२३ असार २०७७, मंगलवार
  • अमर काफ्ले

इनरुवा, २३ असार । सुनसरी जिल्ला अदालतलाई इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । मेयर मेहताले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै हात धुने धारा जडित ट्यांकी र सरसफाइमा प्रयोग आउने सामान उपलब्ध गराएका हुन् ।अदालत हातामा राखिएको सेनिटाइजरसहितको खुट्टाले धारा खोल्न मिल्ने ट्यांकीको पानीले हात धोएर सामग्री प्रयोगको सुरुवात गरिएको थियो । सुनसरी जिल्ला अदालतका एक नम्वर न्यायाधीश अर्जुनप्रसाद कोइराला र मेयर मेहताले हात धोएर सेवा सुरुवात गर्नु भएको थियो ।नगरपालिकाले अदालतमा सेवा लिन पुग्ने सेवाग्राही सहितको सुविधाकालागि २ वटा हातधुने ट्यांकीको व्यवस्था गरिदिएको छ । त्यसका अलावा उसले सेनिटाइजर राख्ने स्टेण्डसहित हात सफा गर्ने प्रवन्ध समेत मिलाएको छ । आवश्यक सेनिटाइजरसहित कोरोना रोकथाममा प्रयोग हुने सामग्री समेत नगरपालिकाले अदालतलाई हस्तान्तरण गरेको छ ।

उपलब्ध गराइएका सामग्री बुझ्दै सुनसरी जिल्ला अदालतका एक नम्बर न्यायाधीश कोइरालाले नगरपालिकाको सहयोग सेवाग्राही लगायत अदालत पुग्ने जोकोहीका लागि लाभदायक हुने बताउनु भयो । कोइरालाले कोरोना महामारीबाट बच्न स्थानीय तहको तदारुकता मात्रैले नपुग्ने भन्दै सबैको साथ र सहयोगको अपरिहार्यता औल्याउनु भयो । सबै स्वयं सचेत र सजक रहन सके कोरोनालाई परास्त गर्न सकिने वहाँको तर्क थियो ।

सामग्री हस्तान्तरणपछि बोल्दै नगर प्रमुख मेहताले निरन्तर साथ र सहयोगकालागि आफू सदैव कटिवद्ध रहेको बताउनु भयो । नगरवासीको सुरक्षा र सचेतना लगायतको पाटोमा इनरुवा नगरपालिकाको कार्यालय लक डाउनको समयमा समेत खटिरहेको मेहताले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV