जाजरकोट पहिरोमा बेपत्ता १२ मध्ये ११ भेटिए, वन मन्त्री बस्नेत घटनास्थल नपुगी फर्किए



प्रकाशित मिति : Jul 12, 2020
  • बालकुमार शर्मा,

जाजरकोट, २८ असार । जाजरकोटको बारेकोट गाँउपालिका ४ सार्कीटोलमा विहीवार राति गएको पहिरोमा परि बेपत्ता थप दुई जनाको शब फेला परेको छ ।

पहिरोमा हराईरहेकी मृतक गोपाल सार्कीकी १३ बर्षीया छोरी लक्ष्मी सार्की र कलु सार्कीकी छोरी ११ वर्षीया कमला सार्कीको शव भेटिएसँगै मृतकको संख्या ११ पुगेको छ ।

पहिरोले दुई घर बगाउँदा पाहुना आएकासहित १२ जना बेपत्ता भएका थिए । पहिरोमा परि बेपत्ता ११ बर्षीया कमला सार्कीको शव आइतवार विहान उद्धार टोलीले भेटेको थियो ।

लक्ष्मी सार्कीको शब केहि वेर अघि मात्रै फेला परेको हो कमला घटनामा परि मृत्यु भएकी कलु सार्कीकी छोरी हुन । ३८ बर्षीया कलु सार्की, उनकी १३ वर्षीया तिर्सा सार्की उनका ६ बर्षीय छोरा सुवास सार्कीको मृत्यु भएको छ ।

घटनामा परि पाहुना आएका कुशे ९ चौराटाका १४ बर्षीया गौरी सार्की, ६ बर्षीया कविता सार्की, २० बर्षीया डिल्ली सार्की तथा १८ बर्षका विरेन्द्र सार्कीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले बताउनुभयो ।

उनीहरु दिदीको घरमा पाहुना आएका थिए । पहिरोमा परि बारेकोट ४ का ५२ बर्षीया गोपाल सार्की र उनका ११ बर्षका छोरा अर्जुन सार्कीको पनि पहिरोमानै परेर मृत्यु भएको छ ।

गोपालकी श्रीमति ५० बर्षीया पुष्पा सार्की सोही पहिरोमा बेपत्ता छन । त्यस्तै बारेकोट ६ धुमाका २० बर्षीय शान्तबहादुर चलाउने र १० बर्षीय प्रचण्ड चलाउने धुमा खोलाले बगाउँदा बेपत्ता छन । भीरबाट लडेर खोलामा परेका जुनीचाँदे ११ का डिल्लीबहादुर चनारा पनि सानाखोलामा बेपत्ता छन ।

यसैवीच, आज दिउँसो बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, साँसद सत्या पहाडी, साँसदहरु भैरवसुन्दर श्रेष्ठ र मायाप्रसाद शर्मा सहितको टोेली त्रिपाल र खाद्यान्न लगायतका राहत सामग्री लिएर आइतवार दिउसो हेलिकोप्टरबाट बारेकोटतर्फ प्रस्थान गरेको थियो ।

तर खराब मौसमका कारण हेलिकोप्टर बस्न र राहत सामग्री खसाल्न तय गरिएको स्थानमा बस्न नसकेको प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिहले रजानकारी दिनु भयो ।

उहाँले गोठगाँउ, सिनाचौर, लिम्सा र जिरीमा हेलिकोप्टर बस्ने भनिएपनि बस्न नसकेर लिम्सा खोला किनार र ठकुरी जिरीमा बसेर राहत सामग्री छोडेर गएको जानकारी दिनु भयो । त्यहाँबाट राहत सामग्री विस्थापित सम्म पु-याउन पैदलै ५/६ घण्टा लाग्न सक्ने अवस्था छ ।

खोलानाला बढीरहेका छन । बाटोघाटो विच्छेद छ ति सामग्री कसरी पीडितसम्म पु-याउने समस्या भएको उहाँले बताउनुभयो । त्यो राहत सामग्री त्यति धेरै विस्थापितका लागि हात्तीको मुखमा जिरा हुने स्थानीयको गुनासो छ ।

विस्थापित परिवारलाई गास बास र कपासको आवश्यकता खड्किएको छ । त्रिपाल र पालले राहत महसुस नभएको उनीहरुको भनाइ छ । खाने गाँस चाहिएको अवस्थामा नआएको गुनासो पनि पीडितहरुको छ ।

पहिरोले गाँउमा झण्डै १५० परिवार विस्थापित भए पनि जिल्लामा आबश्यक समन्वय तथा कसरी जाने विषयमा दैबिप्रकोप उद्धार समितिले समेत आवश्य पहल र नेतृत्व गर्न नसकेको नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाहले बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com