युरोप डायरी अनि प्रवास पत्रकारिता



प्रकाशित मिति : Jul 06, 2020
  • यादव देवकोटा

नमस्ते नेपाल ! ए साँच्ची, यता आएदेखि नै ओला पोर्चुगल भन्ने जो गरिएको छ । प्रवासमा बिताइएका हरेक पल, घडी, समय जोड्दै जाने हो भने हेर्ने कथा पनि होइन, सुन्ने कथा पनि होइन महसुस गर्ने कथा पनि होइन हेर्ने कथाभित्रको व्यथा नै बन्छ होला । तर त्यति टाढा पनि नपुगौँ । नजिकबाटै नियाल्दा पनि प्रबासिएकाहरुको जीवन काफी बुझ्न सकिन्छ ।

सामाजिक रुपमा र व्यावसायिक दुवै हिसाबले जिन्दगीमा सधैँजसो नै समाजकै, देशकै कुरा सुनियो लेखियो । कति पढियो, पढियो । यसको कुनै लेखाजोखा छैन आज अलिकति भने पनि आफ्नै कुरा लेखौँ न भन्ने लागेको छ ।

देशमै लामो समयदेखि पत्रकारिता गरिरहेको थिएँ, एकाएक एउटा अवसर मिल्यो– विश्वकै ठुलो वेब समिटमा भाग लिने, त्यो पनि सन्चारकर्मीको रुपमा । कार्यक्रम युरोपियन युनियनमा सबैभन्दा बढी नेपाली बसोबास गर्ने मुलुक पोर्चुगलमा थियो । आएँ, हेरेँ, बुझेँ । बसाइ लम्बिँदै गयो । साथीभाइले यतै बस्न सुझाए । अन्ततः मैले पनि यतै बस्ने निर्णय गरेँ । सुरुका दिनमा यहाँकै स्थानीय नेपाली अनलाइन मिडियामा केही महिना काम गरेँ, त्यतिखेर फेसबुक इन्स्टान्ट आर्टिकलबाट राम्रै पैसा कमाइ हुन्थ्यो । यतातिरको खर्च चलेकै थियो । युरोपको चुल्होमा आगो बलेकै थियो । त्यही बीचमा देशको राष्ट्रिय एक टेलिभिजनसँग पनि युरोप कोरेस्पोन्डेन्टको रुपमा काम गरी नै रहेको थिएँ ।

कालान्तारमा यी सब सम्भव भएनन्, यो राज्यको कानुनभित्र रहेर आफ्नो कागजी प्रकृयाको लागि सशर्त अरु नेपालीसरह हुन अरुले गरेजस्तै मैले पनि गर्नुपर्ने भयो । अब मेरो पेशा, पेशा रहेन । अब मेरो अस्तित्व मेरो पेशाले पहिचान गर्न पाउने भएन । जे होस्, दुवै हातमा लड्डु त कहाँ मिल्छ र ? चित्त बुझाएँ ।

म सामन्य एउटा रेस्टुरेन्टमा काम गर्छु । रोजिरोटी यतैबाट मिलेको छ । खाई कम- थकाइ बढी, प्यास कम- बित्यास बढी । समय कम- भय बढी । नाम गुमनाम- काम धुमधाम । आश केही हुने तर खास केही नहुने । यस्तै छ विदेश ।

तर, यत्ति भनेर म चुपचाप बसेको चाहिँ होइन, आफ्नै व्यवस्थापनको काम सकियो । अब सभ्य प्रवासी समाजको रहनसहनसँगै प्रवास पत्रकारितालाई पनि समय दिई नै रहेको छु ।

हाम्रा बाआमा, आफन्त, छिमेकी र समाजले विदेशिएका आफ्ना छोराछोरीको सुख–सयल, घर, कार देखेर खुसी हुनुभएको होला । तर एउटा कुरा नि– ती सबै छोराछोरीहरुले देखेको खास सपनाले आजसम्म आकार पाएको छैन । र, अन्ततः हामीसँग सुरक्षित नै पो के थियो र ?

हामीसँग सीप त थियो तर कज्याउने अर्कै थियो । हामीसँग क्षमता थियो तर हाँक्ने अर्कै थियो । हामीसँग पसिना चुहाउने सामथ्र्य थियो तर खाने अर्कै थियो । हामीसँग वस्तु थियो तर बजारभाउ र मूल्य अर्कैको हातमा थियो । हामीसँग समाज थियो, संस्कार थियो तर हैकम अर्कैको थियो । हामीसँग नीति थियो, नियम थियो तर बनाउने र पाखा लगाउने पनि अर्कै थियो । हामीसँग संविधान थियो तर त्यसलाई खेलाउने अर्कै थियो । हामीसँग सम्पत्ति थियो तर उपयोग गर्ने अर्कै थियो । हामीसँग राष्ट्रियता थियो तर बोक्ने र हल्लाउने चाहिँ अर्कै थियो । हामीसँग राष्ट्र छ तर हाँक्ने पनि अर्कै छ । हामी नग्न छौं, निरीह छौं र निसहाय हुँदै गइरहेका छौं । त्यसैले आज हामी देश छोडेर विदेश छौँ ।

यतिखेर म पोर्चुगलमा छु । साढे दुइ वर्ष भयो, यता आएदेखि नै प्रवासमा बसेर पत्रकारिता गरी नै रहेको छु ।

यतिबेला विश्वभर कोभिड–१९ को महामारी छ । नागरिक जोगाउन देशका आ-आफ्ना नाका मात्रै बन्द छैनन्, विश्व नै ‘लक’ गरिएको छ । सडकमा न गाडी चलेको छ, न आकाश नै । यतिखेर मान्छेदेखि मान्छे नै डराउनुपरेको छ । लाखौँ नागरिकले अनाहकमा ज्यान गुमाइसकेका छन् । यतिखेर मानव सभ्याता नै हराउने हो कि भन्ने त्रास आम नागरिकमा परेको छ । परदेशमा रहेकाहरु घरदेश जान नपाएर चिन्तामा छन् भने सीमामा पुगेकहरु पनि घरदेश हेरेर पीडाका साथ बसिरहेका छन् । विश्वव्यापी महामारीका बेला आफ्नो जीवनको कुनै प्रवाह नगरी मैदानमा उत्रिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई सलाम छ ।

प्रसंग पत्रकारिताकै हो । टेलिभिजन कर्म गरेको एउटा सामान्य सञ्चारकर्मीको उद्देश्य त्यति ठुलो हुँदैन । पेशाका लागि गरिएको संचारकर्मले उही दैनिक आवश्यकताबाहेक आफ्नो बचेको समय दिने, जाने–बुझेका कुरा आफुले कुनै फोरममार्फत सुझाउने, बुझाउनेबाहेक अरु के हुन सक्ला ?

जब पत्रकारिता नशामा परिणत हुन्छ, अनि यसले तपाईंको मन र मस्तिष्कमा जरो गाड्छ । केही नयाँ त गर्नैपर्छ भन्ने हुन्छ र केही न केही कुरा मनमनै खेलिरहेको हुन्छ । मोफसलदेखि शहरसम्म भनौं या देशदेखि विदेशसम्म नै किन नहोस् । तपाईंलाई यो सञ्चारकर्मको मोह र ममता रत्तिभर घटेको हुँदैन । र घट्न पनि दिनुहुँदैन ।

कोभिड–१९ अर्थात् कोरोना भाइरसले निम्त्याएको लकडाउनले मानसिक रुपमा डर त्रास दिए पनि शारीरिक रुपमा भने केही आराम पक्कै पनि दिलाएको छ । लामो समयसम्मको बसाइँले मानिसमा झन् थकाइको महशुस गर्न थालेका छन् । उनीहरु आफ्नो नियमित काममा फर्कन चाहन्छन् तर परिस्थिति भने फरक छ ।

लकडाउनले जन्माएको त्यो ‘छ मिनेट’

तपाई फुर्सद हुँदा के गर्नुहुन्छ ? आजकाल धेरै मानिसहरु फुर्सदको समयमा के गर्छन् त ? त्यो त तपाई–हामीलाई थाहै छ । विद्युतीय उपकरणको साथ खोज्छौं । इन्टरनेटमा जोडिन्छौं । त्यहीँबाट संसार नियाल्छौं १ इन्टरनेटबिना बाँच्नै नसकिने जमात विश्वभर विरलै होलान् । पछिल्लो समय त सोसल मिडियाको प्रयोग ह्वात्तै बढेको छ । जुन स्वाभाविक पनि छ । मनोरञ्जन, सूचना, अध्ययन–अध्यापन होस् या संसार नियाल्नेहरु, सबै प्रविधिको वरिपरि घुमिरहेका हुन्छन् ।

त्यसो त अहिले विश्वभर कोरोनाको कहरले आक्रान्त पारेको छ । घरभित्रै थुनिनु परेको छ । मनमा धेरै कुराहरु घुलमिल हुँदै गएका छन् । पारिवारिक वार्तालाप, आफन्त, साथीभाइसँगको कुराकानी, माया–ममतादेखि सञ्चो–बिसञ्चो एक–आपसमा साँट्ने दैनिकीजस्तै बनेको छ । मनमा अनेक तरंग मात्रै पैदा भएको छैन् । कसरी अगाडि बढ्ने र कसरी फरक बन्ने भन्ने सोचले मलाई पछ्याइरह्यो । मैले गरिआएको पेशा पनि मेरै साथमा छ । यतिखेर प्रवासमा रहे पनि यसलाई कसरी अझ बढी महत्वका साथ अघि बढाउने भन्ने प्रश्नले आफैंलाई थप सोच्न बाध्य बनाएको छ ।

प्रवास आएदेखि नै यहाँको स्थानीय मिडियासँग मैले ‘नेपाल टक्स’ भनेर अन्तरवार्ता शुरु गरेँ । जुन अहिले पनि चलिरहेको छ । जसले नेपाली र नेपाली समाजको माया पाएको छ । तर यतिमात्रै सीमित रहनुहुन्न भन्ने लागेर हामीले ‘लकडाउन’ सँगै ‘छ मिनेट छ ?’ को नाम जुराएर मैदानमा उत्रिएका छौं । छोटो समयमा महत्वपूर्ण अनि मार्गदर्शक बन्ने धेरै विषयलाई उजागर गर्ने हाम्रो मिशन हो । सोहीअनुरुप हामीले कार्यक्रम ‘छ मिनेट छ ?’ को आधिकारिक प्रोमो पनि बनायौं ।

धेरै दर्शक/श्रोताको एउटै प्रश्न– के हो ‘छ मिनेट छ’ ?

कुनै पनि विषयको गहिराइमा पुगेर त्यसको यथार्थ बाहिर ल्याउने मात्रै होइन, समाजमा घटेका घटना र व्यक्तिमा लुकेर बसेको क्षमतालाई पनि प्रष्फुटन गराउने हाम्रो मिशन हो । तपाइको छ मिनेटको समयलाई ध्यानमा राखेर हामीले कार्यक्रमको डिजाइन गरेका हौं । त्यसो त प्रवासमा बस्ने हामी कसैसँग पनि धेरै समय हुँदैन ।

हामीलाई न देश्को राजनैतिक विषयको बहस गर्ने समय छ, न सुन्ने फुर्सद नै । प्रवासीको पीडा, विस्मात्, समस्या र उनीहरुको दुःखपछिको सुखमा केन्द्रित बन्नेछौं । तपाईको छ मिनेट सबै नेपालीका लागि मार्गदर्शक र जानकारीमूलक बनोस् । प्रवासमा काम नगरी कसैलाई खान पुग्दैन । त्यसैले तपाईं आराम गर्दा होस् या अन्य कुनै समयमा बँचेको छ मिनेट तपाई–हामी अनि समाजका लागि महत्वपूर्ण बन्ने हाम्रो अपेक्षा हो ।

प्रवासमा पत्रकारिता

देख्नेहरुलाई प्रवासको पत्रकारिता मस्ती लागे पनि भोग्नेलाई मात्रै त्यसको वास्तविक पीडा थाहा हुन्छ । बचेखुचेको समयमा गरिने प्रवासको पत्रकारिताले व्यावसायिक रुप भने लिएको कमै मात्रामा छ । पत्रकारका हितका लागि स्वदेशमा मात्र होइन, प्रवासमा पनि थुप्रै संघ–संस्थाहरु खोलिएका छन् । तीमध्ये एकाध संस्थाले पत्रकारको हितमा काम गरे पनि अधिकांश भने राजनीति, चाकडी र चाप्लुसीमा लिप्त भएको थुप्रै उदाहरण छन् ।

पत्रकार महासंघको प्रवास शाखा खोलिएका छन् । तर महासंघले उनिहरुको स्तर मापनको आधार तयार भने गर्न सकेको छैन् । मुलधारमा काम गरेका राम्रा पत्रकार प्रवासमा बिलिन हुन पुगेका छन् । प्रवासको पत्रकारिता मुलुकको हितमा भन्दा प्रवासमा हुने राजनीतिमा प्रयोग हुन थालेको आभाष हुने गरेको छ । मुल विषय अध्ययन नै नगरेका तर लहडका भरमा पत्रकारिता गर्नेहरुको लर्कन प्रवासमा देख्न सकिन्छ । तर प्रवासमा महासंघले मापदण्ड निर्धारण गर्न नसक्दा वास्तविक पत्रकारिता गर्नेहरु ओझेलमा पर्ने गरेका छन् । महासंघले राम्रा मान्छेभन्दा पनि हाम्रा मान्छे खोज्दा प्रवासका पत्रकार र पत्रकारिताले सही ट्रयाक समात्न सकेको छैन् ।

डिजिटल पत्रिका संचालनका नाममा आफ्नै सिर्जनात्मक भन्दा पनि अर्काको समाचार हुकिङ गर्ने बानीले प्रवासको पत्रकारिताप्रति पाठकहरु खासै सन्तुष्ट भएको पाँइदैन् । आगामी दिनमा महासंघले यस्ता विषयमा पनि ध्यान दिने हो भने प्रवासको पत्रकारिता र पत्रकारको स्तर र क्षमतामा विकास हुने थियो ।

‘आँफु पनि गुँँड नलगाउने, अरुले लगाएको गुँड पनि भत्काउने’ प्रवृत्ति

हातमा लाइसेन्स, दिमागमा सेन्स र क्यामेरामा लेन्स नहुनेहरु क्रोधले बुई चढ्ने विरोधले भुइँ कोपर्ने गर्छन् । सोसियल मिडियाका टाइमलाइन र च्याट्मा गरिएको पत्रकारिता होइन यो ।

मेरो कुनै पनि पात्रसँग कुनै प्रतिस्पर्धा होइन । मात्रै प्रवृत्तिसँगको ‘अपोजिसन’ हो । काम गराइको क्रममा मेरा पनि कति कमजोरी होलान् । मैले मेरा कमी-कमजोरीलाई जहिले पनि आत्मसात गरेको छु । मैले मेरो कामप्रति कहिल्यै घमण्ड पनि गरेको छैन । यदि गरेँ भने तपाईले मलाइ दण्ड दिन सक्नुहुन्छ । सबै शिरोधार्य छ । तर सकेसम्म अरुको भलाई गरौं । यदि त्यो पनि न सकिन्न भने बिगार पनि गर्नुहुन्न ।

यो कर्ममा लाग्दै गर्दा मैले गुमाएको त केही पनि छैन । तर पाएको कति छ कति । त्यसैले त तपाईले दिएको मायाले आज ‘क्याटलिस्ट’को काम गर्दै उर्जामाथि उर्जा थपेको छ ।

यही दौरानमा मैले आँखामै राख्दा पनि नबिझाउने दर्शकदीर्घा भेटेँ । कतै उकाली चढ्नेहरूको साहसमा आँटको पोयो लगाउँछन् त कतै ओरालीमा चिप्लिनेहरूलाई भविष्यको आशा देखाएर गन्तव्यसम्म पुग्न हौस्याउँछन् । कोही-कोही त अठोटको दियो बालेर अगाडि बढ्न र उद्देश्य प्राप्तिका निम्ति कठिन संघर्षको बाटो रोज्न प्रोत्साहित गर्छन् । त्यसैले त हामी निरन्तर छौं । अन्तर छैन, अनि मतान्तर छैन । हामीसँग विवेकको प्रयोग समानान्तर छ ।

बाटो हिँड्नेहरुको हो । जीवन भोग्नेहरूको हो । पीडा अनुभूति गर्नेहरूको हो । विश्वास फुलाउनेहरूको हो । आँट आस्थामा गोडमेल गर्नेहरूको हो । खुसी आफैलाई विश्वासमा लिनेहरूको हो । त्यसैले त हामी आजसम्म सबैलाई खोकिलामा राखेर अगाडी बढेका छौं । त्यसमा तपाई दर्शक श्रोताको माया आजसम्म पनि उस्तै अनि दुरुस्तै छ ।

मैले आफूलाई कहिले पनि पत्रकारको रुपमा प्रस्तुत गर्ने र समाजले मलाई स– सम्मान कुनै पनि ठाउँमा मेरो प्रशंसा गरोस भन्ने म चाहन्न । तर मैले गर्ने मेरो काम र देनको मुल्यांकन गरोस भन्ने अपेक्षा चाँहि जो-कसैलाई पनि हुन्छ । पत्रकारिता पढ्नु र अलि-अलि लेख्नुले मात्र पूर्ण पत्रकारिता गर्न सकिदैन भन्ने मेरो सोच हो । आज म प्रवासमा बस्ने हुँदा मेरो अपेक्षाका विषयवस्तु प्रवास पत्रकारितासँग नै सम्बन्धित छ । र म यसमा नै समर्पित छु ।

कुनै पनि टेलिभिजन कार्यक्रमको अभिप्राय प्रत्यक्ष-अप्रत्यक्ष जे र जसो भए पनि– सन्देशका लागि, विचारका लागि, उपदेशका लागि, मनोरञ्जनका लागि, लहडका लागि, चर्चाको लागि, जे-जेका लागि भए नि जबसम्म मान्छेको मन र मस्तिष्क थरथराउने, झनझनाउने र पगाल्ने गराउँदैन त्यस्तो कार्यक्रम लामो कालसम्म जीवित रहन सक्दैन् । युग बोध र युग सन्देश नभएका कुनैपनि कार्यक्रमले दर्शक र श्रोताको मन छुदैन ।

हाम्रो ‘कन्सेप्ट’ र हाम्रो टिमको मेहनतलाई ‘एसेप्ट’ त गर्नु नै हुन्छ भन्ने विश्वास लिएको छु । र, अन्तमा तपाई दर्शक, श्रोता र पाठकसामु सत्य तथ्य सूचना पु¥याउने कोशिस त गर्छु गर्छु । समाजमा भएका विसङ्गति र गलत प्रवृत्तिप्रति औला ठड्याउन समेत कहिलै नहिच्किचाउने प्रण गर्दै तपाईले दिनुभएको ‘छ मिनेट’ प्रति मेरो सद्भाव र प्रेममा कहिल्यै कमी हुन दिने छैन । तपाईको ‘छ मिनेट’ सबैका लागि मार्गदर्शक बन्न सकोस् !


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com