनौतीलाई  ‘Opportunity for new Normal’ भन्ने बुझेर अवसरका रुपमा बदलियो भने दिगो पर्यटनको जग बसाल्न सकिने कुरा प्रष्ट छ । हामी बेरोजगारी समस्याबाट मुक्त हुनेछौं । वैदेशिक मुद्रा आय विगतको तुलनामा झनै बढ्नेछ । यो कुनै काल्पनिक कुरा हैन । वर्तमान महामारीबाट विश्वभर दैनिक हजारौंको संख्यामा मानिस बेरोजगार बनेका छन् देशबाट ठूलो संख्यामा यूवा शक्ति बाहिरियो भनिरहेका बेला COVID-19 का कारण रोज़गार गुमाएका लाखौंको संख्यामा रहेको यूवा शक्ति देश फर्किंदै छन् यही अवसरमा देशमा रोजगारी सृजना गर्नसके र युवा सक्तिलाई परिचालन गर्न सके यो एउटा देश निर्माण गर्ने अवसर पनि हो ।

अर्को पाटो भनेको हामीले केही ढिला नगरी अन्तर्राष्ट्रिय उडान बन्द गरेको भए र विश्व स्वास्थ्य संगठनले चेतावनी दिएकै बेलामा नेपाल–भारत सीमा बन्द गर्न सकेको भए नेपाल त कोरोनामुक्त मुलुक नै हुने रहेछ भन्ने सन्देश हामीले कुनै परिश्रमबिना नै पनि विश्वभर सकारात्मक रूपमा फैलाइसकेका छौँ । यो सकारात्मक सन्देश नै कोरोनामुक्त नेपालको पर्यटन क्षेत्रका लागि विशेष शक्ति हुनेछ । विश्वका कैयौं शक्तिशाली मुलकसँग तुलना गर्दा र कोरोना भाइरस उत्पत्ति भएको राष्ट्र र धेरै संक्रमित भएको राष्ट्रसँग बोर्डर जोडिएको भएर पनि यति कम संख्यामा संक्रमित देखिनु नेपालको पर्यटन प्रवर्धनको लागि मात्र हैन, नेपाल सुरक्षित छ भन्ने सन्देश दिनको लागि समेत अर्को सकारात्मक पाटो हो ।

विश्वका कैयौं सम्पन्न राष्ट्रहरू प्राकृतिक स्रोतहरूको कमी हुँदाहुँदै पनि वर्षेनी लाखौंको संख्यामा पर्यटक भित्राएर वैदेशिक मुद्रा आर्जनको राम्रो वैकल्पिक स्रोतको क्षेत्र पर्यटनलाई बनाएका छन् । हामीसँग त प्रकृतिले दिएका असंख्य पर्यटकीय प्रोडक्टहरूको कमी छैन। कमजोर हुँदै गइरहेको वैदेशिक रोजगारी र यसबाट प्राप्त हुने वैदेशिक मुद्रा आर्जनको बलियो वैकल्पिक क्षेत्रको रुपमा पर्यटन उद्योगलाई विकास गर्ने यो सुनौलो अवसरमा सरकार तथा निजी क्षेत्र चुक्नु हुँदैन । ठोस योजना, कार्यक्रम, विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन र सार्वजनिक, सहकारी र निजी क्षेत्र सबैको दरिलो प्रतिबद्धतासहित सुरक्षा विधि अपनाउँदै बाह्य तथा आन्तरिक उडान चाँडोभन्दा चाँडो सन्चालन गर्न जरूरी छ Dubai, Tanzania, UAE जस्ता कयौं राष्ट्रहरूले पर्यटनलाई खुला गरिसके भने हाम्रो जस्तो धेरै सम्भावना बोकेको मुलुक समयमै खुल्ला गरी अवसरमा बदल्न चुक्नु हुन्न ।

(लेखक युवा पर्यटन व्यवसायी, हाईयर लिमिट्स ट्रेक एण्ड एक्सपिडिसन प्रा. लि. का संचालक र ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) का निवर्तमान केन्द्रिय सदस्य हुनुहुन्छ)


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com