२३ असार २०७७, मंगलवार
  • जनकबहादुर शाही,

हुम्ला, २३ असार । जगेडामा रहेको बजेट र मेसिन प्रयोग गर्ने प्रक्रिया अगाडि बढाउने प्रतिबद्धतासहित जिल्ला सभा सम्पन्न भएको छ । संघीयता लागू भएसँगै मंगलबार (आज) हुम्ला जिल्लाको तेस्रो जिल्ला सभा सम्पन्न भएको हो ।

जिल्ला समन्वय समितिले नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन अनुसार प्राप्त अधिकारको प्रयोग गर्न नसकेको उपस्थित सबैले आरोप लगाएका छन् ।

त्यस्तै, प्रत्येक गाउँपालिकामा निर्माण भएका संघ, प्रदेश र स्थानीय तहले निर्माण भएका योजनाको अनुगमन गर्ने जिम्मा पाएको भएतापनि समन्वय समितिले प्रभावकारी अनुगमन गर्न नसकेकोे उनीहरुको गुनासो छ ।

खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावलले साविकको जिल्ला बिकास समितिले सडक निर्माणका लागि प्रयोग गरिने मेसिन र ग्याविन लगायत सामग्रीहरु र खारेजीमा परेका कार्यालयको फर्निचरहरुको लेखाजोखा गर्नुपर्ने बताए ।

सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले अगामी दिनहरुमा विधि विधान र पद्धतिलाई अँगालेर अगाडि बढ्नु पर्ने सुझाव दिए । त्यस्तै, हुम्लाका लागि संघ र प्रदेशबाट सीमित बजेट आइरहेको समयमा जिल्लामा भएको बजेट खर्च नहुनु नै दूर्भाग्य भएको बताए ।

नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर लामाले जिल्ला समन्वय समिति गठन भएको ३ वर्ष वितिसक्दा पनि कोही कसैसंग समन्वय नगरेको आरोप लगाए ।

जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले कार्यविधिको अभावले समन्वय समितिसँग भएको मेसिन प्रयोग गर्न नसकिएको र भएको बजेट पनि खर्च गर्न नसेकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV