२२ असार २०७७, सोमबार
  • दीपक गौतम

जापान, २२ असार । जापानको क्युउस्यु क्षेत्रमा लगातारको बर्षा पछि आएको बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ ।

तस्बीर : माइनिची सिनबुन

स्थानीय सञ्चार माध्यमहरुले जनाए अनुसार क्युउस्यु प्रान्तको कुमामोतोमा मात्रै ४१ जनाले ज्यान गुमाएका हुन । उक्त क्षेत्रमा अझै केही बेपत्ता रहेको र उद्दार कार्य जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको समाचारमा जनाइएको छ । कुमामोतो, सागा, फुकुओका र नागासाकी क्षेत्रमा बाढी पहिरोले थप क्षति पु¥याउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन चेतावनी जारी गरिएको छ ।

जापानको सरकारी सञ्चार माध्यम एन एच केले अनलाइन संस्करणमा प्रकाशित समाचार अनुसार नागासाकी क्षेत्रका करिब ९५ हजार ब्यक्तिलाई सुरक्षित स्थानमा बस्न चेतावनी जारी गरिएको छ ।

त्यस्तै फुकुओका क्षेत्रमा पनि १ लाख २ हजार भन्दा बढी ब्यक्तिलाई सुरक्षित स्थानमा सर्न निर्देशन् दिएको छ । भीषण बर्षापछिको बाढी पहिरोका कारण कुमामोतो सबै भन्दा बढी प्रभाबित भएको छ ।

निरन्तरको बर्षाका कारण उद्दार कार्य प्रभाबित भए पनि यो समाचार तयार पार्दा सम्म उद्दार कार्य चलिरहेको छ । अधिकारीहरुका अनुसार कुमामोतो क्षेत्रमा अझै १० जना हराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV