२३ असार २०७७, मंगलवार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा), २३ असार । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउनको अवधि लगभग ४ महिना भइसकेको छ । लकडाउनका कारण लामो तथा छोटो दूरीमा चल्ने सार्वजनिक सवारी साधनहरु चल्न सकेका छैनन् ।

जसले गर्दा यात्रुहरु मारमा परिरहेका छन् । त्यस्तै, सवारी चालक, सह–चालक तथा यातायात व्यवसायीहरु पनि चरम मारमा परेका छन् । विगत चार महिनादेखि एकै ठाउँमा थन्किएर बसेका ठूला सवारी साधनहरु अहिले विग्रिन थालेका छन् ।

सवारी साधन आफैमा एउटा यस्तो मेसिन हो, जसलाई सधैं थोरै समय भएपनि सञ्चालन गरिरहनुपर्छ । तर, नयाँ सवारी साधनहरुसमेत लामो समयसम्म थन्क्याएर राख्दा बिग्रिएर कबाड हुने गर्दछ । अहिले सार्वजनिक सवारी साधनहरुको यही अवस्था छ ।

लामो समयदेखि थन्क्याएर राखिएको ठूल–ठूला बसहरु सञ्चालन गर्नुपरेमा कम्तीमा डेढदेखि २ लाख रुपैया खर्चेर मात्रै सञ्चालन गर्नुपर्ने अवस्था छ । कतिपय बसहरु स्टार्ट नै नहुने भइसकेका छन् । केही बसहरुको ब्याट्री तथा इन्जिन विग्रिएको छ, भने केहीको मेसिन जाम भएको छ ।

कतिपय बसहरुको भने टायर नै फाटेको छ । लकडाउन भएदेखि नै वीरगन्ज बसपार्कमा सयौं गाडीहरु थन्क्याइएको छ । जसको कारण चालक तथा सहचालक बढी मर्कामा परेका छन् । चार महिनादेखि आफ्नो घर जान नपाएका चालकहरुले राहतको खाना खाएर दिन विताइरहेको गुनासो पोखेका छन् ।

लकडाउन भएपछि वीरगन्ज बसपार्कमै गाडीसहित रोकिएका सह–चालकहरुलाई केही दिन अघिसम्म महानगरपालिकाले खानाको व्यवस्था गरेको थियो, तर हिले उनीहरु अलपत्र परेका छन् ।

केही गाडी चालकले रिक्सा चलाएर आफ्नो दैनिकी विताउन बाध्य छन् । त्यस्तै, केही दैनिक मजदुरी गरेर खानाको जोहो गरिरहेका छन् । सवारी धनीको पनि त्यस्तै हाल भएको छ ।

सवारी धनीसँग पैसा माग्दा पनि सवारी सञ्चालन भए पो पैसा दिने ? भन्दै सवारी धनीहरुले चार महिनादेखि हेर्न पनि नआएको चालकहरुले गुनासो गरेका छन् ।

‘घर परिवार पाल्न धौधौ परिसक्यो । चार महिनादेखि एक रुपैया कमाई छैन । घर परिवारलाई हेर्न पनि पाएको छैनौं’ उनीहरुले भने । सरकारले यातायात सञ्चालनका लागि केही विकल्प निकाल्नुपर्ने उनीहरुको माग छ ।

यता सवारीधनीहरुको पीडा पनि बेग्लै छ । बैंक ब्याजदेखि घरपरिवार पाल्न पनि धौधौ भइरहेको यातायात व्यवसायी संघका सचिव सुमन श्रेष्ठ बताउँछन् ।

बैंकबाट कर्जा लिएर सवारी किनेका सवारी धनीहरुलाई बैंकले ताकेता गरेर हैरान बनाएको भन्दै केही दिनअघि मात्रै पृथ्वीराजमार्ग अन्तर्गत सञ्चालनमा रहेका बसका साहुहरुले गाडीको साँचो नै बैंकमा बुझाएको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV