२४ असार २०७७, बुधबार

काठमाडौं, २४ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय नेता/कार्यकर्ताहरुले ‘कम्युनिष्ट पार्टी नीतिप्रधान हो, नेता प्रधान होइन’ भन्दै धर्ना दिएका छन् ।

पार्टी कार्यालय धुम्बाराहीको हलमा भेला भएका नेताहरुले पार्टी नेतृत्वलाई मिल्न दबाब दिँदै बुधबार पनि धर्ना दिएका हुन् । केन्द्रीय सदस्यहरुको अगुवाईमा नेता तथा कार्यकर्ताहरुले ‘हामीलाई विभाजन मञ्जुर छैन, पार्टी एकता कायम गर’ लगायतको प्लेकार्डसहित धर्ना दिएका हुन् ।

साथै, नेताहरुले ‘कम्युनिष्ट पार्टी नीतिप्रधान हो, नेता प्रधान होइन’ भन्ने पुष्पलालको भनाइलाई समेत ब्यानरमा राखेका छन् । नेताहरुलाई मिल्न दबाब दिँदै केन्द्रीय नेताहरुको अगुवाईमा धर्ना दिइएको उनीहरुको भनाइ छ ।

स्थायी कमिटी बैठकमा केपी शर्मा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

सहमति खोज्न पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच पटक–पटक छलफल भएपनि सहमति हुन सकेको छैन । यसैगरी विवादको चर्को वीऊ रोपिएको स्थायी कमिटीको बैठक पनि बारम्बार स्थगित हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV