२३ असार २०७७, मंगलवार
  • दान बहादुर बुढा,

मुगु, २३ असार । मुगुको सोरु गाउँपालिकामा कोरोना राहत कोषको रकम अनियमितता गरेको भन्दै पालिका प्रमुख लोकबहादुर शाहीले प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध उजुरी दिएका छन् ।

कोषमा बचेको १९ लाख रुपैयाँ प्रमुख प्रशासकीय अधिकृत धान्ने बुढा र लेखापाल जेठबहादुर बुढाले हिनामिना गरेको भन्दै पालिका प्रमुख शाहीले कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय मुगुमा उजुरी दिएका हुन् ।

कोरोना महामारी नियन्त्रणको लागि गाउँपालिकामा गठन भएको स्थानीय तह प्रकोप व्यस्थापन कोषमा प्रदेशबाट १५ लाख, गाउँपालिकाबाट ७५ लाख, छायाँनाथ सहकारीबाट ५० हजार, किर्डाक शाखाबाट ३ लाख तथा अन्य निकायको सहयोगमा १ करोड भन्दा बढी रकम जम्मा भएको थियो ।

उक्त रकम विभिन्न शीर्षकमा खर्च भएपनि कोषमा बचेको १९ लाख रुपैयाँ भने प्रमुख प्रशासकीय अधिकृत र लेखापालले गोप्य रुपमा झिकेर हिनामिना गरेको भन्दै प्रमुख शाहीले आरोप लगाएका हुन् ।

उनले भने, ‘मलाई कुनै जानकारी नै नदिई लेखापाल र प्रमुख प्रशासकीय अधिकृत बीचको मिलेमत्तोमा कोषमा रहेको १९ लाख रुपैयाँ गायब गरिएको छ । दुवैलाई सोधपुछ गर्दा आलटाल गर्न थालेपछि बाध्य भएर उजुरी दिनुपर्ने अवस्था आएको हो ।’

यता गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत धान्य बुढाले भने नियम अनुसार नै कोरोना कोषको रकम खर्च भएको बताएका छन् । अन्य कुनै पनि आयोजना र अरु गाँउपालिकाको रकम हिनामिना नभएको उनको दाबी छ ।

उपाध्यक्षले काम नै नगरी योजनाको भुक्तानी लिन खोजेपछि…

प्रमुख प्रशासकीय अधिकृत र लेखापालले सोरु गाँउपालिका–८ तारापानी–नुवाकोट सडकखण्डको कुनै काम नै नगरी उपप्रमुख राज्यलक्ष्मी बमलाई ९ लाख २१ हजार रकम भुक्तानी दिन चेक तयार गरेका र उक्त चेक आफूले जफत गरी प्रशासनमा पेश गरेको प्रमुख शाहीले जानकारी गराएका छन् ।

उक्त सडक निर्माणका लागि गाँउपालिकाले आर्थिक वर्ष २०७६/७७ मा १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । उपप्रमुख बमले ४ लाख अग्रिम पेश्की लिएकी तर, उक्त रकम अनुसारको काम नै नगरी बाँकी ९ लाख २१ हजार भुक्तानी लिन खोजेपछि चेक जफत गरेको प्रमुख शाहीले सुनाए ।

मासु र खाना तथा र’क्सीको क्वाटरमा समेत गाउँपालिकाको छाप !

सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धान्य बुढाले र’क्सीका क्वाटर, मासु र खानको अर्डर स्लिपमा समेत गाँउपालिकाको छाप प्रयोग गर्ने गरेको पाइएको छ ।

प्राप्त अर्डर स्लिपमा पालिकाको छाप र प्रमुख प्रशासकीय अधिकृत बुढाको दस्तखत रहेको छ । अधिकृत बुढाले आफूले र’क्सी खानका लागि अर्डर स्लिप प्रयोग गरेको प्रष्ट छ । अर्डर स्लिपमा बुढाले २५ वटा र’क्सीका क्वाटर, १ दर्जन चम्चा, ३ वटा कचौरा र १ वटा मासुको लहरा(सुकुटी) अर्डर गरेका छन् ।

आफूखुसी भ्रमण भत्ता लिएको आरोप

प्रमुख प्रशासकीय अधिकृत बुढाले अध्यक्ष शाहीको आदेश स्वीकृति विनानै भ्रमण भत्ता एक पटक ६० हजार र अर्को पटक ७० हजार रुपैयाँ लिएका पाइएको छ । बुढाले लिएको भ्रमण भत्ता वापतको उक्त रकम पनि नियम विपरित रहेको अध्यक्ष शाहीको भनाइ छ ।

प्रशासनमा सोरु गाउँपालिकाका दर्जनौ उजुरी, सुनुवाई शून्य

सोरु गाउँपालिकामा भएका अनियमिता सम्बन्धी आधा दर्जन उजुरी प्रशासन कार्यालयमा दर्ता भएको छ । तर, हालसम्म कुनै पनि कारबाही प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV