चीनको सक्रियताप्रति विपक्षी सशंकित : सरकारले अन्तर्राष्ट्रिय सम्बन्धको सन्तुलन गुमायो (भिडियो)



प्रकाशित मिति : Jul 07, 2020

काठमाडौं, २३ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवादले प्रतिपक्षी दलहरुलाई पनि तरंगित बनाएको छ । संसद अधिवेशन अन्त्य, चिनियाँ राजदूतको सक्रियतालाई लिएर विपक्षी दलहरु एक ठाउँमा उभिएका छन् ।

उनीहरुले अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउन सत्तारुढ दल असफल बनेको चिन्ता मात्र राखेका छैनन्, संसदीय अभ्यासमा पनि सत्तारुढ विवादको छायाँ परेको निष्कर्ष निकालेका छन् ।

नेकपाको आन्तरिक विवाद बढ्दै जाँदा यसको समग्र असर नेपाली राजनीतिमा परेको छ । सत्तारुढ दलमा देखिएको विवादको छायाँ संसददेखि सरकारको कार्यशैलीमै परेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेस, जनता समाजवादी सहितका दलहरु एकै ठाउँमा भेला भए ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास वुढानिकलकण्ठमा कांग्रेस नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला सहित जनता समाजवादीका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, बाबुराम भट्टराई, राजेन्द्र महतो लगायतका नेताहरु छलफलमै जुटे ।

पार्टीभित्र विवाद बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् संघीय संसदको वर्षे अर्थात बजेट अधिवेशन अन्त्य गरिदिए । अमेरिकी सहयोग एमसीसी, महत्वपूर्ण विधेयक, संकल्प प्रस्तावहरु विचाराधीन रहेकै अवस्थामा संसद अधिवेशन अन्त्य गरेकोमा विपक्षी दलहरु रुष्ट बनेका छन् ।

प्रधानमन्त्रीले सभामुख र विपक्षी दलसँग परामर्श नै नगरी यो निर्णयमा पुग्दा संसदीय अभ्यास लत्याएको आरोप छ । प्रधानमन्त्रीले आफ्नो आन्तरिक विवादको छायाँ समग्र संसदीय अभ्यासमा पारेको विपक्षी दलहरुको निष्कर्ष छ ।

नगरी संसद अधिवेशन अन्त्य गर्नु आपत्तिजनक भएको नेताहरूले बताएका छन् । संसदबाट पारित गराउनै पर्ने संकल्प प्रस्ताव मात्र होइन, महत्वपूर्ण नागरिकता विधेयक, निजामति विधेयक लगायत अलमलमा पर्ने उनीहरुको निष्कर्ष छ ।

यसअघि कांग्रेस केन्द्रीय समितिले वर्तमान सरकारले संसद अधिवेशन अन्त्य गरेर संसदीय अभ्यासलाई नजरअन्दाज गरेको आरोप नै लगाएको थियो ।

संसदीय अन्त्य बाहेक नेपालको आन्तरिक मामिलामा चिनियाँ पक्ष हावी भएको पनि उनीहरुको निष्कर्ष छ । सार्वभौम मुलुकको आन्तरिक गतिविधिमा चीनको प्रत्यक्ष प्रवेशलाई विपक्षी दलहरुले निको मानेका छैनन् ।

केही दिनदेखि नेकपाको आन्तरिक विवाद मिलाउन नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी सक्रिय बनेकी छन् । उनले नेकपाका नेताहरु झलनाथ खनाल, माधव नेपालसँग भेट गरिसकेकी छन्, त्योपनि परराष्ट्र मन्त्रालयको सहभागिता विना नै ।

यसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा सन्तुलन कायम हुन नसकेको विपक्षी दलहरुको निष्कर्ष छ । सरकारकै कारण नेपालको विदेश नीति जटिल अवस्थामा पुगेको उनीहरुले बताएका छन् ।

एकातिर प्रधानमन्त्रीले भारतले आफूलाई हटाउन खोजेको अभिव्यक्ति दिएर दक्षिणसँग सम्बन्ध थप चिस्याउने काम गरेको र अर्कोतर्फ चिनियाँ राजदूत एउटा राजनीतिक दलको आन्तरिक किचलोमा सरोकार राख्दा अन्तर्राष्ट्रिय सम्बन्धको सन्तुलनमा समस्या आउन सक्ने चिन्ता पनि राख्न थालिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com