२४ असार २०७७, बुधबार

काठमाडौं, २४ असार । स्वास्थ्य सतर्कता अपनाएर ट्याक्सी सञ्चालन गर्ने व्यवस्था गर्न प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

बुधबार बसेको समितिको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सीसीएमसी र विश्व स्वास्थ्य संगठनले तयार गरेको मापदण्ड अनुसार ट्याक्सी सञ्चालनको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।

लकडाउनमा पनि सरकारले केही पेसा, व्यवसाय सञ्चालन गर्ने व्यवस्था गरेका र सोही मापदण्डलाई पूरा गरी अर्थतन्त्रलाई थप चलायमान बनाउन, सर्वसाधारणलाई आवतजावतमा थप सहज बनाउनका लागि ट्याक्सी सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिएको जानकारी गराइएको छ ।

बुधबार विकास तथा प्रविधि समितिमा भएको छलफलमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले निजी क्षेत्रका १० खर्ब लगानी रहेको यातायात क्षेत्रमा ११ लाख मजदुरहरु कार्यरत रहेको उल्लेख गर्नुभयो ।

साथै १ सय ७ दिनसम्म लकडाउन हुँदा घरमा चुलो नै बल्न नसकेको पनि उहाँको भनाइ थियो ।

यता अखिल नेपाल मजदुर संघका वरिष्ठ उपाध्यक्ष दीपक केसीले समुन्नत मान्छेले चढ्ने गाडी सञ्चालन भइरहे पनि सर्वसाधारण चढ्ने सार्वजनिक सवारी सञ्चालन नहुँदा समस्या भएको बताउनुभएको थियो ।

उहाँले आवश्यक प्रोटोकल बनाएर यातायात सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै मजदुरहरुको सुरक्षाको प्रत्याभूति गरिनु पर्ने, बीमा गर्नुपर्ने, स्वास्थ्य सामग्रीको व्यवस्था हुनुपर्ने र बैंकहरुको किस्ता र ब्याजदरमा सहजीकरण गर्नुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV