२४ असार २०७७, बुधबार

एजेन्सी, २४ असार । इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको युभेन्टस एसी मिलानसँग लज्जास्पद पराजित भएको छ । मिलानको घरेलु मैदानमा मंगलबार राति भएको खेलमा युभेन्टस ४-२ गोलले पराजित भएको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । मिलान र युभेन्टस दुवै टाेलीले सबै गाेल दाेस्राे हाफमा नै गरेका थिए ।

दाेस्राे हाफ सुरू भएकाे ३ मिनेटमै युभेन्टसले अग्रता लिएकाे थियाे । खेलको ४७ औं मिनेटमा आद्रेएन रबिओटले गोल गर्दै आहुना टोलिलाई १-० गोलको अग्रता दिलाएका थिए ।

त्यसको छ मिनेट नबित्दै युभेन्टसले अग्रता दोब्बर बनायो । क्रिस्टियानो रोनाल्डोले खेलको ५३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

युभेन्टसले दोस्रो हाफको सुरुवाती ८ मिनेटमा नै २-० को अग्रता लिएपनि १८ मिनेटको अन्तरमा लगातार ४ गोल खानुपर्याे ।

खेलको ६२ औं मिनेटमा ज्लाटन इब्राहिमोविचले पेनाल्टीमा गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । मिलानले भिडियो असिस्टेन्ट रेफ्रीको सहायताले पेनाल्टी पाएकाे थियाे  । लिओनार्डो बोनुचीले कर्नरमा ह्यान्ड गरेपछि रेफ्रीले रिप्ले हेरेर पेनाल्टी दिएका थिए ।

६६ औं मिनेटमा फ्यांक केसिएले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । पेनाल्टी क्षेत्रभित्र ज्लाटनसँग वन टु पास खेलेका केस्सीले सहजै गोल गरेका थिए ।

त्यसको एक मिनेटमा नबित्दै राफेल लेअओले गोल गर्दै मिलानलाई ३-२ को अग्रता दिलाए । एन्टे रेबिचको पासलाई पोर्चुगिज फरवार्ड राफाएल लिआओले गोलमा परिणत गर्दै पुनरागमन जितको आधार बनाए । त्यसपछि ८० औं मिनेटमा एन्टे रेबिचले गोल गर्दै मिलानलाई ४-२ गोलको फराकिलो जित दिलाए ।

यस जितसँगै मिलान ३१ खेलबाट ५९ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । पराजित युभेन्टस समान खेल खेल्दै ७५ अंकसहित शीर्ष स्थानमा यथावत छ । युभेन्टसले शीर्ष स्थानमा दोस्रो स्थानको लाजिओभन्दा सात अंकले अगाडि छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV