२३ असार २०७७, मंगलवार

काठमाडौं, २३ असार । पार्टी ह्वीप उल्लंघन गरेको आरोपमा समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाहीका लागि पार्टी कार्यदलले सिफारिस गरेको छ ।

सांसद गिरीले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सासहितको निसान छाप परिवर्तनका लागि भएको संविधान संशोधनमा पार्टी ह्वीप उल्लंघन गरेकी थिइन् ।

सांसद गिरीले पार्टी ह्वीप उल्लंघन गरपछि छानबिन गर्न समाजवादी पार्टीले पार्टी महासचिव रामसहाय प्रसाद यादवको संयोजकत्वमा कार्यदल बनाएको थियो । यादव नेतृत्वको कार्यदलले सांसद गिरीलाई कारबाही गर्न मंगलबार पार्टी केन्द्रीय कार्यालयलाई सिफारिस गरेको हो ।

कार्यदलको उक्त सिफारिसबारे छलफल गर्न समाजवादी पार्टीको पदाधिकारी बैठक आज अपरान्ह बस्दैछ । तथ्य र प्रमाणका आधारमा राष्ट्रिय महत्वको विषयमा पार्टीको निर्देशन र ह्वीप नमानेकी कारण सांसद गिरीलाई पार्टी र सांसद पदबाट निष्कासन गर्न सिफारिस भएको बताइएको छ ।

अब पार्टी पदाधिकारी बैठकले उक्त सिफारिसलाई अनुमोदन गरेपछि निर्वाचन आयोगमा पत्र जाने बताइएको छ ।

गत, जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो, जहाँ समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । तर, संसदमा बोल्न नदिएको भन्दै सांसद गिरी बैठक चलिरहैकै समयमा बाहिरिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV