२३ असार २०७७, मंगलवार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा), २३ असार । कृषकहरुले लिएका ऋणको व्याज अनुदान स्वरुप कृषि ज्ञान केन्द्र पर्साले विभिन्न बैंक, सहकारी तथा लघुवित्त संस्थालाई चेक हस्तान्तरण गरेको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावित बनेका किसानहरुलाई राहत स्वरुप पर्साका विभिन्न ७० वटा बैंक, वित्तीय तथा सहकारी संस्थालाई २ करोड ९६ लाख ४५ हजार ५ सय बराबरको चेक हस्तान्तरण गरेको हो ।

जिल्ला समन्वय समिति पर्साको सभाकक्षमा आयोजित एक कार्यक्रमकाबीच प्रदेश नं. २ का कृषि मन्त्री शैलेन्द्र प्रसाद साहले विभिन्न बैंकका म्यानेजर तथा प्रतिनिधिहरुलाई चेक हस्तान्तरण गरेका हुन् ।

पर्सा जिल्लाको विभिन्न बैंक, लघुवित्त तथा सहकारी संस्थाबाट कृषिको लागि ५ लाख भन्दा कम ऋण लिएका कृषकहरुको लकडाउन अवधिभर ४ महिनाको व्याज मिनाहाको लागि उक्त चेक हस्तान्तरण गरिएको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादवले बताए ।

उनका अनुसार ४ हजार ६ सय ६५ जना किसानहरुको ४ महिनाको व्याज मिनाहा गरिनेछ । पर्सास्थित २५ वटा लघुवित्त संस्थामा कर्जा लिएका ३ हजार ४० जना किसानहरुको १२ प्रतिशतका दरले ४ महिनाको ब्याज स्वरुप १ करोड ८२ लाख ७९ हजार ३ सय ७७ रुपैया ९२ पैसा वितरण गरिएको छ ।

त्यस्तै, विभिन्न २२ वटा सहकारी संस्थामार्फत कर्जा लिएका १ हजार ३ सय ८० जना किसानको व्याज स्वरुप ८४ लाख ८० हजार ८ सय ५९ रुपैया ३२ पैसा रकम वितरण गरिएको छ । यसरी नै पर्साका विभिन्न २३ वटा ‘क’ वर्गका बैंक तथा ‘ख’ वर्गका विकास बैंकबाट २ सय ३९ जना किसानहरुले लिएका ऋणको व्याज स्वरुप २९ लाख १३ हजार १ सय ९० रुपैया रकम वितरण गरिएको छ ।

लकडाउनले गर्दा सबैभन्दा बढी कृषि क्षेत्रमा प्रभाव परेको हुनाले ऋण लिएर कृषि गर्ने कृषकहरुको समस्यालाई मध्यनजर गर्दै प्रदेश सरकारले लकडाउन अवधिभरको व्याज उपलब्ध गराउने घोषणा गरेको थियो ।

सोही कार्यक्रम अन्तर्गत विभिन्न बैंकबाट कर्जा लिएका कृषकहरुले व्याज अनुदानका लागि दिएको निवेदनको आधारमा कृषि ज्ञान केन्द्र पर्साले कृषकहरुको व्याज मिनाहा गर्नका लागि बैंकहरुलाई चेक हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि कृषि मन्त्री शैलेन्द्र प्रसाद साहले यस कार्यक्रमबाट पर्साका ४ हजार ६ सय ६५ जना कृषक लाभान्वित हुने बताए । लकडाउनको अवधिमा सबैभन्दा बढी कृषि क्षेत्रमा प्रभाव परेको भन्दै मन्त्री साहले कृषकहरुलाई प्रोत्साहनका लागि प्रदेश सरकारले यो कार्यक्रम ल्याएको बताए ।

उनले लकडाउनको बेला तरकारी बजारमा पुग्न नसकेको कारण खेतमै तरकारी कुहिने, बजार भाउ नपाउने जस्ता विभिन्न समस्या देखिएकाले अहिले कृषकहरुलाई प्रोत्साहन गर्न सकिएन भने भोलिका दिनमा कृषकहरु पलायन हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकारले लकडाउन अवधिसम्मको व्याज अनुदान उपलब्ध गराएको बताए ।

आगामी दिनमा अन्य कृषकहरु जस्तैः कुखुरा फार्म, ह्याचरी सञ्चालन, माछापालन, अण्डा उत्पादन, दुग्ध उत्पादन जस्ता कृषकहरुको लागि पनि विभिन्न योजनाहरु ल्याउने आश्वास दिए ।

जिल्ला समन्वय समिति पर्साका प्रमुख नेक महम्मद अन्सारीको अध्यक्षतामा आयोजित कार्यक्रममा कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा.रामचन्द्र यादवले पर्साको कृषिको अवस्थाबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV