अल्पायुमै समग्र जीवन बाँचेर गएका ‘कृष्णबाबु’, हार्दिक श्रद्धासुमन !



प्रकाशित मिति : Jul 08, 2020
  • शिव डुम्रे

‘तिमी कसरी बाच्छौं भन्दा पनि तिमी कसरी मर्छौ भन्ने कुरा बढी महत्त्वपूर्ण हुन्छ ।’ – गौतम बुद्ध

प्रिय कृष्ण ! आज तिम्रो भौतिक शरीर विलिन भएको १२ औं पुण्यदिन । जीवन र मृत्युबारेमा कसैले गरेको व्याख्या पुर्ण हुँदैन तर केही यस्ता पात्र हुन्छन्, जस्को बारेमा मनले लेख्न मान्दैन, तर औलाहरु दौडिरहन्छन्– किबोर्डसँग भावनाका तरंगहरु बोकेर ।

जीवन छोटो छ । मृत्यु अवश्यम्भावी छ । हामी न जीवनमा आफूले चाहेजसरी बाँच्न सक्छौं न मृत्युबाट भाग्न । अझ दृष्टान्तहरुले भन्छन्– असल मान्छेहरुको आयु छोटो हुन्छ । उसो त हामी कति पो बाचेका छौं र १ अर्बौंको आयु भएको पृथ्वीमा सताब्दीसम्म पनि शक्तिशाली भएर बाँच्न नसक्ने मान्छेले पृथ्वी नै कब्जा गरिरहेको छ । हामी धेरै वर्ष जीवनको परिभाषा बुझ्दैनौं, हाम्रो लागि संसार आफ्नो परिवार जस्तै लाग्छ । जतिबेला अलिकति जीवनका परिभाषाहरु बुझ्न सुरु गर्छौं, त्यतिबेला ढिला भैसकेको हुन्छ । वर्तमान समय हामीलाई पुँजीवादको संस्कारले यतिसम्म मेसिनेबल बनाइसकेको छ कि हामी पैसाको पछि लाग्दालाग्दै सारा जीवनको अन्तस्करणसम्म पनि आफ्नो जीवन पत्ता लगाउन सक्दैनौं ।

प्रिय कृष्ण ! तिमीले जीवन कति बुझ्यौ, यसबारे सँगै बसेर समीक्षा गर्न पाएनौं । तर तिमीले अभिव्यक्त गर्ने शब्दभन्दा तिमीले व्यतीत गरेको जीवनले यी कुराहरु प्रष्ट पार्यो । तिमीले जीवनका ३० वटा वसन्तहरु हराभरा भएरै बितायौ । हुनत मोतिराम भट्ट पनि ३० वर्ष बाँचे । भैरव अर्यालले ४३ वर्षमै संसारबाट बिदा लिए । ३९ वर्षमा विश्वविख्यात बनेका स्वामी विवेकनन्दको निधन होस् वा ४२ वर्षमा दुर्घटनाबाट निधन भएका वरिष्ठ राजनीतिज्ञ मदन भण्डारी हुन्, सबैले अल्पायुमै जीवन त्यागे । तर उनीहरु कहिल्यै मरेनन्, मर्नेछैनन् । किनकि उनीहरुले बाँचेको जीवन नै उनीहरुको लागि काफी थियो ।

एउटा जीवनभरमा मान्छेले यो समाजलाई के दियो ? भन्ने प्रश्नले ऊ मर्यो वा अमर भयो भन्ने कुराको लेखाजोखा गर्न सकिन्छ । उनीहरुले जस्तै आफ्नो स्तरमा तिमीले यो समाजलाई एउटा परिभाषा दिएर गएका छौ । त्यसैले पनि जीवन कति लामो भयो भन्ने प्रश्न फिक्का हुन्छ, जब बाँचिएको जीवन नै कसैको लागि मार्गदर्शन बनिसकेको हुन्छ ।

०००

२०४६ साल जेष्ठ २६ गते आमा राधा पाण्डेय र बुवा रुक्मणी पाण्डेयका सुपुत्रको रुपमा साविक बिर्घा कसारे (हाल कालिगण्डकी गाउँपालिका– ४, बिर्घा) मा जन्मेका कृष्णप्रसाद पाण्डेय सबैका प्रिय थिए । हँसिला, रसिला र जोशिला कृष्ण सबैको प्यारो भएकै कारण उनको नाममा ‘बाबु’ थपियो । कृष्णलाई सांगीतिक तथा पत्रकारिताका क्षेत्रमा जोकोहीले पनि उनलाई कृष्ण बाबुको नामबाटै चिन्छन् ।

सानैदेखि निकै चम्किलो ताराजस्ता सुन्दर रुपका मान्छे भएकै कारणले पनि होला उनको शोख फिल्म र सांगीतक क्षेत्रमा थियो । २०६१ सालमा बिर्घाकै जनता माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका उनी त्यसलगत्तै जीवनको अन्तिम समयसम्म पनि बुटवललाई कार्यक्षेत्र बनाएर बसे ।

कृष्णले आफ्नो नामको पछाडि पहिचान जोड्न जुन मेहनतका साथ पसिना बगाए, त्यो सबै बुटवलमै बगाए । एसएलसीलगत्तै उनले बुटवलमा रहेको लिड्स कलेजबाट सिएमए ९१८ महिने० कोर्स अध्ययन गरे । मेडिकल क्षेत्रमा समेत ज्ञान हासिल गरेका उनले सानैदेखि आफ्नो कामलाई पनि अगाडि बढाए । बुटवलको युजन फार्मेसी, बुटवल हस्पिटल प्रा।लि। लगायतमा काम समेत गरे । उनले मोबाइल सेवाप्रदायक कम्पनी एनसेल सेन्टरमा समेत झण्डै १ वर्षसम्म काम गरेका थिए ।

ज्यानमा पनि सुन्दर कृष्णको मनमा फिल्मी क्षेत्रको हुटहुटी त थियो नै, त्यसमाथि सामाजिक सेवामा पनि उनको चासो थियो । उनले मेडिकल क्षेत्रमा काम गर्दागर्दै आवाजसँग खेल्न सुरु गरे । बुटवलमा कमै मिडिया छन्, जहाँ कृष्णको आवाज नबजेका हुन् । बुटवल एफ।एम, रेडियो रिपब्लिक, नमस्ते एफएम, छिमेकी रेडियो, खस्यौली एफएम, बुद्ध टिभी लगायत धेरै मिडियामा उनका आवाजहरु गुन्जन्थे । कहीँ साथीसँग मनका कुरा गुन्जिए, कतै गीत र संगीतका कुरा । बिहान झिसमिसेमै समाचार घन्काउने कृष्णको स्वरले कतै गोधुलीमा लोकभाका घन्काउथ्यो त कहिले छिप्पिँदो रातमा प्रेमपत्रका कथाहरु । कहिले उनी निकै भावुक भए, कहिले उत्साही र रोमान्चक पनि ।

उनलाई चिन्नेहरुले कृष्णको खास रुप चिन्दथे, देख्नेहरुले उनको हँसिलो मुहार मात्रै देख्थे । हँसिलो मुहारभित्रका उनका पीडाहरु जोकोहीले चिन्दैनन् । कृष्णमा त्यो विलक्षण प्रतिभा नै थियो, उनी जति पीडामा पनि मुस्कुराएर जित्ने स्वभावका थिए । मनभित्रका भित्री मर्म भित्री मान्छेहरुलाई मात्रै सुनाउँथे उनी । त्यो पनि धेरै कोणबाट केलाएर ।

बुटवलमा रहेर कर्म दिने कृष्ण्ककी आन्टी दुर्गा पाण्डे भन्छिन्, ‘समाजसेवामै रुचि राख्ने उसलाई मेडिकल क्षेत्रमा प्रवेश गराएँ । तर उसको शोख नै पत्रकारिता र संगीत थियो । अन्तमा समाजमा पत्रकारिता र सांगीतिक क्षेत्रबाटै आफ्नो पहिचान बनायो ।’

उनी सम्झन्छिन्, ‘पहिलो गीत रेकर्ड गर्न बुटवलबाट नसुनाई वालिङ्ग पुगेको थियो ।’

०००

अन्तरमुखी स्वभावका बहुमुखी प्रतिभाका व्यक्ति हुन्, कृष्ण । उनले धेरै साथी कमाए, साथीका लागि आफ्नो क्षमता र ल्याकतले भेटेसम्म सहयोग गरे । उनका विरलै साथी होलान्, जसले उनीसँग सहयोग नलिएको होस् । उनी साथीको लागि हरसम्भव सहयोग गर्ने भावनाका मान्छे थिए ।

कृष्णलाई नजिकबाट नियालेका पत्रकार हरिश ढकाल भन्छन्, ‘उनी सिर्जनात्मक र सक्रिय मान्छे थिए । साथीको लागि ज्यानले सकेको गर्ने उनी निकै जुझारु र उदाउँदा नक्षत्र थिए । पत्रकारिता र सांगीतिक क्षेत्रमा यति छिटो छलाङ मारेका हुन् ।’

साथीले भनेपछि कुनै सहयोग होस् या साथ, उनले कहिल्यै नाइँ र गर्दिनँ भनेनन् । कतिपय अवस्थामा आफैं देखिएर समेत ठूला अप्ठ्याराहरु सामना गराइदिएका छन्, उनले ।

फिल्मी पर्दामा पनि कृष्ण उत्तिकै सक्रिय मान्छे थिए । बुटवलबाट लामो समयदेखि फिल्म निर्देशन गर्दै आएका मनिष पन्तसँगको संगतमा आएपछि उनले फिल्ममा आफ्नो करियर बनाउने सपना देखेका थिए । पन्त सम्झन्छन्, ‘जिन्दगानी दर्पण छायाँ’ फिल्मको काम गर्दागर्दै उनी नियमित छायांकनमा आउने गर्दथे । पछि ‘डिभोर्स’ र ‘उर्वशी’ फिल्ममा भूमिका नै निर्वाह गरेर फिल्म खेले । जब टेलिभिजन पत्रकारितामा बढी सक्रिय हुनथाले, उनको व्यस्तताले गर्दा उनी फिल्म क्षेत्रमा भने प्रत्यक्ष भूमिकामा देखा परेनन् ।’

पन्तका अनुसार उनी गीत, संगीतमा सक्रिय भए । दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा आफ्नो कलाकारिता प्रस्तुत गरेपछि उनको उचाइँ पनि चुलिँदै गयो । सामाजिक क्षेत्रमा सेवा गर्ने भावनाले उनलाई पत्रकारिताको भोक झनझन् बढिरहेको थियो । एकातिर सांगीतक यात्रा, अर्कोतिर सामाजिक भावना । उनी दुवैतिर सन्तुलित भूमिकामा देखिन थाले । जब अलि बढी सक्रियता पत्रकारिता क्षेत्रमा हुन थाल्यो, त्यतिबेला सांगीतिक क्षेत्रमा कम समय दिन थालेका थिए । यद्यपि उनको विशिष्ट क्षमताकै कारण हरेक तीज, दशैँलगायत विशेष समयमा नयाँ–नयाँ सामयिक गीतहरु, हरेक सामाजिक परिवेशलाई मिल्ने सांगीतक कर्महरु भने गर्न छोडेनन् ।

आज कृष्ण यो धरतीमा छैनन्, तर उनका आधा दर्जनबढी गीतहरु स्टुडियोमा एक्लै गुन्गुनाइरहेका छन् ।

०००

लेखक

प्रिय कृष्ण ! घरीघरी यस्तो लाग्दछ कि स्टिभ जब्सले कतै भनेका छन्, ‘म छिटै मर्दैछु भन्ने बोधले मलाई जीवनमा ठुलाठुला निर्णय लिन मद्दत गरेको छ ।’ यस्तै गर्यौग तिमीले, ३ दशकको उमेरमा के चाहिँ गरेनौ ? सामाजिक जीवन बितायौ, कतिका जीवन उद्दार गर्यौभ, कतिलाई नयाँ जीवन दियौ । धेरैको जीवन बचायौ । सडकमा दुर्घटना भएका धेरैलाई उद्दार गरेर हस्पिटल पुर्याएका छौ तिमीले । तर विडम्बना, तिमी आफै सडकमै दुर्घटित भएर यो नश्वर देह त्याग्यौ ।

पारिवारिक जिम्मेवारी होस् या सामाजिक, तिमी धेरै हदसम्म व्यवस्थित थियौ । एउटा मान्छेले आफ्नो जीवनकालसम्म गर्नैपर्ने खास कामहरु तिमीले यति छोटो समयमै गरेका थियौ कि तिमीले भोलिको लागि गर्न बाँकी केही राखेनौ ।

पैसा, पद, प्रतिष्ठा र पावर । तिमीले आफ्नो जीवनको लक्ष्य यतिमात्रै देखेनौ, तिमी समाजमा भएको विभेद, अन्याय र अ’त्याचार विरुद्ध पनि बोलिरह्यौ । तिमीले बाँच्दासम्म न जीवनलाई निकै प्रेम गर्यौ । तिमीसँगका धेरै किस्साहरु छन्, जो म शब्दमा चित्रित गरेर भन्न सक्दिनँ ।

नर्मन कोउसिंसले भनेका छन्, ‘मृत्यु भनेको नराम्रो होईन । नराम्रो त त्यो हो, जब हामी बाँच्दा आफ्नो मनलाई मारेर बाँचिरहेका हुन्छौं ।’

हो कृष्ण ! तिमीले आफ्नो मनलाई कहिल्यै मारेनौ, सधैँ सम्मानपूर्वक बाँच्न दियौ मनलाई । र त आज दुनियाँको मनमा तिमीले राज गरेका छौ ।

०००

कृष्ण ! जब तिम्रो दुर्घटना भएको खबर पाएँ, त्यसपछि तिमीलाई सम्झेँ । तिम्रो उज्यालो मुहार र खुला हृदय सम्झेर भक्कानिएँ । त्यो भन्दा धेरै मैले तिम्री फूलजस्ती श्रीमती, हुर्कंदै गरेको मुना र तिम्रो सुन्दर परिवार सम्झिरहेँ । धेरै हदसम्म भगवान् नपुकार्ने मलाई कताकता भगवानसँग भेटेर सोध्न मन लागेको थियो– उसलाई ल्याउनुपहिले त्यो कोमल मुहार हेरेनौ कि ? देखेनौ, त्यो मुना– जो ‘बाबा’ भन्नको लागि धर्तीमा अवतरण गर्न हतारिइरहेको छ !

असारको मध्यरात, झमझम आकाश रोईरहेको समय । कालो निष्पट अँध्यारो, बिजुली चम्किरहेको थियो तिमी अस्ताइसकेका रहेछौं । मध्यरातमा खबर पाएपछि तिम्रो उज्यालो मुहार निदाएको दृश्य हेर्न मनले मान्दै मानेन, कयौं कहरहरु छलेर पनि तिम्रो मुहार सुम्सुम्याउन आउन मन लाग्यो ।

तिमीसँगको दशकदेखिकाे चिनजान, ६ वर्षदेखिको सहयात्राका ती पलहरु नयनभरि बयेली खेलिरहे । डेढ वर्षअघि तिम्रो बिहेमा नाँच्दै गएको बाटोमा अहिले म रुँदै गएको थिएँ । अगाडि बैनी थिई, जो होशविहीन थिई । रङ्ग उडेपछि ओइलाएको गुलावजस्तै खालि शून्य शरीर बोकेर जाँदै थिई । तिमी काठको बाकसभित्र थियौ, मस्त चिरनिद्रामा । म पछिपछि थिएँ, तिम्रा सँगतदेखिका दिनहरू र अबको तिमिबिना तिम्रो अभाव खड्कन नदिने दिनहरु सम्झँदै… ।

तिमीले मृत्युलाई सधैँ सामान्य मान्याै, जुन बाटोमा तिमी र म काँधमा हात हालेर हाँस्दै ओरालाे लागेका थियौं तिम्रो घरबाट, त्यही बाटोमा तिमीलाई म काधँमा हालेर ओरालो लागेको थिएँ रुँदै… ।

तिमी कालीगण्डकीको किनारमा लमतम्न सुतेका थियौ, म तिम्रो छेउबाट कतै हाम्रा ती दिनहरूमा हराइरहेको थिएँ । त्यो विरहलाग्दाे किनारमा सुसाइरहेको कालीले तिम्रो लाली जोवन खरानी बनाएर बगाउँदै थियो । भावोद्वेलित भएर कालीगण्डकीसँगै आँखाका नुनिला पानीहरु बगिरहेका थिए, निरन्तर । आँखा अगाडिबाटै विलीन भए पनि एकातिर म तिमीलाई बिर्सन सक्थिनँ, अर्कोतिर बैनी, आमा र तिम्रो परिवार ।

म भावोद्वेलित भएर कालीगण्डकीसँगै आँखाका नुनीला भलहरू बगाउँदै टाेलाइहेकाे थिएँ, निरन्तर ।

तिमीले साईकल चलाएर घटाउन खोजेको तिम्रो पुटुकक पेट त जलेर गयाे । जीवनभर माया गरेर राखेको ‘आमा’ लेखेको ट्याटु क्षणभरमै आगोमा हरायो । तिम्रा ती डोलाएका हात, भरिला पाउ, चिल्ला गाला, चम्किलो अनुहार, आखाँभरि नाचिरह्यो । अन्तिममा जान्छु है भनेको आवाज आएजस्तै भयो, म झसँग भएँ- तिमी सकिएका रहेछौ ।

म तिम्रो चिताको अगाडि धेरैबेर घोप्टिएँ, तिमी अब रहेनौ । तिमीलाई बोकेर गएकाहरू तिमीलाई छोडेर फर्के । म भने तिमीलाई मनभरि बोकेर फर्किएँ । घर आएँ । आमाको अनुहारमा तिम्लाई देखेँ । नानीको अनुहारमा तिम्लाई देखेँ । नानीको पेटमा तिम्लाई देखेँ । हजुरबुवा, हजुरआमा, भाई र बहिनीहरुमा केवल तिम्लाई देखेँ । तिमी त मरेकै रहेनछौ कृष्ण ! तिमी त साझा बनेका रहेछौं, हामी सबैका ।

प्रिय कृष्ण, तिमी मरेका होईनौ, रुपान्तरण भएका हौ- जीवनबाट । एल्ज्यान्ड्रोले एउटा पुस्तकमा उल्लेख गरेका छन्, ‘जीवन र मृत्यु भ्रम मात्रै हो । हामी सबै रुपान्तरणको प्रक्रियामा छौं ।’ त्यसैले कृष्ण, तिमी जीवनबाट रुपान्तरण भएका हौ । तिमी कहिल्यै मर्ने छैनौ । किनकि मृत्युको उत्कर्ष नै जीवन हो ।

तिमीले देखेका र देख्न बाँकी केही सपनाहरु छन्, जुन पूरा गर्ने जिम्मेवारी आइपुगेको छ । तिम्रो शोकलाई तिम्रै शक्तिमा रुपान्तरण गर्दै तिम्रो घर, परिवार र समाजमा तिम्रो अभाव हुन नदिने प्रतिबद्धतासहित अलबिदा कृष्ण बाबु ! हार्दिक श्रद्धाञ्जली !!

(लेखक न्युज २४ टेलिभिजनका लागि बुटवलबाट रिपोर्टिङ गर्छन्)


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com