स्वाब संकलन कम भएपछि निजी अस्पतालले कोरोना परीक्षण गर्नै पाएनन् (भिडियो)



प्रकाशित मिति : Jul 13, 2020

काठमाडौं, २९ असार । सरकारले काठमाडौं उपत्यकाका ४ सहित ६ वटा निजी प्रयोगशालालाई कोरोना भाइरस (कोभिड–१९) को पीसीआर विधिबाट जाँच गर्न अनुमति दिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले मापदण्ड पुगेका काठमाडौंका ४ र बुटवल र नेपालगञ्जका २ गरी कुल ६ वटा निजी प्रयोगशालालाई कोभिड १९ को पीसीआर परीक्षण गर्न अनुमति दिएको हो ।

सरकारी प्रयोगशालाबाट नमुना दिने र टेष्ट गरेवापत प्रत्येक नमुनाको ५ हजार ५ सय रुपैयाँ सरकारले नै दिने ब्यबस्था छ । यद्दपि अहिलेसम्म निजी ल्याबले परीक्षणका लागि नमुना पाएका छैनन् ।

काठमाडौँ उपत्यकामा ललितपुर सानेपाको स्टार अस्पतालको प्रयोगशाला, सिनामंगलको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालको प्रयोगशाला, नयाँ बानेश्वरमा रहेको सेन्ट्रल डाईग्नोस्टिक ल्याव (सीडीएल) र लाजिम्पाटमा रहेको सूर्या हेल्थ केयर छन् ।

यस्तै उपत्यका बाहिर बुटवलमा रहेको नेशनल प्याथ ल्याव र नेपालगञ्जमा रहेको बागेश्वरी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्न अनुमति पाएका छन् ।

अनुमति पाएका यी ल्याबहरुले परीक्षणको लागि नमुना संकलन भने आफै गर्न पाउने छैनन् । ल्याबलाई आफैं स्वाब संकलन गरेर परीक्षण गर्ने अनुमति दिइएको छैन ।

उनीहरुलाई सरकारले दिएको नमुना मात्र परीक्षण गर्नुपर्ने भनिएको छ । हाल पीसीआर परीक्षणका लागि नमूना कम भएकाले सरकारी ल्याब कै कर्मचारी फुर्सदिला हुँदै गएका छन् ।

जनस्वास्थ्य प्रयोगशाला टेकुमा दैनिक २ हजार परीक्षण गर्ने क्षमता भएपनि ८ सयको हाराहारीमा मात्र नमुना आइरहेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सरकारी ल्याबलाई नै परिक्षणको लागी स्याम्पल नपुगिरहेको बेला निजीलाई सरकारी खर्च बढाएर परिक्षण दिन नससकिने बताएको छ ।

निजी ल्याबलाई परीक्षणको अनुमति दिए पनि सर्बसाधारणले रकम तिरेर परीक्षण गर्ने भने होइन सरकारले नमुना दिने र टेष्ट गरेबापतको भुक्तानी दिने हो । हाल देशभरका कुनै पनि ल्याबमा पीसीआर परीक्षणको नमुना होल्ड छैन ।

आफ्नो स्वइच्छाले परीक्षण गर्न खोज्ने र बिभिन्न प्रयोजनको लागी पीसीआर रिपोर्ट चाहिनेले ५५ सय तिरेर त्रिवि शिक्षण अस्पताल वीर र पाटन अस्पतालमा परीक्षण गराइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com