कोरोनाबाट संक्रमित हुनेको संख्यासँगै संक्रमणको दर घट्यो, उपत्यकामा जोखिम कायम (भिडियो)



प्रकाशित मिति : Jul 07, 2020

काठमाडौं, २३ असार । नेपालमा पछिल्लो साता कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यासँगै संक्रमणको दर पनि घटेको सरकारको तथ्यांकले देखाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १ सय ३३ नमुना परीक्षण गर्दा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तर, मन्त्रालयका अनुसार तथ्यांक केलाउँदै संक्रमितको संख्यासँगै संक्रमणको दर घट्दो छ । असार १७ गते देशका विभिन्न ल्याबमा ४ हजार ८ सय ८६ नमुना परीक्षण गर्दा ७ सय ४० जनामा संक्रमण पुष्टि भएको थियो ।

यो एकैदिन भेटिएको सबैभन्दा धेरै संक्रमित थियो । त्यो दिन संक्रमणको दर पनि १६.५ प्रतिशत थियो । त्यसयता संक्रमितको संख्यासँगै संक्रमणको दर पनि घटेको मन्त्रालयको दावी छ । मंगलबार संक्रमणको दर घटेर ३.३ मा आइपुगेको मन्त्रालयले जनाएको छ ।

संख्या घटेपनि उपत्यकामा बढ्दो संक्रमितको दरले अवस्था चिन्ताजनक हुने सम्भावना नकार्न नसकेपनि सरकारले भने संक्रमण समुदायमा नगएको जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा.वासुदेव पाण्डेले धेरै जसो संक्रमित विदेशबाट आएका जनाउँदै केही संक्रमित ’फ्रन्ट लाइन’मा कार्यरत सुरक्षाकर्मी र स्वास्थ्यकर्मी तथा जनप्रतिनिधि रहेको बताउनु भएको छ ।

काठमाडौं उपत्यकामा अहिलेसम्म २ सय ६७ जना काठमाडौं ठेगाना राखेका संक्रमित भेटिएका छन् । जसमध्ये १ सय ७५ जना काठमाडौं जिल्लाका, ४१ जना ललितपुर र भक्तपुरमा ४३ जना छन् । काठमाडौं उपत्यकामा भेटिएका मध्ये ७९ प्रतिशत व्यक्ति विदेशबाट आएका छन् ।

तर, जोखिम भने कम भएको छैन । राजधानी बाहिरबाट लुकिछिपी आउनेहरूका कारण उपत्यकामा जोखिम उच्च भएको छ । सुरक्षाकर्मी र हेल्थ डेस्कले हेर्न नसक्ने अवस्था हुँदा संक्रमण बढ्ने सम्भावना छ ।

लुकीछिपी आएकाहरुमा पनि संक्रमण देखिन थालेको जनाउँदै संक्रमण देखिएकामा विभिन्न अस्पतालमा अप्रेशन र उपचार गर्नुपर्ने बिरामी पनि छन् । संक्रमण बढ्ने आंकलनसँगै मन्त्रालयले ९ स्थानबाट श्वाब संकलन गर्ने निर्णय गरेको छ । यसले उपत्यकाको अवस्था छर्लङ्ग पार्ने समेत जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com