२४ असार २०७७, बुधबार
  • डिलबहादुर सिंह

डोटी, २४ असार । भारी वर्षाका कारण डोटी जिल्लाका अधिकांश ग्रामीण सडकमा यातायात अवरुद्ध भएको छ । वर्षाका कारण ठाउँ ठाउँमा बाढी, पहिरो र हिलो भएका कारण ग्रामीण सडकहरु अवरुद्ध भएका हुन् ।

नियमित मर्मत सँभारको अभावमा बर्षायाममा सडक बन्द हुदा स्थानीयले समस्या भोग्नु परेको छ । जिल्लाको दिपायल बोगटान सडक खण्ड, दिपायल पात्तिहाल्ने सडक खण्ड, चौखुट्टे–पोखरी, पचनाली मुडभारा लगायतका साना ठुला ग्रामीण सडक वर्षा र पहिरोका कारण हिलाम्मे भएका छन् । सडक हिलाम्मे हुँदा यातायात सहज हुन सकेको छैन । सडक अवरुद्ध हुँदा बिरामी व्यक्तिहरु, गर्भवती तथा अति आवश्यकीय उपभोग्य सामग्री आपुर्तिमा समस्या भएको छ ।

ग्रामीण सडक अवरुद्ध भएसँगै सदरमुकाम सिलगढी, दिपायल लगायतका क्षेत्रबाट खाद्य सामग्री आपूर्तिमा समस्या भएको छ । उपचारका लागि जिल्ला सदरमुकाम लगायत जिल्लाबाहिर जानु पर्नेहरुका लागि समेत समस्या उत्पन्न भएको छ । सायल गाउँपालिका–४ का तुलाराम उपाध्यायले भन्नुभयो– ‘तीन-चार दिनदेखि परेको पानीका कारण गाडी चल्न सकेको छैन, तीन घण्टासम्म लगातार हिँडेपछि गाडी पाएर दिपायल पुगेर उपचार गरेर फर्किएँ । सडक अवरुद्ध हुँदा साह्रै समस्या भएको छ ।’

कतिपय स्थानमा सडक विस्तार गर्नका लागि डोजरले सडक खनेका कारण हिलाम्मे भएर सडक अवरुद्ध भएका छन् । डोटीको सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलले नियमित रुपमा सडक मर्मत भइरहेको भए पनि वर्षाका कारण सडक भत्किने क्रम नरोकिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV