कोभिड-१९ प्रभावित युवाहरुको रोजगारीका लागि विश्व बैंकद्धारा नेपाललाई १४ अर्ब सहयोग



प्रकाशित मिति : Jul 20, 2020

काठमाडौं , ५ साउन । कोरोना भाइरस कोभिड १९ को कारण रोजगारी गुमाएका युवाहरुलाई लक्षित गरी सञ्चालित आयोजनाका लागि विश्व बैंकले नेपाललाई १ सय २० मिलियन अमेरिकी डलर लगभग १४ अर्ब रुपैयाँ बराबर उपलब्ध गराएको छ ।

आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्न विश्व बैंकको ऋण सहयोगमा आर्थिक रुपमा बिपन्न बेरोजगार युवालाई रोजगारीको अवसर सिर्जना, सीप तथा क्षमता अभिबृद्धि र रोजगारमूलक सेवाको विस्तार मार्फत श्रम बजारको परिणाममा सुधार ल्याउने लक्ष्यका साथ सञ्चालित ’युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना’को लागि विश्व बैंकले उक्त रकम उपलब्ध गराएको हो ।

अयोजनाको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव र माल्दिभ्स, नेपाल तथा श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसबाट मन्त्रालयमा आज संयुक्तरुपमा शुभारम्भ गर्नु भएको छ ।

सो अवसरमा मन्त्री यादवले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को कारण विश्वमै रोजगारीका क्षेत्रमा आएको संकुचनले नेपालको श्रम बजार प्रभावित भएको र ठूलो संख्यामा श्रमिकले रोजगारी गुमाउनु परेको सन्दर्भमा यस आयोजनाको तीनै तहबाट परिणाममूखी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो । उहाँले आन्तरिक श्रम बजारमा रोजगारीका अवसरहरु बिस्तार गर्दै बेरोजगारलाई रोजगारी उपलब्ध गराउने , रोजगारीको सम्भाव्य क्षेत्र तथा श्रम बजारका माग र आपूर्ति पक्ष समेतको विवरण एकीकृत गरी श्रमिक सूचना बैंकसहितको स्वचालित पद्धति शुरु गर्न रोजगार व्यवस्थापन सूचना प्रणालीको स्तरोन्नतिमा यस आयोजनाको महत्वपूर्ण योगदान रहने स्पष्ट पार्नु भयो ।

उक्त समारोहमा विश्व बैंकका राष्ट्रिय निर्देशक हदाद जर्भोसले “आयोजनाले दीर्घकालीन लक्ष्य प्राप्तिका अतिरिक्त विश्व बैंकको कोभिड १९ को प्रभावलाई न्यूनीकरण गर्ने नीति अनुरुप चालु आर्थिक वर्षमा सामाजिक र आर्थिक जोखिममा रहेका करिब ७५ हजार विपन्न बेरोजगार युवालाई सार्वजनिक पूर्वाधारको मर्मत सम्भार तथा स्तरोन्नति गर्ने कार्यमा परिचालन गरी एक सय दिनको ज्याला उपलव्ध गराउने”बताउनु भयो ।

विश्वबैंकको सहयोग रणनीतिलाई प्रष्ट्याउदै हदाद जर्भोसले “बैंकले सरकार, विकास साझेदार र निजी क्षेत्रसँग सहकार्य गरी विपन्न तथा जोखिमपूर्ण जीवनयापन गरेका नेपाली जनतालाई सहयोग गर्न तत्पर रहेको”उल्लेख गर्नु भयो ।

नेपाल सरकार९अर्थ मन्त्रालय० र विश्व बैंक बीच नोभेम्बर २०१९ मा हस्ताक्षर भएको यस आयोजनाबाट कूल रकमको करिब ९० प्रतिशत रकम स्थानीय तहका सार्वजनिक पूर्वाधारको मर्मत सम्भार तथा स्तरोन्नति गर्ने कार्यमार्फत रोजगारी सिर्जनामा खर्च गरिनेछ । जसमध्ये १ लाख बेरोजगार युवालाई रोजगारी प्रदान गरिने लक्ष्य रहेको छ । आयोजनाले सामाजिक समावेशीकरणलाई प्राथमिकता दिए अनुरुप कूल लाभग्राही मध्ये ६० प्रतिशत महिला लाभान्वित हुनेछन् ।

स्थानीय तहका ७५३ रोजगार सेवा केन्द्र सुदृढिकरण तथा जनशक्ति थप, आवेदन दर्ता तथा सूचिकरण, प्रोफाइल निर्माण, सिफारिस, अल्पकालीन रोजगार तथा कार्यस्थलमा आधारित तालिम आदि क्रियाकलाप संचालन गरी संस्थागत र कार्यक्रमगत सुधारमा आयोजनाले सघाउनेछ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com