२४ असार २०७७, बुधबार
  • घनश्याम मिश्र

धनुषा, २४ असार । जनकपुरधामको नगर भित्रको सडकहरु अहिले चिल्ला भइसकेका छन् । तर विगत केही दिनयता देखि फोहोर उठ्न नसक्दा नगरका मुख्य बजारसहित गल्लीहरु समेत दुर्गन्धित हुन थालेका छन् । फोहोर व्यवस्थापनका लागि जग्गा अभाव भएपछि गत एक सातादेखि जनकपुरधाम उपमहानगरपालिकामा फोहोर उठ्नै सकेको छैन ।

फोहोर व्यवस्थापन हुन नसकेपछि जनकपुरधाम बजारमा पसल गर्दै आएका पसलेहरुका साथै पैदल यात्रुहरुलाई सास्ती खेप्नु परिरहेको छ । जनकपुरधाम वडा नम्बर ४ मा पसल चलाउँदै आएका वसिम अकरमले आफूहरु बारम्बार फोहोर उठाउनका लागि भने कुनै सुनवाई नभएको गुनासो गरे । उनले भने- ‘नियमित त कहिल्यै फोहोर उठ्दैन तर अहिले आएर १० दिन भइसक्यो फोहोर उठाउनका लागि उपमहानगरपालिकाका सफाई कर्मचारीहरु आएका छैनन् ।’

जनकपुरधाम उपमहानगरपालिका भित्र फोहोर उठ्न नसकेपछि भानुचोक, शिव चोक, जनक चोक, राजदेवी मन्दिर नजिक, राम चोक, रामानान्द चोक, पिडारी चोक लगायतका मुख्य स्थानहरुमा फोहोरको डंगुर थुपारिएको छ ।

डम्पिङ साइटको अभावका कारण फोहोर उठ्न नसकेपछि जनकपुरधाम उउपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष दिपेन्द्र साहले यो सब समस्याको मूल कारण प्रमुख लालकिशोर साह रहेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो – ‘उपमहानगरसंग फोहोर फाल्ने आफ्नो जग्गा छैन तर यस तर्फ प्रमुख साहको ध्यान केन्द्रित हुनुको साटो आफ्नो ढुकुटी भर्नबाट फुर्सद छैन ।’ उहाँले उपमहानगरसँग आफ्नो जग्गा भएको भए यो समस्या उत्पन्न हुने बताउनुभयो।

निर्वाचित भएको ३ वर्ष भई सकेपनि डम्पिंंग साइटका लागि जग्गा खोज्नुभन्दा, जनताको मूलभूत आवश्यक्ता पूर्ती गर्नु भन्दा पनि जनताको पैसा कसरी फिजुलमा खर्च गर्ने तर्फ मेयर साहेवको ध्यान रहेको वडाध्यक्ष साहको भनाई छ ।

उहाँले भन्नुभयो -‘मेयर साहेव अधिकांश बजेट आफै चलाउनु हुन्छ तर जनताको आववश्यक्तासंग उनको सरोकारको विषय छैन, ‘अगाडी भन्नुभयो उहाँसंग राजनीतिको अनुभव छ तर भिजन छैन, भिजन नभएको मेयरले के नै गर्न सक्छ ।’

यता वडा नम्बर ७का वडाध्यक्ष जानकीराम साहले आफूहरु निर्वाचित भएको दिनदेखि नै फोहोर व्यवस्थापनका लागि उपमहानगरले आफ्नो जग्गा किन्नु पर्ने आवाज उठाउँदै आईरहेपपनि त्यस तर्फ कसैले ध्यान नदिएको बताउनुभयो ।

‘वडावासीहरु आफूहरुलाई बारम्बार फोहोर उठाउनलाई भन्नु हुन्छ तर के गर्ने उपमहाननगरपालिकालाई बस किन्नबाट फुर्सद भए पो केही गर्छ वडाध्यक्ष जानकीराम साहले भन्नुभयो। ’ उहाँले पटक पटक समस्या समाधान गर्नका लागि पहल गरेपनि यसको निकास निस्कन नसकेकोमा दुख व्यक्त गर्नुभयो ।

उपप्रमुख रिता मिश्रले फोहोर व्यवस्थापनका लागि पहल भई रहेको जानकारी दिनुभयो। वडा नम्बर १६मा फाहोर फालिदै आएकोमा सो जग्गा नीजि व्यक्तिको रहेकोले फोहोेर फाल्ने ठाउँको अभाव भएको उपप्रमुख मिश्रले बताउनुभयो ।

उहाँका अनुसार वडा नम्बर १६ जहाँ फोहोर फालिन्थ्यो त्यो जग्गामा एक व्यक्तिले आफ्नो निजि जग्गा रहेको दावी गरेपछि नक्सा निकाल्दा सोही व्यक्तिको नाउँमा सो जग्गा रहेको थियो ।

फोहोर फाल्नका लागि सरकारी जग्गाको खोजी भईरहेको उपप्रमुख मिश्रले बताउनुभयो । उहाँलेले भन्नुभयाे-  ‘एक दुई दिन भित्रमा जग्गा भेटिएन भने फोहोर व्यवस्थापनका लागि सूचना निकालेर ठेक्का लगाउने प्रकृया शुरु गर्छौँ ।’

जनकपुरधाम उपमहानगरपालिकासंग ८० सफाई कर्मचारी छन् भने फोहोर उठाउनका लागि ६ वटा ट्रैक्टर, ६ वटा ट्रिपर तथा ६ वटा मैैजिक गाडीहरु छन् । साथै सडक सफा गर्ने एक ब्रुमर समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV