कोरोना संक्रमितको ‘प्लाज्मा थेरापी’ विधिबाट उपचार गर्नेबारे अनुसन्धानको तयारी (भिडियो)



प्रकाशित मिति : Jul 15, 2020

काठमाडौं, ३१ असार । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड–नाइन्टिनका बिरामीको ‘प्लाज्मा थेरापी’ विधिबाट उपचार गर्नेबारे अनुसन्धानको तयारी गरेको छ ।

त्यसका लागि कोरोना भाइरस संक्रमणबाट निको भएका बिरामीसँग रगत दानको आह्वान समेत गरेको छ । कोरोना संक्रमण भएर निको भएका एक बिरामीको रगतको प्लाज्माबाट ३ जना गम्भीर संक्रमितको ज्यान बचाउन सकिन्छ ।

कोरोना निको भएर घर फर्किसकेका बिरामीले रगत दान गर्न राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् वा स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्न सक्नेछन् ।

बुधबारसम्म नेपालमा ११ हजार २५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणबाट निको भएकालाई राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले अन्य गम्भीर बिरामीको ज्यान बचाउन रगतको प्लाज्मा दानका लागि आह्वान गरेको छ ।

रक्तदान गरे जसरी नै प्लाज्मा दान गर्न सकिन्छ । कोरोनाबाट अन्तिम अवस्थामा पुगेका बिरामीलाई निको भएका बिरामीबाट ‘कान्भालेसेन्ट प्लाज्मा’ झिकेर दिँदा गम्भीर बिरामीलाई बचाउन सकिने अन्तर्राष्ट्रिय अध्ययन अनुसन्धानबाट पुष्टि भएको छ । के हो प्लाज्मा थेरापी ?

प्लाज्मा थेरापी रगतको प्लाज्मामा पाइने ‘एन्टिबडी’ का आधारमा शरीरमा कुनै भाइरसविरुद्ध प्रतिरोध क्षमतालाई विकसित गर्ने प्रक्रिया हो । कुनै पनि भाइरस प्रवेश गरेपछि शरीर आफैं त्यससँग लड्न थाल्छ र त्यसलाई समाप्त पार्न ‘एन्टिबडी’ बनाउँछ ।

जसरी एन्टिबडी भाइरसलाई समाप्त गर्न सफल हुन्छ, बिरामी पूर्णरूपले निको हुन्छ । यदि अहिले निको भएका बिरामीले रगतको प्लाज्मा दान गर्ने हो भने कोरोनाबाट गम्भीर अवस्थामा पुगेकाको ज्यान बचाउन सकिन्छ ।

रगतको प्लाज्मा दान गर्दा दान गर्ने व्यक्तिलाई कुनै हानी गर्दैन । यो रक्तदान जस्तै भएको बिज्ञ बताउछन् । सरकारले कोरोनाले गम्भीर भएका आइसीयू र भेन्टिलेटरमा पुगेका बिरामीको उपचारमा निको भएका बिरामीको रगतको प्लाज्मा लिन तयारी गरेको हो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com